प्रस, निजगढ, १२ कात्तिक/

निजगढ नगरपालिकाले अवैध नदीजन्य पदार्थहरूबाट कर सङ्कलन गरेको भन्दै निजगढका स्थानीय ट्याक्टर व्यवसायीहरूले अवैध कर असुली गर्न आइतवारदेखि बन्द गराएका छन् ।

गत वर्ष निजगढ नगरपालिकाको बकैयाखोलाको नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को ठेक्का नलागेपछि नजीकैको बकैयाखोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ सङ्कलन गरी थुपारिएको थियो । अवैधरूपमा सङ्कलन गरिएका नदीजन्य पदार्थलाई यहाँका क्रसर उद्योगहरूले प्रशोधन गरेर रोडा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ अन्य स्थानमा ढुवानी गरेबापत निजगढ नगरपालिकाले उठाउँदै आइरहेको राजस्व स्थानीय ट्याक्टर व्यवसायीहरूले बन्द गराएका हुन् ।

अवैध नदीजन्य पदार्थ निकासी गरेबापत राजस्व असुल्न निजगढ नपाले बकैयापुल छेउमा २४सैं घण्टा नगरप्रहरी र कर्मचारी खटाउँदै आएको छ ।

दैनिक टिपर, ट्याक्टरबाट नगरपालिकाले रसिद काटेर नदीजन्य पदार्थ निकासी गरेबापत राजस्वको नाममा एक लाखदेखि सात लाखसम्म रकम सङ्कलन गर्ने गरेको स्रोतले जनाएको छ ।

सोसम्बन्धी प्रतिक्रिया लिन खोज्दा निजगढ नपाबाट खटिएका कर्मचारीहरूले केही बोल्न मानेनन् ।

अन्य वडामा रहेका ट्याक्टर व्यवसायीहरूलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास नगरी राजमार्ग आसपासका वडा नं ८, ९ लगायतका अन्य वडाका ट्याक्टरहरूलाई खोलामा जान नदीजन्य पदार्थ निर्बाध ल्याउन निजगढ नगरपालिकाले प्रतिबन्ध कायमै राखेको भन्दै अवैध नदीजन्य पदार्थबाट नगरपालिकाले उठाउने राजस्व पनि अवैध रहेको जनाउँदै आजदेखि अनिश्चितकालका लागि राजस्व सङ्कलनमा रोक लगाएको निजगढ ट्याक्टर व्यवसायी समूहका अध्यक्ष चेतनाथ न्यौपानेले बताए ।

गत वर्ष खोला ठेक्का नलागेको कारण दशैं नजीकिंदो तिहार, छठ पर्वमा स्थानीय ट्याक्टर व्यवसायी, मजदूरहरूका बारेमा निजगढ नगरपालिकाले ध्यान नदिंदा वर्षौंदेखि गर्दै आइ रहेको रोजगार खोसिएको र पलायन हुनुपर्ने स्थिति सिर्जना भएको पीडित मजदूर, ट्याक्टर व्यवसायीहरूले बताए ।

निजगढका वडा नं ८ र ९ मा मात्र तीन सयभन्दा बढी ट्याक्टर, चालक र मजदूर गरी १५ सयभन्दा बढी मानिस रोजगारविहीन हुँदा उनीहरूसँग आश्रित करीब पाँच हजार परिवारिक सदस्य मर्कामा परेका छन् ।

खोला नखुलाउँदा रोजगार गुम्यो । आर्थिक जोहो पनि भएन । दशैं पनि खल्लो गरी जेनतेन बित्यो । अन्य आम्दानीको स्रोत छैन । खोलामा गिट्टी, बालुवा चाल्यो, ढुङ्गा सङ्कलन गरी बिक्री गरिन्थ्यो । त्यो पनि एक वर्षदेखि बन्द छ । रासनको लागि पसले साहुले उधारो पनि दिन छाड्यो । आफू कसरी खाने, परिवार कसरी पाल्ने धौधौ परिरहेको निजगढ–८ सुकुमबासी टोलका अढाई सय घरधुरीभन्दा बढीको दुःखेसो छ ।

