प्रस, सेढवा, ११ कात्तिक/

जीराभवानी गाउँपालिका वडा नं ३ स्थित परसवाको खेलमैदानमा रङ्गशाला निर्माण गर्ने सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए । सातौं परसवा गोल्डकप २०८० को उद्घाटन गर्दै मन्त्री रिजालले आफ्नै कार्यकालमा नै यस खेलमैदानमा रङ्गशाला निर्माण गर्ने बताए । अहिले खेलकूद क्षेत्रमा प्रगति भइरहेका बेला खेलकूद प्रतियोगिताबाट नै राष्ट्रिय खेलाडी उत्पादन हुने मन्त्री रिजालले बताए । मन्त्री रिजालले रेफ्री विशाल कुमारलाई फूटबल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए । न्यू एभरेस्ट क्लब, परसवाका अध्यक्ष उमाकान्तप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरी, संविधानसभा सदस्य जयप्रकाश थारू, नेकपा माओवादीका विजय महतो, जीराभवानी गापाका अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गापाका अध्यक्ष दिनेशकुमार चौधरी, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव, ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठ, गापा उपाध्यक्षहरू ममता महतो, रेखा चौधरी, बबिता सिंह क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

न्यू एभरेस्ट क्लब, परसवाद्वारा आयोजित सातौं परसवा गोल्डकप २०८० अन्तर्गत आज भएको खेलमा सेढवाले जीत हासिल गरेको छ । सेढवाले पटेर्वासुगौली देकुलीलाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गरेको थियो । दुई टीमबीचको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेल सकिन १० मिनेट समय बाँकी हुँदा सेढवाका जर्सी नं १५ का ग्लोरीले एकमात्र निर्णायक गोल गरेका थिए । सो खेलमा ‘म्यान अफ दी म्याच’ सेढवाका ग्लोरी घोषित भए ।

भोलिको पहिलो  खेल पकडीटोल र सिद्धपुरबीच हुनेछ भने दोस्रो खेल परसवा र निजगढ–११, बाराबीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here