प्रस, वीरगंज, १४ असोज/
अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा युवा नामक एक संस्थाले वीरगंजमा आयोजना गरेको समूहगत छलफलमा सहभागी वक्ताहरूले सुरक्षितरूपमा गर्भपतन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।
ओम हस्पिटल वीरगंजका निर्देशक डा जगतदीप पटेलले वीरगंजमा चारवटा स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतनका लागि कानूनी मान्यताप्राप्त गरेको जानकारी गराए । उनले यसको अलावा जिल्लामा करीब ६५ वटा ठाउँबाट असुरक्षित गर्भपतन भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
वीरगंज महानगरपालिका स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत इन्दिरा लोहनीले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन महानगरले काम गरिरहेको बताइन् । सचेतना जगाउनेदेखि महानगर मातहतका स्वास्थ्य चौकीमा आउनेहरूलाई अनुमतिप्राप्त ठाउँमा जान सल्लाह दिने गरिएको उनले जानकारी गराइन् ।
मेरी स्टोप्स वीरगंजका इन्चार्ज सुरेश ठाकुरले असुरक्षितरूपमा गर्भपतन भइरहेको स्वीकार्दै उनले सुरक्षित गर्भपतन गराउनेको सङख््या बढ्दै गएकामा खुशी व्यक्त गरे । पछिल्लो समय मेरी स्टोप्स सेन्टरमा सेवाग्राहीको चाप बढ्नुले बिस्तारै नागरिक सचेत हुँदै गएको सङ्केतको रूपमा आफूले लिएको उनले बताए ।
सामाजिक कार्यकर्ता पल्लवी हरलालकाले गर्भपतन अझै पनि खुलेर चर्चा गर्ने विषयको रूपमा तराई/मधेसमा स्वीकार भइनसकेको र यो चुनौतीकै रूपमा रहेको बताइन् ।
उनले तराई/मधेसमा यसबारे अझै सामाजिक सचेतना बढाउनुपर्ने सुझाइन् । अर्का सामाजिक कार्यकर्ता सुवास ठाकुरले असुरक्षित गर्भपतनलाई सामान्यरूपमा लिएर बेवास्ता गरिए पनि यसले विकराल समस्या निम्तिन सक्ने चेतावनी दिए । सुरक्षित गर्भपतनको दायराभित्र सबैलाई ल्याउनुपर्ने र यसमा युवाहरूको योगदान रहने बताए ।
युवा संस्थाकी भूमिका साहले सुरक्षित गर्भपतन सेवा र जानकारीलाई प्रवद्र्धन गर्दै सर्वसाधारणका निम्ति सेवामा थप पहुँच बनाउने उद्देश्यले छलफल आयोजना गरिएको बताइन् ।
कार्यक्रमको सहजीकरण सुप्रिया साहले गरेकी थिइन् ।
कार्यक्रममा युवा संस्थाले अन्तरविद्यालय निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो । सुरक्षित गर्भपतनको विषयमा आयोजित निबन्ध प्रतियोगितामा ममता विद्यामन्दिरका अनिल यादव प्रथम, मिनील्यान्ड माविकी एलिजा कुमारी द्वितीय र ममता विद्यामन्दिरकी दक्षता चौधरी तृतीय भएका थिए ।
कार्यक्रममा कञ्चनजङ्घा माविका विद्यार्थीले असुरक्षित गर्भपतनबाट हुन सक्ने खतरा र त्यसले निम्त्याउने कानूनी जटिलताका विषयमा नाटक प्रस्तुत गरेका थिए ।