राधेश्याम पटेल, परवानीपुर,१० कात्तिक/

वीरगंजस्थित दुवै भन्सार कार्यालयले फेरि राजस्व सङ्कलनको लक्ष्य भेट्न असफल भएका छन् । देशको कुल आयात–निर्यातको झन्डै ७० प्रतिशत कारोबार हुने वीरगंज नाकामा वीरगंज भन्सार एकीकृत भन्सार जाँच चौकी (आइसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्षित राजस्व लक्ष्य भेट्न सकेनन् । चालू आर्थिक वर्षको प्रारम्भिक दुर्ई महीना, साउन र भदौमा राजस्व लक्ष्य अनुसारको सङ्कलन नभए पनि पछिल्लो असोजमा चाडबाडमा आयात बढ्ने र राजस्व लक्ष्य पुग्ने प्रक्षेपण गरिएको थियो । तर त्यसो हुन सकेन भन्सार अधिकारीहरूले बताएका छन् ।

असोजसम्म अर्थात् चालु आवको प्रथम त्रैमासिकसम्म यी दुवै भन्सार कार्यालय प्राप्त राजस्व–लक्ष्य पूरा गर्न असफल भएका हुन् । राजस्व विभागले वीरगंज भन्सारलाई गत असोज महीनामा २१ अर्ब ८४ करोड १९ लाख ५० हजार रुपियाँँ राजस्व सङ्कलनको लक्ष्य दिएकोमा लक्ष्यको ६४.३५ प्रतिशतमात्र अर्थात् १४ अर्ब २७ करोड ४४ लाख २१ हजार राजस्व उठेको  छ ।

त्यसैगरी चालू आर्थिक वर्षमा साउनदेखि असोजसम्म तीन महीनामा विभागले ५६ अर्ब ८४ करोड ६३ लाख ९२ हजार रुपियाँँ राजस्व असुलीको लक्ष्य दिएकोमा वीरगंज भन्सार कार्यालयले लक्ष्यको ६८.३५ प्रतिशतमात्र अर्थात् ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार सङ्कलन गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरूवालले जानकारी दिए ।

वीरगंज भन्सार कार्यालयले गत भदौ र साउन महीनामा पनि राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन । वीरगंज भन्सार कार्यालयले गत भदौमा लक्ष्यको ६५.५९ प्रतिशत र साउनमा लक्ष्यको ७५.९६ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकेको थियो ।  वीरगंज भन्सार कार्यालयमा राजस्व बढी उठ्ने वस्तुमा नयाँ सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थ इत्यादि हुन् । तर साउनदेखि नै यी वस्तुको आयात कम भएपछि राजस्व सङ्कलनमा असर परेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत बरूवालको भनाइ छ ।

यसैबीच सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय पनि गत असोजमा राजस्व सङ्कलनको लक्ष्य भेट्न असफल भएको छ । राजस्व विभागले असोज महीनामा रु ५ अर्ब ३९ करोड १० लाख ९९ हजार राजस्व असुलीको लक्ष्य पाएकोमा लक्ष्यको ७४.५२ प्रतिशत  अर्थात् रु ४ अर्ब ४६ करोड ४१ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । त्यसैगरी राजस्व विभागले सुक्खा बन्दरगाह भन्सारलाई चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन  महीनामा रु १५ अर्ब ६० करोड ९८ लाख २५ हजार लक्ष्य दिएकोमा सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ८४.०३ प्रतिशत अर्थात् रु १३ अर्ब ११ करोड ६२ लाख ३३ हजार राजस्व सङ्कलन गरेको  सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत सुशील शर्माले जानकारी दिए ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले भदौ महीनामा पनि लक्ष्यभन्दा करीब १५ प्रतिशत कम अर्थात् लक्ष्यको ८५.१५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको थियो । गत असोज महीनामा भने पाँच दिनसम्म मुआब्जा पीडित जग्गाधनीहरूले भन्सारको गेटमैं धर्ना दिएका कारण पाँच दिन भन्सार कार्यालयको सेवा ठप्प भएकोले त्यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा पर्न गई लक्ष्यभन्दा कम राजस्व उठेको शर्माले बताए । सुख्खा बन्दरगाह र आइसिपीबीचको ६२ बिघा जग्गा सरकारले ७ वर्षदेखि अधिग्रहण गरेर रोक्का गरेको तर मुआब्जा भने नदिएको भन्दै जग्गाधनीहरूले असोज १४ देखि १८ गतेसम्म सुख्खा बन्दरगाह भन्सारको मूलगेटमैं पाँच दिनसम्म धर्ना बसेर प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here