• अनन्तकुमार लाल दास

२१औं शताब्दीमा मानिस पृथ्वीको सबैभन्दा शक्तिशाली प्राणी हो, जसले पृथ्वीमा बसोवास गर्ने अन्य प्राणीहरूमाथि आफ्नो वर्चस्व जमाएको छ । आज मानिस आफ्नो सामथ्र्यले पृथ्वी बाहिर रहेका अन्य ग्रहहरूमा पनि शक्ति प्रदर्शन गरिरहेको छ । त्यहीं अर्कोतिर शक्तिसम्पन्न मानिसको अहङ्कारले उसलाई अन्धो बनाएको छ । आफूलाई सर्वश्रेष्ठ देखाउन कैयन जीवन बर्बाद गर्न पछि हट्दैन । विश्वमा आज आफूलाई सर्वश्रेष्ठ देखाउने होड चलिरहेको छ । उसको चाहना सम्पूर्ण विश्वमाथि नै शासन गर्नुरहेको छ । उसको यस प्रकारको चाहनाबाट नै युद्धको जन्म भएको छ । युद्ध भनेको तबाहीको अर्को नाम हो । युद्धबाट कहिले पनि कसैलाई पनि लाभ भएको छैन । युद्धमा संलग्न दुवै पक्ष समानरूपले प्रभावित हुन्छ । युद्ध हुने देशहरूमा अशान्त वातावरणको जन्म हुन्छ जसबाट त्यहाँ हुने विकास प्रभावित हुन्छ । यस परिवेशमा शान्ति स्थापना आवश्यक हुन जान्छ ।

युद्ध पारिवारिक सदस्यहरूबीच हुने झगडाभन्दा फरक हुन्छ किनभने घरमा हुने झगडा थोरै समयका लागि हुन्छ । यसबाट बढी हानि हुँदैन र छिट्टै शान्ति स्थापना पनि हुन्छ । त्यहीं अर्कोतिर युद्ध यस्तै झगडाको डरलाग्दो रूप हो जुन दीर्घकालसम्म चलिरहन्छ । यसमा दुवै देशबीच हातहतियारसहित लडाइँ हुन्छ जुन पछि महायुद्धमा परिणत हुन्छ । कुनै पनि युद्ध कारणबेगर हुँदैन । युद्धमा दुवै पक्षबीच कुनै यस्तो कारण हुन्छ जसले युद्धको वातावरण तयार पार्दछ । ती कारण के–के हुन सक्छन् ?

यसको पहिलो कारण साम्राज्यवाद हो, किनभने मानिसमा बढी शक्ति हासिल गर्ने चाहना हुन्छ । यस कारण ऊ बढी भन्दा बढी क्षेत्रमाथि आफ्नो अधिकार जमाउन खोज्छ । उसको यसै विस्तारवादी नीतिले गर्दा साम्राज्यवादको जन्म हुन्छ । आफ्नो शक्ति विस्तारका लागि मानिस सत्ता र साम्राज्य हासिल गर्न कैयन प्रकारका हथकण्डा प्रयोग गर्छ जसमध्ये युद्ध पनि एक हो । युद्ध हुनु पछिको अर्को महत्वपूर्ण कारण आर्थिक हित हो । कैयन देशका आर्थिक हित एकै ठाउँबाट सम्बन्धित हुन्छ । यिनै आर्थिक हितले गर्दा दुई देशबीच मनमुटाव हुन्छ जुन कालान्तरमा गएर तनाव र युद्धमा परिणत हुन्छ । युद्ध हुनुको तेस्रो कारण धार्मिक र सांस्कृतिक पनि हो । इतिहास कैयन धार्मिक र सांस्कृतिक युद्धको साक्षी रहेको छ । कैयन देशको के चाहना हुन्छ भने उसको धर्म र संस्कृतिबारे अन्य देशलाई पनि थाहा होस् र उनीहरूले त्यही धर्म र संस्कृति अनुसरण गरून् । यसका लागि उनीहरू आफ्नो धर्म र संस्कृति अन्य देशमाथि थुपार्ने प्रयास गर्छन् जसको परिणामस्वरूप युद्ध हुने गर्छ ।