खोला खुल्छ भनेर रोजगारका लागि ट्याक्टर बैंकबाट ऋण काढेर किन्यो । खोला वर्षौंदेखि बन्द, वर्षायामपछि खोला खुल्छ होला भन्यो नगरपालिकाले वास्ता गर्दैन ।

बैंकको ब्याज तिर्न त कहाँ हो कहाँ कसरी बाँच्ने भन्ने चिन्ताले गाजिरहेको अधिकांश पीडित ट्याक्टरधनीहरू बताउँछन् । “आँगनमा ट्याक्टर खडा गरेको ठ्याक्कै वर्ष दिन नाघ्यो । बैंकबाट ६/७ प्रतिशतमा ऋण लियो । १५/१६ प्रतिशत पु¥याउँछ । विश्वव्यापी कोरोना महामारी गत वर्षदेखिको निरन्तर आर्थिक मन्दीले न मर्नु न बाँच्नु पारेको छ,” उनीहरू भन्छन् ।

वर्ष दिनसम्म खोला नखोल्दा घर निर्माण थालेका स्थानीयहरूलाई नदीजन्य पदार्थको अभाव हुँदै आएको छ । छिमेकीको काम रोक्नै लाग्यो । दुई/चार ट्याक्टर बालुवा ल्याइदेऊ भन्छन् । खोलामा गयो प्रहरीले समाउँछ अनि प्रतिट्याक्टर रु १० हजार जरिवाना तिराउँछ । हाम्रो पीडा कसले सुनिदिने । जनप्रतिनिधिहरू पनि चुपचाप छन्, समस्याको निकास निकाल्दैनन्,” पीडित ट्याक्टरधनीहरू भन्छन् ।

पटकपटक ट्याक्टर व्यवसायीहरूले निजगढ नपा परिसरमा ट्याक्टर तेर्साएर आफ्ना समस्याको समाधान निकाल्न नगरप्रमुख सुरथ पुरीलगायत जनप्रतिनिधिहरूलाई दबाब सिर्जना गरे पनि प्रयास गर्न प्रतिबद्ध रहेको भन्दै तत्कालका लागि कानूनी बाधाका कारण सो समस्या निम्तिएको उनीहरूले बताउँदै आएका पीडित ट्याक्टर व्यवसायीहरूले भने ।

आर्थिक वर्ष २०८०/८१ मा निजगढ नगरपालिकाले नगरभित्रका बकैया, धन्सार, लाल–भक्तलाल खोलाको नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को ठेक्का बन्दोबस्तीका लागि तयार गर्न लगाइएको आइइई रिपोर्ट दुर्ई महीना बिते पनि अझै नगरपालिकामा आइनपुगेको बुझिएको छ ।

निजगढ नगरपालिकाको वडा नं ४ कछडिया टोल र वडा नं ९ मा रहेका आठवटा क्रसर उद्योगमा हाल ८५ लाख ७६ हजार ७७६.५० क्यूफिट नदीजन्य पदार्थ मौज्जाद रहेको जनाइएको छ । उक्त परिमाण टेन डाउन गिट्टीबाहेक क्रसर उद्योगबाट उत्पादन, प्रशोधन गरिएको र नगरी थुपारिएको सबैको स्थलगत नापजाँच गर्दा निस्किएको नदीजन्य पदार्थ ग्राभेल, ढुङ्गा, गिट्टी, बालुवाको परिमाण रहेको निजगढ नपाका इन्जिनीयर रूपेश यादवले जानकारी दिए ।

निजगढ नपाको निर्देशनमा गएको प्राविधिक टोलीले गत साउन ११ गते एक सातासम्म गरेको स्थलगत अनुगमनबाट उक्त परिमाण निकालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here