प्रस, वीरगंज, १३ कात्तिक/

वीरगंज महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षमध्ये २७ जना वडाध्यक्षले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

कात्तिक ५ गते राति वडा नं ७ का वडाध्यक्ष हीराकाजी महर्जनलाई रेलवे सडकस्थित दुर्गापूजा पण्डालमा कुटपिट गर्ने प्रहरीमाथि कारबाईको माग गर्दै वडाध्यक्षहरूले प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा तीन दिनभित्र दोषीलाई कारबाई नगरिए साताव्यापी आन्दोलनको घोषणा गरेका छन् । प्रजिअको निर्देशन अनुसार तीन दिनसम्म प्रहरी कारबाईको प्रतीक्षा गर्ने र चौथो दिनदेखि महानगरका सम्पूर्ण वडाध्यक्षले हातमा कालोपट्टि बाँधेर विरोध गर्ने, त्यसपछि १० देखि ५ बजेसम्म वडा कार्यालय बन्द गर्ने, छैटौं दिन सबै सेवा ठप्प पार्ने, सातौं दिन घण्टाघरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ज्ञापनपत्रमा उल्लेख छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ हीरालाल रेग्मीले घटनाबारे वार्ता गर्ने वा कारबाई प्रक्रिया अगाडि बढाउने फरकफरक विषय रहेको बताए । कारबाई गर्नु छ भने जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर जाने वा मिलापत्र गर्नु छ भने जिल्ला प्रशासन कार्यालयमा आउनुपर्ने बताएका थिए ।

आफूले अहिले सो घटनाबारे प्रहरीसँग समन्वय गरिरहेको र स्पष्टरूपमा आफूले पनि नबुझेको प्रजिअले बताए । उनले सहमतिमा समस्या समाधान गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here