- डा शिवशङ्कर यादव
भय पनि चिन्तारोगको नै एउटा विशेष रूप हो । फोबियाको अर्थ, हामीलाई थाहै छ, डर हो । डरको ग्रीक देउताको नाम फोबोस हो । उनैको नामबाट फोबिया वा फोबिक डिजार्डर आएको छ । यसमा मान्छे कुनै वस्तु, स्थिति वा कार्यबाट डराएको हुन्छ । यहाँसम्म कि व्यक्ति त्यो वस्तु, स्थिति वा कार्य गर्न चाहँदैन । हुनत फोबिया जे कुराको पनि हुन सक्छ र त्यही नामले फोबिया असङ्ख्य प्रकारको हुन सक्छ–जस्तै इस्लामोफोबिया, मासफोबिया, एक्जामफोबिया, आदि आदि । तर वैज्ञानिक आधारमा फोबिया तीन प्रकारको हुन्छ ः
१. एगेरोफोबिया
२. सोसलफोबिया र
३. स्पेसिफिक वा सिम्पल फोबिया
फोबियामा मान्छेको इनसाइट सुरक्षित हुन्छ, अर्थात् उसलाई थाहा हुन्छ कि फोबिया छ तर पनि आफ्नो डरमा नियन्त्रण गर्न सक्दैन । अब आउनुस् यी तीनै प्रकारको सङ्क्षिप्त वर्णन गरौंः
एगेरोफोबिया ः यो परिस्थितिप्रतिको फोबिया हो र सबैभन्दा बढी पाइन्छ । यसको शाब्दिक अर्थ हुन्छ भीडबाट डराउने । तर यस वर्गीकरणमा अरू धेरै कुरा पनि समावेश गरिएको छ । यस अन्तर्गत खुला वा बन्द ठाउँ, सार्वजनिक स्थल, भीडभाड भएको ठFउँ आदि ती सबै ठाउँ जसबाट रोगीले सुरक्षित निकास पाउँदैन–पर्छ । मेरा एकजना मित्र मसँगै पाल्पा गएका थिए । त्यहाँका अग्ला पहाड देखेर यति डराए कि श्रीनगर डाँडामा पनि एक पाइला चाल्न नसक्ने भए । त्यो उचाइको फोबिया थियो । उनलाई तुरुन्त सुरक्षित फर्काउन करै लाग्यो । किमजुङ इललाई हवाईजहाज सफरको फोबिया थियो । त्यस कारणले रूसले उनलाई सफर गर्नका लागि एउटा विशेष ट्रेन उपहार दिएको थियो, जसमा चढेर भर्खरै उनका छोरा किम जोङ उन रूस गएका थिए, यद्यपि उनलाई फोबिया छैन । यसमा मान्छेले आफ्नो बचावको कुनै बाटो देख्दैन र क्लासिकल पैनिक लक्षण देखिन्छ । मान्छेलाई रिङटा लाग्छ, मुटुको धडकन बढ्छ र अनुहार भयाक्रान्त हुन्छ तथा मान्छे बिस्तारै आफ्नो दैनिक कार्यलाई पनि सीमित पार्छ । अन्तमा उसले आफूलाई कोठामा बन्द राख्न थाल्छ । उसलाई आफ्ना एकदुई साथीमाथि मात्र विश्वास लाग्छ र तिनका साथ मात्र घरबाट बाहिर निस्कन्छ ।
सोसल फोबिया ः यसमा मान्छे कुनै पनि सामाजिक, प्रतिनिधिक र जनसमक्ष कार्यक्रम गर्न र भाषण दिन डराउँछ । उसमा अन्य प्रतिनिधि वा जनताले उपहास गर्छ भन्ने डर हुन्छ । यस्तो पहिलो प्रस्तुतिमा प्रायः सबैमा देखिन्छ । भनिन्छ गाँधीले पनि जनसमक्ष पहिलो भाषण दिन सकेका थिएनन् र काम्दै थचक्क बसेका थिए । साधारणतया पछिको भाषणमा सुधार हुन्छ तर सोसल