• राजेश मिश्र

मृत्युलोकदेखि यमलोकको दूरी ८६ योजन रहेको हिन्दू धर्मग्रन्थमा पाइन्छ । सोही यमलोकको यम अदालतमा परीक्षामा अनुत्तीर्ण न्यायाधीश नियुक्तिविरुद्ध सजायको मागदाबीसहित निवेदन दर्ता भएको थियो । मुद्दाको पहिलो पेसीमा यमराजद्वारा विभिन्न व्यक्तित्वहरूलाई अभियुक्त कायम गरी झिकाउने आदेश जारी भयो । अभियुक्तहरूलाई मृत्युलोकबाट यम अदालतमा हाजिर गराउने जिम्मेवारी यमदूतहरूलाई दिइयो ।

आजको कथानक आलेखमा प्रस्तुत स्थान, निकाय, पद र पात्रसँग मृत्युलोकको कुनै पनि देश, निकाय, पद वा पात्रको आचरण मेल खाएमा संयोग मात्र हुनेछ । यमदूत कसको खोजी गर्न मृत्युलोक गए ? यम अदालतको आदेशपत्रमा अभियुक्तहरू को को थिए ? अभियुक्तहरूको यमलोक यात्रा कस्तो थियो ? चित्रगुप्तले न्यायाधीशहरूकोे नियुक्तिविरुद्ध तथ्य र प्रमाणको रूपमा के कस्तो जिकिर प्रस्तुत गरे ?

अभियुक्तहरूको खोजी

यमराजको आदेश अनुसार यमदूत अभियुक्तहरूको खोजी गर्न मृत्युलोक प्रस्थान गरे । विभिन्न देशहरूमा खोजी भइरहेको थियो । खोज्दै जाँदा यमदूतको टोली हिमाल, पहाड, तराई, वनजङ्गल, मठमन्दिर, नदी–खोला आदि प्राकृतिक सुन्दरताले भरिपूर्ण भूलोकको एक देशमा पाइला टेके । आदेशपत्रमा उल्लिखित अभियुक्तहरूको नाम, उमेर, अनुहार, पद र पेशासँग मेल खाने पात्रहरू एकपछि अर्को गरी फेला पर्दै गए । यमदूतहरूले उनीहरूको तस्वीरसहित यमलोकमा सूचना सम्प्रेषण गरे । यम अदालतबाट पुष्टीकरणसहित उनीहरूको मृत्युवरणको तिथि, मिति र समयतालिका यमदूतहरूलाई पे्रषित गरियो ।

आदेश अनुसार यमदूत अभियुक्तहरूको मृत्युवरणको निर्दिष्ट समयको पर्खाइमा थिए । उनीहरू सुत्दा–उठ्दा वा घर–कार्यालय जहाँ गए पनि, यमदूत उनीहरूको अघिपछि हुन्थे । अन्ततः उनीहरूको प्राणहरण गर्ने निर्देशित मिति, तिथि र समय आयो ।

अभियुक्तहरू उक्त देशको न्याय क्षेत्रका दिग्गज व्यक्तित्वहरू थिए । उनीहरूमध्ये कोही उक्त देशको न्यायपरिषद्को अध्यक्ष पदमा पदासीन प्रधानन्यायाधीश त कोही सदस्य पदमा क्रमशः सङ्घीय कानून तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा नियुक्त गरेका कानूनविद्हरूका साथै बार एशोसिएशनको सिफारिशमा राष्ट्रपतिद्वारा नियुक्त २० वर्षको अनुभवप्राप्त अधिवक्तालगायत पदासीन उच्च पदभोगीहरू थिए । उनीहरूकै आशीर्वादले परीक्षामा अनुत्तीर्ण न्याय क्षेत्रका बहालवाला अधिकारीहरूले न्यायाधीश पदको नियुक्ति हात पारेका थिए ।