युद्ध र शान्तिबीच एक प्रकारको विरोधाभास रहेको छ । पहिलो विश्वयुद्ध लिग अफ नेशन्सको स्थापनासँगै समाप्त भएको थियो जसको उद्देश्य पुनः युद्ध नहुन दिनको लागि सम्भावनाहरूको खोजी गर्नु थियो । तर यसले पनि युद्धको प्रकोप न्यून गर्न सकेन र दोस्रो विश्वयुद्ध भयो । त्यसपछि स्थायी शान्तिका लागि संयुक्त राष्ट्रसङ्घ गठन भयो । तर स्थायी शान्ति हालसम्म पनि सपना बनेको छ र युद्धको बादल कहिले कुनै देशमा त कहिले कुनै देशमा निरन्तर देखा परिरहेको छ । नेपोलियन र बिस्मार्क इतिहासका यस्ता योद्धा भए जो आफ्नो शत्रुलाई परास्त गर्न वा धन लुट्न लड्थे । तर कुनै युद्धको परिणाम सकारात्मक देखिएन । यसले मानिस स्वभावको सूक्ष्म संवेदनाहरूलाई नष्ट गर्दछ र त्यसको ठाउँमा घृणा, ईष्र्या र द्वेष जन्माउँछ । दोस्रो विश्वयुद्धले नागासाकी र हिरोशिमामाथि परमाणु बमको रूपमा तबाही मचाएको थियो । यसले शहरलाई खरानीको थुप्रो बनाउनुका साथै महिला, पुरुष र बच्चाहरूलाई मृत वा जीवनभरिका लागि अपाङ्ग बनायो । इतिहासमा भएको यही कुरो आज रूस–युक्रेन र इजरायल–हमास युद्धमा समेत दोहोरिएको छ । युद्धले कहिल्यै पनि मानिसको भलो हुँदैन ।

भनिन्छ अशान्त मनले गरेको कुनै पनि काममा सफलता हासिल हुँदैन । त्यसैगरी कुनै पनि अशान्त देश विकास पथमा अग्रसर हुन सक्दैन । प्रत्येक देश वा व्यक्तिको चाहना शान्तिपूर्वक जीवन व्यतीत गर्नुहुन्छ । यस कारण युद्धको स्थितिबाट बच्नका लागि र देशमा शान्ति स्थापनाका लागि शान्ति सम्झौता गरिन्छ । उदाहरणका लागि दोस्रो विश्वयुद्धमा ब्रिटेनले जर्मनीसँग म्युनिखमा सम्झौता गरेको थियो किनभने ऊ हिटलरसँग लड्न सक्षम थिएन । यस कारण के भन्न सकिन्छ भने विनाशकारी स्थितिसँग जोगिन शान्ति स्थापना गर्नु एकमात्र उपाय हो । जसरी युद्धको दुई पक्ष हुन्छ त्यसैगरी शान्तिको पनि दुई पक्ष हुन्छ । स्थायी शान्ति भनेको युद्धमा अर्जित शान्तिसमान हुन्छ । यसलाई एक उदाहरण द्वारा बुझ्न सकिन्छ । भारत र पाकिस्तानबीच कहिले पनि राम्रो सम्बन्ध रहेको छैन तर प्रत्येक दिन युद्ध भइरहेको छ भन्ने पनि होइन । कारण के हो भने भारतले पाकिस्तानको आक्रमणलाई   उल्टा झापड दिने भन्ने डर उत्पन्न गरेको छ जसले गर्दा पाकिस्तान भारतविरुद्ध सधैं बोलि त रहन्छ तर युद्ध गर्दैन । परिणामस्वरूप शान्तिपूर्ण माहोल छ र युद्धको विभीषिकाबाट बचेका छन् ।

समस्त मानजातिलाई विनाशबाट जोगाउनको लागि विश्वका कैयन कुनाबाट विश्व शान्तिको माग भइरहेको छ । महात्मा गाँधीले भारतको स्वतन्त्रताका लागि हिंसाको सहारा लिएनन् । विश्वभरि युद्धको स्थितिबाट जोगिन कैयन सङ्गठनले काम गरिरहेका छन् । जब कुनै राष्ट्रमा शान्ति हुन्छ, त्यसबेला चारैतिरबाट लाभ हासिल हुन्छ । राष्ट्रको धन मानिसको कल्याणकारी कार्यमा खर्च हुन्छ । कल्याणकारी परियोजना शुभारम्भ हुन्छ । कला र साहित्यको प्रगति शान्तिको वातावरणमैं सम्भव हुन्छ । यसलाई एउटा अर्को उदाहरणबाट बुझ्न सकिन्छ । एलिजाबेथ युग त्यस बेला मात्र साहित्यको स्वर्णयुग बन्न सक्यो जब स्पेनिस आर्मडाको हारपछि शान्ति स्थापना भयो । अङ्ग्रेजहरूले आफ्नो प्रभुत्व स्थापित गरे र विक्टोरियन युगमा जब सबैखाले युद्ध समाप्त भयो र शान्ति स्थापना भयोस विज्ञान, उद्योग, साहित्य, लोकतन्त्रको अङ्ग्रेजी इतिहासमा विकास भयो ।

