प्रस, सेढवा, १२ कात्तिक/
जीराभवानी गाउँपालिकामा सञ्चालित सातौं परसवा गोल्डकप–२०८० अन्तर्गत आइतवार भएको पहिलो खेलमा उमङ्ग युवा क्लब पकडीटोल विजयी भएको छ । पकडीटोलले सिद्धपुरलाई शून्यका विरुद्ध पाँच गोलअन्तरले पराजित गरेको हो । पकडीटोलका अभिषेक महतोले तीन र साजन गौतमले दुई गोल गरेका थिए । सो खेलमा अभिषेक महतो ‘म्यान अफ दी म्याच’ घोषित भए । महतोलाई आजका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता विजय महतोले नगद दुर्ई हजार र ट्रफी प्रदान गरेका थिए ।
त्यस्तै, दोस्रो खेलमा आयोजक न्यू एभरेस्ट क्लब परसवा विजयी भएको छ । परसवाले बारा–११ लाई शून्यका विरुद्व चार गोलअन्तरले पराजित गरेको छ । परसवाका लागि विमल घिसिङ, अभि लामा, समीर राई र अनिल पाचेमगरले एक/एक गोल गरेका थिए । खेलमा न्यू एभरेस्ट क्लब, परसवाका जर्सी नं १२ का विमल घिसिङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।
भोलिको पहिलो खेल ठोरी र भारतको इनर्वा र दोस्रो खेल बुद्धनगर र पटेर्वासुगौली देकुलीबीच हुने आयोजक संस्थाका उपाध्यक्ष नवल किशोर चौधरीले बताए ।