पूर्वआत्माहरूको बयान

यसअघि विभिन्न समयमा मृत्युवरण भई यमलोकमा विराजमान आत्माहरू जो मृत्युवरणअघि उक्त देशमा दलप्रमुख, प्रधानमन्त्री, सभामुख, सांसद आदि विभिन्न ओहोदामा विराजमान थिए । चित्रगुप्तको बहीखातामा उनीहरूको नाममा पाप कर्मका अनेकौं दृष्टान्तहरू अङ्कित थिए । दण्डको क्रममा ती आत्माहरूलाई उम्लिंदो तेलमा यमदूतहरूले हालेका थिए । त्यसपछि ती आत्माहरूले उक्त देशका विभिन्न उच्च पदस्थहरूको पोल खोल्न थालेका थिए । सोही क्रममा न्यायाधीश पदको खुल्ला परीक्षामा न्याय क्षेत्रका बहालवाला अधिकारीहरू अनुत्तीर्ण भए तापनि विभिन्न कानूनी अस्त्र प्रयोग गरी न्यायाधीश पदमा नियुक्ति पाएका दृष्टान्त चित्रगुप्तसामु बयान दिए । यो प्रकरण थाहा पाएपछि चित्रगुप्तले सो कार्यमा संलग्न व्यक्तित्वहरूविरुद्ध यम अदालतमा मुद्दा दायर गरेका थिए ।

अभियुक्तहरूको मृत्युवरण

दैवको लीला अनुसार फरकफरक स्थानमा अभियुक्तहरूको मृत्युवरण भयो । यद्यपि उक्त देशका सञ्चारमाध्यमहरूमा कालगति, ह्दयघात, उच्च मधुमेह/रक्तचाप र सडक दुर्घटना आदि विभिन्न कारणले उनीहरूको मृत्युवरण भएका समाचारहरू प्रकाशित भए ।

उक्त देशका विशिष्ट व्यक्तित्वहरूको एकसाथ मृत्युवरण भएकोले शोक बिदाका साथै धूमधामले उनीहरूको अन्तिम संस्कार गर्ने सूचना प्रकाशित भयो । ती मृतात्माहरूको आशीर्वचनले उपमार्ग प्रयोग गरी लाभ प्राप्त गर्ने अनेकौं पात्रहरू, जो श्मशानघाटमा नथाक्ने गरी उनीहरूको प्रशंसा गरिरहेका थिए । परिवारजनद्वारा उनीहरूको आत्माको चिरशान्ति तथा स्वर्गप्राप्तिको अभिलाषासहित १३ दिवसीय कर्मकाण्ड शुरू भयो ।

आत्मा यमदूतको कब्जामा

मृत्युवरणपछि अभियुक्तहरूको आत्मा यमदूतहरूको कब्जामा थियो । यद्यपि उनीहरूलाई आफूहरू अपहरणमा परेको भान भइरहेको थियो । धन, पद, पैसा र शक्तिसहित देश र समाजमा सम्मानित स्थान पाएका उनीहरूले मृत्युको कल्पना गर्ने कुरै थिएन । स्वभावतः अभियुक्तहरूले यमदूतसँग तर्क र बहस गर्न थाले । मन्त्रीको आत्माले गर्जिंदै यमदूतसँग तीखो प्रश्न ग¥यो, “तिमीहरू को हौ, हँ ? किन हामीलाई यसरी घेरामा हालेका छौ ?” मन्त्रीरूपी आत्माको कुरा नसकिंदै प्रधानन्यायाधीशको आत्माले गर्जिंदै भन्यो, “मानिसलाई अपरहण गर्नु कानूनतः अपराध हो । यसविरुद्ध तिमीहरूमाथि मुद्दा लाग्छ र सजाय हुन सक्छ, बुझ्यौ ?” उनीहरूको कुरामा समर्थन जनाउँदै न्यायपरिषद् सम्बद्ध पदभोगीहरूकोे आत्माले सेना र प्रहरीलाई खबर गर्न अनुरोध गरे ।

यम अदालतद्वारा अभियुक्त बनाइएका मृतात्माहरूले मोबाइल खोज्न थाले । तर भेटेनन् । किनभने न नश्वर शरीर थियो, न सुरक्षा दिने अङ्गरक्षक, न साथ दिने परिवारजन । न साथमा केही थियो, न साथ दिने कोही थिए । उनीहरू आश्चर्यचकित भए । त्यहाँ त उनीहरूले कहिल्यै नदेखेको धारिलो दाँत र खन्जरधारी राक्षसझैं डरलाग्दा अनेकौं स्वरूप उपस्थित थिए । अभियुक्तहरूको मनमा डर पैदा भयो ।

