बेइजिङ, १२ कात्तिक/एएफपी
वाशिङ्टनको दुर्लभ भ्रमण पूरा गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज’ नरहेको भनेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
यसै साता वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गरे । शुक्रवार दुवै पक्ष आगामी महीना नेताहरूबीच एउटा बैठक आयोजना गर्न सहमत भएका थिए ।
दुवै शक्तिबीच तनावपूर्ण सम्बन्धको समयमा अमेरिकी राष्ट्रपति बाइडेनले एशिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सीलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन् । अमेरिका जाने बारेमा राष्ट्रपति सीले अहिलेसम्म पुष्टि गरेका छैनन् ।
सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले शनिवार वाशिङ्टनमा एस्पेन स्ट्राटिजी ग्रुपद्वारा आयोजित कार्यक्रममा भने, “दुवै पक्षले चाँडोभन्दा चाँडो द्विपक्षीय सम्बन्धलाई स्थिर र सुधार गर्ने आशा गरेका छन् र दुवै राष्ट्रप्रमुख सान फ्रान्सिस्को शिखर सम्मेलनमा सँगै मिलेर काम गर्न सहमत भएका छन् ।”
सिन्ह्वाका अनुसार वाङले चेतावनी दिंदै भने, “सान फ्रान्सिस्कोको मार्ग सहज छैन र यसलाई ‘अटोपाइलट’को भरमा छोड्न सकिंदैन ।” सन् २०२२ नोभेम्बरमा बालीमा भएको भेटयता बाइडेन र सीबीच कुनै सम्पर्क भएको छैन ।
दुवै मुलुक एशिया–प्रशान्त क्षेत्र र त्योभन्दा बाहिरको प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका र बेइजिङले अमेरिकी प्रभुत्वलाई कम गर्न रूससँग सहयोग बढाइरहेकाले विश्वका दुर्ई शीर्ष अर्थतन्त्र मुलुकबीच वर्षाैंदेखि सम्बन्ध तनावपूर्ण रहेको छ ।
सिन्ह्वाका अनुसार वाङले शनिवार दुवै पक्षले हस्तक्षेप अन्त्य गर्न, अवरोधहरू हटाउन र आम सहमति बढाएर परिणाम हासिल गर्नुपर्ने बताका थिए । रासस