प्रस, वीरगंज, १४ असोज/
जिल्ला प्रहरी कार्यालय, बाराले पचरौता नगरपालिकामा हालै भएको दुई हत्याका घटना अनैतिक सम्बन्धका कारण भएको जनाएको छ ।
आइतवार पत्रकार सम्मेलनको आयोजना गरी जिप्रका, बाराले असोज ८ गते पचरौता नपा–१ पिपरपातीमा धारिलो हतियार प्रयोग गरी ३५ वर्षीय अमरेशकुमार सिंह र असोज ९ गते भारतीय नागरिक अजितकुमार सिंहको गोली प्रहार गरी भएको हत्यामा कारक अनैतिक सम्बन्ध रहेको जानकारी गराएको छ ।
बारा प्रहरीद्वारा आयोजित पत्रकार सम्मेलनमा पचरौता नपा–१ पिपरपाती निवासी अमरेशको धारिलो हतियार प्रयोग गरी भएको हत्यामा अनैतिक सम्बन्ध कारण देखाए पनि सो सम्बन्धका बारेमा खुलासा भने गरिएन । घटनामा श्यामलाल महतो मुख्य अभियुक्त रहेका र उनका छोराहरू अवधेश, धनेश, भाइ जागृतसहित राजु साह र भारतीय नागरिक राहुल कानू अभियुक्त रहेको बताइएको थियो ।
असोज ९ गते साँझ सवा ६ बजे पचरौता नपा–६ लक्ष्मीनियास्थित पोखरीनजीक भारतीय नागरिक अजित सिंहको हत्या भने निजकै सहकर्मी सुजितकुमार सिंहले आफ्नी पत्नीसँगको अनैतिक सम्बन्धका कारण गरेको बारा प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । अजितले आपराधिक गिरोह चलाउँदै आएको र सो गिरोहमा सुजित मुख्य सुटर रहेको प्रहरीको दाबी छ ।
प्रहरीले अजित र सुजितले मिलेर तीन वर्षअघि घोडासहनमा सुनपसल लुटेको र सो रकम जग्गा प्लटिङमा लगाएको र पछि बाँडफाँटलाई लिएर विवाद भएपछि अजितको हत्या गरिएको अर्काे कारण रहेको दाबी गरेको छ । प्रहरीले दार्पा ग्राम पञ्चायतका उपप्रमुख र वडाध्यक्षका भाइ शिवपूजन यादवको हत्यामा अजित र सुजितको संलग्नताको दाबी गरेको छ ।
यसका साथै पछिल्लो समयमा सुजितको अनैतिक सम्बन्ध अजितकी पत्नी सोनमसँग कायम भएको र गिरोहको नाइके बन्ने मनसाय र अजितकी पत्नीसँगको सम्बन्धलाई कायम राख्ने अभिप्रायले अजितलाई गोली प्रहार गरी हत्या गरिएको बारा प्रहरीको दाबी छ । यो घटनामा गिरोहका मनीष सहनी, चञ्चल पाण्डे, कामेश्वर सहनी र रञ्जीत मुखिया संलग्न रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।