यमदूतले भने, “तिमीहरूको बारेमा हामीलाई थाहा छ । तर हामीहरू को हौं ? शायद तिमीहरूलाई थाहा छैन ।” आफूहरूभन्दा माथि पनि कोही होला भन्ने कुरा अभियुक्तहरूले पत्याउने कुरै थिएन । नडराएको अभिनय गर्दै उनीहरू एकसाथ यमदूतमाथि हाबी हुँदै गर्जिए, “के तिमीहरूलाई थाहा छ, हामीहरू कानून बनाउने र कानून प्रतिपादन गर्ने जमात एकसाथमा छौं ? र तिमीहरूलाई हदैसम्मको सजाय सुनाउन सक्छौं ।” मन्त्रीको आत्माको आदेशमा प्रधानन्यायाधीशको आत्माले तुरुन्त कारण देखाऊ आदेश जारी गर्यो । ती मृतात्माहरूले यमदूतहरूसामु थरीथरीका कानूनी धारा र उपधाराहरूको व्याख्या गरी तर्साउने दुस्साहस गर्न थाले ।

यमदूतहरूले पत्र देखाउँदै भने, “तिमीहरूको नाममा यम अदालतबाट समन जारी भएको छ । यमराजवादी मुद्दामा तिमीहरू विपक्षी छौ । यद्यपि त्यहाँ प्रतिवाद गर्न भने पाइँदैन । किनभने देउता चित्रगुप्तको बहीखातामा मृत्युलोकवासीहरूको पाप र पुण्यको हरेक हिसाबकिताब अङ्कित हुन्छ । सोही बमोजिम सजाय निर्धारण हुन्छ । तत्पश्चात् स्वर्ग, नर्क वा पितृलोकमा पठाउने चलन छ । त्यस कारण मानिसको पापको घडा भरेपछि यम अदालतबाट सीधैं समन जारी हुन्छ र अभियुक्तहरूले यम अदालतमा हाजिर हुनुको विकल्प हुँदैन,” भन्दै यमदूतहरू खन्जर लहराउन थाले ।

यमदूतहरूको हुङ्कार सुनेपछि अभियुक्तहरूको अहङ्कारको पारा एकाएक तल झ¥यो । उनीहरूको कण्ठ अवरुद्ध मात्र भएन, अपितु निस्स्वर भए । उनीहरूको मुद्रा बिरालोले लखेटिरहेको मुसाभन्दा कयौं गुणा बढी त्रसित देखिंथ्यो । शायद उनीहरू एकअर्काको मुहार हेरी आफूहरूको मृत्युवरण भएको सङ्केत गरिरहेका थिए । यसअघि ओहोदाको दम्भ र उन्मादमा रहेका उनीहरूले आफ्नो मृत्युवरण भइसकेको सत्य बल्ल पत्याए । अदृष्टफल पाइने मनोभाव उनीहरूको मुहारमा प्रस्ट झल्किरहेको थियो ।

यमलोकको यात्रा

८६ हजार योजन (तीन लाख ८४ हजार किमी) यमलोकको यात्रा शुरू भयो । यमदूतहरूको घेरामा अभियुक्त ती आत्माहरू अघि बढिरहेका थिए । मार्गमा सल्किरहेको आगो, विषधारी नाग, मलमूत्रजन्य दुर्गन्धपूर्ण नदीका साथै थरीथरीका बाधासँग सामना गर्दै यात्रा जारी थियो ।

अचानक उनीहरूले पछाडिबाट धक्का महसूस गरे । अन्ततः यमलोकको दक्षिणी द्वारबाट उनीहरूको प्रवेश यमलोकमा भयो । अदृष्टपूर्व वातावरण हेरेर उनीहरू बेस्सरी त्रसित भए । भाँतीभाँतीका अस्त्रधारी डरलाग्दा यमदूतहरू चारैतिर घुमिरहेका थिए । यसअघि मृत्युवरण गरेर यमलोक आइपुगेका चिरपरिचित आत्माहरूले विभिन्न यातना खेपिरहेका दृश्यले उनीहरू हक्क न बक्क भए । कोही उम्लिरहेको तेलको कुवामा थिए ।

