करीब दुई हप्ता बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग अघिल्लो बिहीवारदेखि पुनः सञ्चालनमा आएको छ । आगो बाल्ने भट्टीका केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको थियो । उपकरण मर्मतसम्भार र थप उपकरण जडान गरिएपछि उत्पादन शुरू भएको हो । उद्योग सञ्चालनमा आएपछि निरन्तर चलिरहनुपर्छ । उद्योग सञ्चालनका निम्ति ऊर्जाको रूपमा बिजुली प्रयोग गरिरहेका छौं । उद्यFेगमा बिजुली नियमित रहने हो भने भट्टीको जरुरी थिएन । तर हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणले दिंदै आएको विद्युत् आपूर्ति करीब पटकपटक अवरुद्ध हुँदा उद्योग सञ्चालन तथा उत्पादन नियमित राख्न नसकिएको हो । नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योगले उत्पादन शुरू गरेको करीब चार दशक पुगिसक्यो पुरानो हुँदै जाँदा उद्योगका उपकरणहरू जीर्ण भएका छन् । आगो बाल्ने भट्टीको उपकरण जीर्ण भएकाले नै बिग्रिएको हो । तत्कालीन राजा महेन्द्रले विसं २०३३ मा स्थापना गरेको हेटौंडा सिमेन्ट उद्योगले २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन शुरू गरेको हो ।
एक अर्ब ५० करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले अहिले विभिन्न शहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म सिमेन्ट बिक्री वितरण गरिरहेको छ । हेटौंडा सिमेन्टको लागि बजार अभाव छैन । बजारमा चाहेको बेला उक्त सिमेन्ट पाउनै गार्हो छ । मकवानपुर जिल्लाकै बासिन्दाहरूसमेत सिमेन्ट पाउन सोर्स लगाउनुपर्ने अवस्था रहेको बताइरहेका छन् । यसको ठीक विपरीत लाखौं बोरा सिमेन्ट भने उद्योगको गोदाममा थन्किएका छन् । सरकार, उद्योग व्यवस्थापन पक्ष र कामदारबीच तालमेल नमिल्दा उद्योग धराशयी बन्दै छ । अहिले जस्तो उद्योग खुल्ने र बन्द हुने कुनै निश्चित छैन । यसअघि पनि धेरैपटक बन्द हुने र खुल्ने प्रक्रिया चलिसकेको छ । प्रविधि कहाँबाट कहाँ पुगिसक्यो । सरकार भने चार दशक पुरानो मेशीन उपकरणहरू उद्योगमा प्रयोग गरिरहेको छ । यसको पार्टपुर्जा मरम्मतसम्भार र आधुनिकीकरण गर्ने हो भने उत्पादन क्षमता बढ्न सक्छ । स्थापनाको बेला उद्योगको उत्पादन क्षमता दैनिक ७५० मेट्रिक टन थियो । हाल दैनिक तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।
‘सरकारी काम कहिले जाला घाम’को अवस्थामा कामदारहरू छन् । कामदारको गैरजिम्मेवारीपनका कारण विनाकाम कोइलाभट्टी जलिरहँदा एकै दिन दशौं लाख रुपैयाँ उद्योगलाई नोक्सान पुगेको कुरा प्रकाशमा आइसकेको छ । उद्योगको जिएम पद राजनीतिक दलका नेताले पाउने हो । उद्योगमा सीधैं राजनीति छिरेपछि उभोगति लाग्ने कुरा भएन । सरकार कतिसम्म गैरजिम्मेवार छ भने विद्युत् उत्पादन स्थलमा रहेर पनि सरकारी स्वामित्वमा चलेको एकमात्र उद्योगलाई अवरुद्ध नहुनेगरी विद्युत्को व्यवस्था गर्न सक्दैन । विद्युत् अनियमितताका कारण उद्योगले ठूलो घाटा बेहोरिरहेको छ । यी यस्तै कारणले गर्दा निजी उद्योगले प्रशस्त आम्दानी गरिरहेको अवस्थामा हेटौंडा सिमेन्ट उद्योगले भने आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म करीब ९० करोड घाटा बेहोरेको पाइएको छ । उत्पादनको गुणस्तर उच्चकोटिको छ तर बजार व्यवस्था छैन । सरकारको गैरजिम्मेवारीपनका कारण सरकारी स्वामित्वका महत्वपूर्ण उद्योगहरू टाट पल्टिसके । यही अवस्था रहने हो भने हेटौंडा सिमेन्ट उद्योग पनि इतिहास बन्न धेरै समय लाग्दैन ।