प्रस, वीरगंज, १० कातिक/

वीरगज महानगरपालिका–७ का वडाध्यक्ष हीराकाजी महर्जनलाई कुटपिट गर्ने प्रहरीलाई कारबाईको माग गर्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पर्साले विरोध र्याली निकालेको छ ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष महर्जनलाई न्याय दिलाउन सिङ्गो पार्टी लागेको छ । विरोध र्यालीमा जिल्लाका निर्वाचित जनप्रतिनिधिलगायत नेता कार्यकर्ताहरूको उपस्थिति थियो ।

घण्टाघरबाट निस्केको विरोध र्याली जिल्ला प्रसाशन कार्यलय, पर्सा पुगेको थियो । विरोध र्यालीमा प्रदेशसभा सदस्य श्याम पटेल, नगरउपप्रमुख इम्तियाज आलम, गापा अध्यक्ष दिनेश चौधरीलगायतको सहभागिता थियो ।

कात्तिक ५ राति वडा नं ७ का बासिन्दाले राति भजनकीर्तन गरिरहेको बेला प्रहरीले रोक्न खोजेपछि विवाद शुरू भएको थियो । विवाद सुल्झाउन वडाध्यक्ष महर्जन पुग्दा प्रहरीले उनलाई कुटपिट गरी मापसे गरेको कसूरमा रातभरि थुनेको थियो ।

त्यसपछि भोलिपल्ट बिहान वडाध्यक्ष महर्जनले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएका थिए ।

वडाध्यक्षलाई कुट्ने नगवा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्ष्Fक रवीन्द्र तुराहालाई कारबाईको माग गर्दै उनीहरूले प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका छन् । नेका, पर्साका कार्यवाहक अध्यक्ष रामनारायणप्रसाद कुर्मीले ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र प्रनानि तुराहालाई कारबाईको माग गरेका छन् ।

वडाध्यक्ष चतुर्वेदीको घटनाप्रति जसपा मौन

जनता समाजवादी पार्टीवाट निर्वाचित वीरगंज–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पनि अष्टमीको राति सरसफाइकर्मीबाट कुटिएको भिडियो सामाजिक सञ्जालमा छरिएको छ । यस विषयमा अहिलेसम्म पार्टी पङ्क्ति वा नेताहरूले केही कुरा बोलेका छैन । एकैदिन भएको यी दुई घटनामा वडाध्यक्ष्Fमाथि आक्रमण भएको थियो ।

जसपा पर्सामा अहिले चर्को विवादको कारण आफ्नै वडाध्यक्ष कुटाइ खाँदा पनि सिङ्गो पार्टी पङ्क्ति चुप बसेको छ । जसपाबाट नै निर्वाचित नगर प्रमुख राजेशमान सिंहले पनि यस घटनाप्रति आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

कात्तिक ५ गते राति आदर्शनगर, राष्ट्र बैंकको गलीमा सडक सफाइ गरिरहेका सरसफाइकर्मीहरूसँग विवाद हुँदा वडाध्यक्ष चतुर्वेदीले मोबाइल चलाएर ट्याक्टर चालकको टाउको फोरेपछि विवाद भएको थियो र सोही क्रममा चतुर्वेदीलाई महिला सरसफाइकर्मीहरूले कुचोले पिटेको भिडियो सार्वजनिक भएको थियो ।

आज दिउँसो दुवै पक्षबीच मिलापत्र गराउने प्रयास भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here