यसैगरी भारतीय इतिहासको मुगलकालमा अकबर आफ्नो शासनकालको लामो समयसम्म युद्ध गर्दै रहे र केही हासिल गर्न सकेनन् तर जुनबेला उनको शासनकालमा शान्ति स्थापना भयो उनले आगराको किला, फतेहपुर सिकरी निर्माण भयो । उनको दरबारमा महान् बुद्धिजीवी र महान् विचारकहरूले ठाउँ पाए र त्यो कालखण्ड स्वर्णिमकालको रूपमा प्रचलित भयो । के शाहजहाँ युद्धमा संलग्न रहेको भए ताजमहल बनाउन सक्थे ? त्यसैगरी भारत आज आफ्नो बजेटको ठूलो भाग सीमा सुरक्षामा खर्च गरिरहेको छ । विगतको कारगिल युद्धमा उसलाई ६०० करोड खर्च गर्नुपरेको थियो । पाकिस्तानको अर्थव्यवस्था पूर्णरूपेण चौपट भइसकेको छ र त्यहाँका मानिस दयनीय जीवन व्यतीत गर्न बाध्य छन् । यी दुवै देश यदि शान्तिपूर्वक बसेका भए उपलब्ध संसाधनहरूको उपयोग राम्ररी हुन्थ्यो र युद्धमा शहादत प्राप्त गरेका मानिसको मुखमा जीवन्त मुस्कान हुन्थ्यो । तर जबसम्म युद्धको बादल मडारिइरहन्छ त्यस बेलासम्म कसैले बाँच्ने आस कसरी गर्न सक्छ ?

मानिसमा पशुता र देवत्व दुवै हुन्छ । दुवै एकअर्कामाथि विजय हासिल गर्न सङ्घर्षशील रहन्छ । प्रारम्भिक कालमा यो सङ्घर्ष वैचारिक हुन्छ, त्यसलाई द्वन्द्व भनिन्छ । जब यही सङ्घर्ष दैहिक हुन्छ तब यसलाई युद्ध भनिन्छ । मूलतः युद्ध पाशविक प्रवृत्ति हो । यसको दुष्परिणाम हामी सबैलाई थाहा छ । युद्धबाट मुक्तिका लागि महात्मा बुद्ध, महावीर, महात्मा गाँधी, मार्टिन लुथरजस्ता चिन्तकहरूले विश्वलाई अहिंसाको सन्देश दिएका छन् । यसैगरी हाम्रो देश नेपालले पनि पञ्चशीलको सिद्धान्त अँगालेको छ । संयुक्त राष्ट्रसङ्घको स्थापना भएको छ तर पनि युद्धबाट पृथ्वीलाई जोगाउन गा¥हो परिरहेको छ । युद्धको एक तथ्याङ्कले के देखाएको छ भने पाँच हजार वर्षको इतिहासमा करीब १४ हजार युद्ध भएका छन् । युद्धको सम्बन्ध मानिसको मनसँग हुन्छ । जबसम्म मानिसको मनमा विकार रहन्छ, तबसम्म युद्ध रोकिन्न । भारतीय कवि दिनकरले लेखेका छ–“युद्धको तुम निंद्य कहते हो अगर/जब तलक हैं उठ रही चिंगारियां/भिन्न स्वार्थों के कलुष सङ्घर्ष की/युद्ध तबतक विश्व में अनिवार्य है ।”

शान्तिको स्थितिले आम मानिसको मनलाई शान्ति प्रदान गर्दछ । शान्त मस्तिष्कबाट नयाँ सकारात्मक विचार उत्पन्न हुन्छ । यस कारण हामी के भन्न सक्छौं भने युद्ध विनाशको अर्को नाम हो । युद्ध मानव तबाहीको कारण भएकोेले यसलाई सधैं रोक्ने प्रयास गर्नुपर्छ । वर्तमानमा विज्ञानले युद्धलाई झन् भयावह बनाएको छ । अणु बम, परमाणु बम, हाइड्रोजन बम, फास्फोरस बम, प्रक्षेपास्त्र आदिको आविष्कारले युद्ध विध्वंसकारी बनाएको छ । वर्तमानमा पूरा विश्व प्रलयको सम्भावनाले भयभीत छ । अब यदि विश्वयुद्ध हुन्छ भने स्याल र कागको पनि हर्षगान सुनिंदैन । मानवसहित अन्य चेतन प्राणीको सर्वनाश हुन्छ । जे भए पनि युद्ध मानव जातिका लागि कलङ्क हो । यस कारण वर्तमान परिप्रेक्ष्यमा युद्धलाई रोकेर नै मानव समुदायलाई जोगाउन सकिन्छ । यो त्यति बेला मात्र सम्भव छ जब कुनै पनि समस्याको समाधान युद्धबाट नभई शान्तिपूर्वक छलफलबाट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here