प्रस, वीरगंज, ११ कात्तिक/

पर्साको विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको पठनपाठन कात्तिक १२ गते आइतवारदेखि सुचारु गर्न आग्रह गरेका छन् ।

अध्यक्ष तिवारीले शुक्रवार गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घ प्रतिनिधि, शिक्षक सङ्घ, शिक्षक सङ्गठन, शिक्षक फोरमका प्रतिनिधिलाई बोलाएर विद्यालयको पठनपाठन पूर्वकार्यतालिका अनुसार नै सञ्चालन गर्न/गराउन अपील गरेका शिक्षक मुकलेश गद्दीले बताए ।

अध्यक्ष तिवारीले शिक्षा प्रमुख र प्रधानाध्यापकहरूसँग भएको अभद्र व्यवहारको घटनाको छानबीन गरी दोषीलाई सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेको पनि उनले जानकारी दिए ।

अध्यक्ष तिवारीको अध्यक्षतामा बसेको प्रधानाध्यापक र शिक्षक महासङ्घ तथा पेशागत सङ्घ–सङ्गठनका प्रतिनिधिहरूको संयुक्त बैठकले कात्तिक १२ बाट पूर्वकार्यतालिका अनुसार नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा पनि सहभागी थिए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछाने र केही प्रधानाध्यापकहरूलाई असोज ३० गते वडाध्यक्षहरूले दुव्र्यवहार गरेका थिए । गाउँपालिकाको वडा नं १ का अध्यक्ष अच्छेलाल महतो र वडा नं ३ का अध्यक्ष जयप्रकाश चौरसियाले शिक्षा शाखा प्रमुख लामिछाने र प्रधानाध्यापकहरूलाई दुव्र्यवहार गरेको विरोधमा शिक्षक महासङ्घ विन्ध्यवासिनी गाउँपालिका र विभिन्न शिक्षक सङ्घ–सङ्गठनहरूले कारबाही नभएसम्मको लागि अनिश्चितकाल विद्यालय बन्दको घोषणा गरेका थिए ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरूले पनि संयुक्तरूपमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै वडाध्यक्षद्वयमाथि कारबाहीको माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here