प्रस, सेढवा १० कात्तिक/
न्यु एभरेस्ट क्लब परसवाले आयोजना गरेको सातौं परसवा गोल्ड कप–२०८० को तयारी अन्तिम चरणमा पुगेको छ । फिफा वल्र्डकपपछि हुने परसवा गोल्डकपको सातौं संस्करण कात्तिक ११ गते शनिवारदेखि शुरू भइरहेको छ ।
जीराभवानी गाउँपालिका–३ खेल मैदानमा हुने गोल्डकपमा १२ वटा टीमको सहभागिता हुने बताइएको छ । सेढवा, पकडीटोला, परसवा, ठोरी –१, बुद्धनगर, निचुटा, पटेर्वासुगौली देकुली र सिद्धपुर गरी आठवटा पर्साका टीमका सहभागी हुँदैछन् । त्यस्तै निजगढ, बकुलिया र मनहर्वागरी बाराका तीन र भारत बिहारको इनर्वाबाट एउटा टीमको सहभागिता हुनेछ ।
प्रतियोगिताको विजेता टीमलाई नगद रु दुई लाख ५० हजार र ट्रफी पुरस्कार दिइने आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले बताए । त्यस्तै दोस्रो स्थान हासिल गर्ने टीमलाई एक लाख २५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने अध्यक्ष चौधरीले जनाए । यसका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई चाँदीका बूट र बेस्ट स्कोररलाई चाँदीको फूटबल पुरस्कार दिने अध्यक्ष चौधरीले बताए ।
प्रतियोगिताको लिग चरणका लागि चारवटा समूह हुनेछ । उद्घाटनमा खेल अन्तर्गत सेढवा र देकुलीबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि अनुमानित साढे ३६ लाख खर्च हुने अध्यक्ष चौधरीले बताए । जसमध्ये जीराभवानी गापाले १० लाख विनियोजन गरेको छ ।
परसवा गोल्डकप २०५५ सालदेखि शुरू भएको र हरेक चार वर्षमा प्रतियोगिता आयोजना हुने गर्छ ।