फोबियाले पीडित मान्छेमा सुधार हुँदैन । प्रायः यस्ता मानिसमा रातो रंगप्रति पनि फोबिया देखिन्छ किनभने उसले रातो रंगलाई रगत देख्छ । यसलाई इरिथ्रोफोबिया भनिन्छ । फोबिया खाने कुराको पनि हुन्छ । यसको अतिरिक्त अपरिचित मानिससँग कुरा गर्न, डेटिङ, सार्वजनिक शौचालय प्रयोग गर्न पनि हुन्छ । त्यस्तो डर कम रोगीले प्रायः रक्सीको सहारा लिन थाल्छ ।
३. स्पेसिफिक वा सिम्पल फोबिया ः उपरोक्त दुवै फोबिया सरह यसमा भीड देखेर फोबिया हुँदैन, कुनै वस्तुबाट हुन्छ, जस्तै छुरा, चक्कू आदि । यसमा कुनै वस्तुबाट उत्पन्न फोबिया स्थायी हुँदै जान्छ र जहिले पनि त्यस वस्तुलाई देखेर वा सामना हुनेबित्तिकै मान्छे पैनिक र आतङ्कित हुन थाल्छ । बिस्तारै एउटा वस्तुबाट डराउने बानी उस्तैउस्तै अरू वस्तुबाट पनि डराउने हुन्छ । यस प्रकारको फोबियाले ग्रसित मान्छे त्यस्तो वस्तु देखेर तर्किने र दैनिक काममा बाधा उत्पन्न भएपछि पत्ता लाग्छ । यसमा एक्रोफोबिया, जुफोबिया, जिनोफोबिया, एल्गोफोबिया, क्लोस्टरोफोबिया आदि सीमाहीन रोग छन् । पहिलोको मतलब अग्लो ठाँउबाट डराउने, दोस्रोको जनावर बाट डराउने, तेस्रोको अपरिचितसित डराउने र चौथोको मतलब बन्द ठाउँसँग डराउने हो ।
फोबिया प्रायः आइमाईलाई दोस्रो दशकको अन्त अथवा तेस्रो दशकमा देखिन्छ । प्रायः यो एक्कासि र विनाकारण देखा पर्छ । बढ्दै गएर यसले दैनिक कार्यमा पनि अवरोध पैदा गर्छ । कहिलेकाहीं फोबिया आफैं समाप्त भएको पनि देखिएको छ ।
कारणः पाठकवृन्द स्मरण गर्नुस् गताङ्कमा मैले चिन्ताबारे बताएको थिएँ । मन चिन्ताबाट मुक्तिको लागि इगोलाई भन्छ र इगोले आफ्ना विभिन्न दूतहरू पठाउँछ जसका नाम हुन् –रिप्रेसन, कन्भर्सन र आइसोलेशन । तर फोबियामा इगोले पठाउने दुतको नाम हो डिस्प्लेसमेन्ट । यसको मतलब हुन्छ फोबिक वस्तुलाई हटाएर अथवा मिसप्लेस गरेर त्यस स्थानमा अर्को वस्तु राख्यो भने फोबिया हराउँछ । भान्सामा पस्नेबित्तिकै त्यहाँ राखेको छुराबाट यदि कोहीे डराउँछ भने भान्साबाट छुरा हटाएर चम्चा राखिदिनुस्, मान्छे डराउँदैन । उचाइसँग फोबिया छ भने उचाइलाई त डिसप्लेस गर्न सकिन्न, अतः बिरामीलाई नै डिसप्लेस गरेर समतलमा ल्याउनुपर्छ । फोबिया हराउँछ । विहेवियरल र वायलोजिकल सिद्धान्त यहाँ पनि चिन्ता जस्तै लागू हुन्छ ।
