बलिराम शुक्ला, बिरुवागुठी, १३ असोज/
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ सिद्धपुर गाउँमा उराव (धाँगड) समुदायको मधेस प्रदेशस्तरीय कर्मा धर्मा महोत्सव शनिवार सम्पन्न भएको छ ।
कर्मा धर्मा महोत्सवका अध्यक्ष लालदेव महतो उरावको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले उराव समुदाय नेपालको मूल जनजाति रहेको र यो समुदायको रीतिसंस्कृति लोप हुँदै गइरहेकाले आफ्नो संस्कृति जोगाइरहन यस्ता कार्यक्रमले उराव समुदायलाई थप मदत पुग्ने र सोमा आफ्नो सक्दो सहयोग रहने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि उराव समुदायका केन्द्रीय अध्यक्ष दीपेन्द्र उरावले मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, धनुषाका उराव समुदाय एक ठाउँमा भेला भई आफ्नो पहिचान झल्किने कार्यक्रममा उपस्थित हुन पाउँदा गर्व महसूस भएको बताए । उनले उराव समुदायको लोप हुनै लागेको कर्मा धर्मा पूजामा सात दिनअगाडि मकै, जौं, तिललगायतको जमरा राखी पूर्णिमाको दिन कुमार र कुमारीहरूले कर्माको रूखमा पूजाआजा गरी जमरालाई प्रसादको रूपमा ग्रहण गर्ने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष शर्मिला विष्ट, सखुवाप्रसौनी गाउँपालिका वडा नं १ का अध्यक्ष वासुदेव महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उराव समुदायको संस्कृति झल्किने झाँकी प्रदर्शन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम भएको थियो ।