यम अदालतमा हाजिर

यमराज मुख्य आसनमा र मानिसहरूका गुण–अवगुण, पाप–पुण्य आदिको बहीखाता लेख्ने १४ यममध्येका चित्रगुप्त आफ्नो आसनमा विराजमान थिए । मृत्युलोकभन्दा फरक प्रकृतिको यम अदालत छ, जहाँ एउटै इजलासमार्फत यमराजद्वारा मृतात्माहरूको न्यायसम्पादन हुने गर्छ । यमदूतहरूले अभियुक्त आत्माहरूलाई यम अदालतमा उपस्थित गराए । यम अदालतको कटघरामा उनीहरू शिर निहुराएर निस्स्वर खडा थिए ।

चित्रगुप्तले बहीखातामा अङ्कित उनीहरूको पाप र पुण्यको पाना पल्टाउन थाले । विवरण प्रस्तुत गर्दै भने, “हे यमराज १ यिनीहरूको पुण्यको खाता न्यून र पापको खाता विकराल छ । भएजतिको पुण्यको खाता पछिल्लो न्यायाधीशहरूको नियुक्ति प्रकरणले शून्यमा झरेको छ । परिषद्को माग बमोजिम उक्त देशको लोकसेवा आयोग भनिने निकायले जिल्ला न्यायाधीशको लागि रिक्त ३८ मध्ये २९ पदका लागि खुल्ला परीक्षा लिएको थियो । २११ जना सहभागी उक्त परीक्षामा एकजना उत्तीर्ण र २८ जना अनुत्तीर्ण भएका थिए । यसै सेरोफेरोमा निम्न प्रकरणहरूमार्फत विषय अवगत गराउन चाहन्छु ।”

प्रकरण नं १ : परीक्षाफल प्रकाशित भए लगत्तै न्यायपरिषद्को बैठकले २८ जना न्यायाधीशलाई न्यायसेवामा बहाल अधिकृतहरूमध्ये छानीछानी नियुक्त ग¥यो । त्यसमा १५ जना लोकसेवा आयोगको परीक्षामा अनुत्तीर्ण तथा १३ जनाले परीक्षा नै दिएका थिएनन् ।

प्रकरण नं २ : परीक्षामा अनुत्तीर्ण भनेको उत्तीर्ण कदापि होइन । परीक्षा दिएको पदमा अनुत्तीर्ण भएका व्यक्ति सो पदको लागि अयोग्य हो भन्ने सर्वमान्य सिद्धान्त हो । खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेको अवस्थामा अर्को विज्ञापन प्रकाशित गर्नुपर्नेमा सोविपरीत आन्तरिक पद बढुवा गरियो । अतः न्याय क्षेत्रमा परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई न्यायाधीश बनाउनुपर्ने अवस्थाले उत्तीर्ण र अनुत्तीर्णको मानक खतरामा परेको देखिन्छ ।

प्रकरण नं ३ : (मृतात्माहरूमध्ये एकजनालाई इङ्गित गर्दै) न्यायपरिषद्का सदस्यसमेत रहेका सङ्घीय कानून तथा न्याय मन्त्रीको मापदण्ड भने फरक देखिएको छ । परीक्षामा उत्तीर्ण र अनुत्तीर्ण भन्ने खोजबीन नगरी ‘योग्यतम’ छानिएको भन्ने न्याय क्षेत्रको उच्च निकायको अभिव्यक्ति विडम्बनाको पराकाष्ठा हो ।

प्रकरण नं ४ : न्यायपरिषद्को वरीयता क्रममा २१औं क्रममा रहेका र बाँकी २० जनालाई पछाडि पारेर हाल नियुक्त हुनेहरूको नामावलीमा पाँचौं वरीयतामा परेका एक सरकारी वकीललाई न्यायाधीश बनाउने प्रस्ताव गरेर कानूनमन्त्रीले आफूलाई लगाएको गुन तिरेको आरोप लागेको छ ।