फोबियाको रोगीले यो महसूस गर्छ कि उसलाई फोबिया छ र उपचार जरूरी छ । खास गरेर जब रोगीलाई बारम्बार फोबिक अब्जेक्टसँग सामना हुन्छ, उसलाई चिन्ताले घेर्छ र उपचारको खोजीमा निस्कन्छ । यसको उपचार पनि मल्टिमोडेल नै हुन्छ अर्थात एउटा मात्रले काम चल्दैन । अतः साइकोथिरेपी, विहैवियरल थिरेपी, कग्निटिभ थिरेपी र औषधीय उपचार सबै गर्नुपर्छ । विहैवियरल थिरैपी अन्तर्गत– फ्लडिङ, सिस्टमेटिक डिसेन्सिटाइजेशन, एक्सपोजर र रेसपोन्स प्रिभेन्सन, रिलेक्सेसन टेक्निक आदि पर्छ । फ्लडिड्ढो के मतलब हो–बाथरूममा थोरै पानी हाल्नुस्, फोहोर जाँदैन । एक बाल्टीन हाल्नुस् सबै फोहर बग्छ । यही हो फ्लडिङ । सीमसीमे पानी प¥यो खरपात जहाँको त्यहीं रहन्छ । भुइँ बाफले तात्छ । तर रातभरि मुसलधारे पानी प¥यो भने बाढी आउँछ, सारा खरपात बगेर जान्छ । यही हो फ्लडिङ र बाढीलाई फ्लड नै भनिन्छ । छुराको फोबिया छ भने रोगी छुरा देख्नेबित्तिकै डराउँछ । चिकित्सकले रोगीलाई आफ्नो कोठामा बोलाएर नआत्तिनुस् म छु नि भनेर एक घण्टासम्म छुरा देखाउँछ । यही हो फ्लडिङ । केही सेसनपछि उसको सारा डर यस फ्लडिले बगाएर लग्छ र रोगी निको हुन थाल्छ । के हो सिस्टेमेटिक डिसेन्सिटाइजेशन ? योगीहरू गर्मीमा आगो ताप्छन् र जाडोमा बर्फमा हिंड्छन् । यही हो डिसेन्स्टिाइजेशन । यस कारण योगीलाई गर्मीमा कम गर्मी र जाडोमा कम जाडो हुन्छ । किसान भयङ्कर गर्र्मीमा पनि दिनभरी खेतमा काम गर्छ, हामी भने एक छिन पनि गर्न सक्दैनौं । किसान घामले डिसेन्सिटाइज भएको हुन्छ, हामी हुँदैनौं । त्यही हो कारण । यस्तै चिकित्सकले मानसिक रोगीलाई अनेक विधिले डिसेन्सिटाइज गर्छ, रोग कम गर्न । १९५० मा दक्षिण अफ्रिकी मनोचिकित्सक जोसेफ मोल्पीले यसको आविष्कार गरे । यसमा रोगीको भय वा चिन्ताको कारण झन् बढाउँदै लगेर रोगीको समक्ष प्रस्तुत गरिन्छ र सँगसँगै रिलेक्सेशन प्रविधि गराइन्छ । उदाहरणको लागि मानिलिनुस् कसैलाई गिद्धसँग डर लाग्छ । चिकित्सकले रोगीलाई पहिले गिद्धको वर्णन गर्न भन्छ । वर्णन गर्दागर्दै रोगी धेरै डिसेन्सिटाइज भइसक्छ । फेरि चिकित्सकले एउटा गिद्धको फोटो देखाउँछ । र लामोलामो सास लिन भन्छ । लामोलामो सास लिनु रिलेक्सेशन टेक्निक (विश्राम विधि) हो । डिसेन्सिटाइजेशनमा डरको एजेन्ट र रिलेक्सेशन टेक्निकको प्रयोग सँगसँगै गर्नु अनिवार्य हुन्छ । बारम्बार यस्तो गर्दा रोगी गिद्धको डरप्रति डिसेन्सिटाइज हुँदै जान्छ र केही सेसनपछि उसको डर हराउँछ । औषधीय उपचार अन्तर्गत ः बेन्जोडाइजिपीन र अल्प्राजोलम जो एन्टिफोबिक, एन्टिपैनिक र एन्टिएंग्जाइटिक सबै एक साथ हुन् र ड्रग अFफ च्वाइस हुन् । यसको अतिरिक्त अन्य अरू औषधि पनि छन् जसलाई डाक्टरले निर्णय गरेर दिन्छ ।