प्रस, परवानीपुर, ११ कात्तिक/

पर्साका एकजना सशस्त्र प्रहरी जवानलाई कुटपिट गरी हत्याको प्रयास गर्नेहरू हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

सशस्त्र प्रहरी बल १३ नं हेडक्वाटर पर्सामा कार्यरत सशस्त्र प्रहरी जवान नीरज विश्वकर्मालाई कुटपिट गरिएको घटनामा हालसम्म पर्सा प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न सकेको छैन । घटना भएको सात दिन बितिसक्दा पनि हालसम्म कुटपिट गर्ने आरोपीहरूलाई पर्सा प्रहरी मातहतको प्रहरी युनिटले पक्राउ गर्न नसक्दा पर्साको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

पर्सामा सशस्त्र प्रहरी जवानलाई कुटपिट गरिएको घटनाको अनुसन्धान प्रभावकारी नभएको बताइएको छ । प्रहरी असुरक्षित भएपछि सर्वसाधारणको सुरक्षाबारे चिन्ता व्यक्त गर्न थालिएको छ ।

पर्सा, वीरगंज–३२ मिलनचोक बस्ने सप्रज विश्वकर्मा दशैं बिदा मनाउन मिलनचोकस्थित घर गएको र नवमीको राति जीतपुर हुँदै वीरगंज फर्किंदै गर्दा मनमिश्र निमावि टेढाभन्दा ५० मिटर पश्चिम भैंसी लोड गर्ने स्थानमा उनीमाथि स्थानीय युवकहरूले आक्रमण गरेका थिए । स्थानीय युवाहरूबीच विवाद भइरहेको देखेपछि विश्वकर्माले सम्झाइबुझाइ गर्न खोज्दा बियरका पाँचवटा बोतलले उनको टाउकोमा प्रहार गरी ज्यान लिने प्रयास गरिएको थियो ।

सप्रज विश्वकर्माको टाउकोमा गम्भीर चोट लागेको छ भने उनको उपचार हाल वीरगंज, गण्डकस्थित वयोधा अस्पतालमा भइरहेको छ । उनलाई तत्काल उद्धार गरी अस्पताल नल्याइएको भए उनको ज्यानसमेत जान सक्ने अवस्था थियो । त्यति बेला पर्साका जनपद र सशस्त्रका प्रहरी उपरीक्षकद्वय कोमल शाह र किसन कर्माचार्यले समेत मिलनचोक क्षेत्रमा सर्च अभियान चलाइ कुटपिट गर्नेहरूको खोजतलाश गरेका थिए । तर हालसम्म कुटपिट गर्नेहरू पक्राउ पर्न सकेका छैनन् । यस घटनामा स्थानीय राजनीतिकर्मीहरूले स्थानीय प्रहरी युनिटसँग अभियुक्तहरूको उन्मुक्तिको लागि चलखेल गरिरहेका बुझिएको छ ।

टेढाका बुलेट अन्सारीलगायत तीनजना युवकले सप्रज विश्वकर्मामाथि ज्यान मार्ने उद्योग गरेको सप्रज विश्वकर्माका आफन्तजनले आरोप लगाएका छन् ।

यस विषयमा मिलनचोक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मित्र राईसँग बुझ्दा कुटपिट गर्ने व्यक्तिहरूको पहिचान भइसकेको र खोजी कार्य भइरहेको बताए । यसै घटनाको प्रहरी चौकी परवानीपुरले पनि छानबीन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here