यहाँनेर कस्तो गुन भन्ने प्रश्नको उत्तरमा उक्त देशका विभिन्न समाचार, तथ्य र प्रमाणको आधारमा विचार गर्दा अहिले पाँचौं वरीयतामा नियुक्त भएका सरकारी वकील, जो यी अभियुक्त आत्मा (कानूनमन्त्री)को क्षेत्रमा निर्वाचन अधिकृत थिए । निर्वाचनमा धाँधली भएको उजूरी पर्दासमेत उनले मन्त्रीको पक्ष लिएर मतगणना अघि बढाएको र नतीजा सार्वजनिक गरेको गुन तिर्न उनलाई वरिष्ठता मिचेर न्यायाधीश बनाइएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

यद्यपि मन्त्रीले भने आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका रूपमा अडान लिएकाले उनको न्यायिक क्षमता देखिएको दाबी गर्छन् ।

प्रकरण नं ५ : उक्त देशको बार एशोसिएशनले न्यायाधीश नियुक्ति पक्षपाती भएको भन्दै त्यसको विरोध गरेको समाचारपत्र यम अदालतमा प्राप्त भएकोे छ । उनीहरूले परीक्षामा अनुत्तीर्ण भएकालाई परिषद्ले बर्सेनि न्यायाधीश बनाउँदै आएको र अधिवक्ताहरूलाई रोक्ने खेल भएको भन्दै परीक्षा प्रणालीमैं सुधार गरेर उत्तीर्ण हुनेलाई मात्र न्यायाधीश नबनाएसम्म यो अवस्था आइ नै रहने वक्तव्यहरू प्राप्त भएका छन् । भागबन्डामा आधारित नियुक्ति बन्द नभएसम्म  न्यायालयप्रति घट्दो जनआस्था नबढ्ने उनीहरूको तर्क छ ।

फैसला

यमराजले भने, “चित्रगुप्तद्वारा प्रस्तुत पाप–पुण्यको बहीखाता, जिकिर, तथ्य, प्रमाण र मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा खुल्ला परीक्षामा अनुत्तीर्ण भएका प्रतिस्पर्धीहरूलाई न्यायाधीश पदमा नियुक्त गर्नु ठीक कि बेठीक ? भन्नेतर्फ निर्णय गर्नुपर्ने देखियो ।

न्यायप्रणालीभित्र कुनै पनि बहानामा दुष्प्रवृत्ति अङ्कुरित हुनुहुँदैन । यसको अलावा उच्च ओहोदाधारीहरूद्वारा भए गरेका कामको प्रभाव/कुप्रभाव तल्लो तहसम्म सर्ने हुँदा नियमविरुद्धको कार्य किमार्थ गर्नुहुन्न । उत्तीर्ण र अनुत्तीर्णको मानकलाई प्रभावित तुल्याउने कार्य स्वीकारयोग्य हुन सक्दैन । भविष्यमा अन्य क्षेत्रमा पनि कुप्रभाव पर्ने हुँदा सचेत हुन जरुरी छ । कुनै पनि देशको मेरुदण्ड न्याय क्षेत्र हो । त्यस कारण न्याय क्षेत्र सदा स्वच्छ, निष्पक्ष र स्वार्थरहित हुनुपर्छ । प्रभावमा पारेर वा प्रभावमा परेर न्यायाधीश जस्तो गरिमामय र विश्वसनीय पदमा न कसैले नियुक्ति पाउनुपर्छ, न कसैले कसैको नियुक्त गर्नुपर्छ ।

न्यायाधीश जस्तो पदमा अनुत्तीर्ण प्रतिस्पर्धीहरूलाई नियुक्ति गर्दा विकसित भइरहेको मानकले परीक्षाको औचित्य नै समाप्त हुने र गलत नजीर स्थापित हुने भन्ने उक्त देशका नागरिक समाजको चिन्ता उद्धृत गर्दै चित्रगुप्तले गरेको जिकिर अकाट्य छ । तसर्थ, प्रस्तुत तथ्य र प्रमाण हेर्दा अभियुक्तहरूमाथि लागेको आरोप नाजायज छैन । तोकिएबमोजिम सजाय कार्यान्वयन गर्नु गराउनु । निर्णयको प्रतिलिपि नर्क विभागमा पठाइदिनू । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here