कुनै पनि देशको अर्थतन्त्र राम्रो हुन त्यो देशको आम्दानी स्रोत बलियो हुनुपर्छ । यसका लागि उत्पादन बढाउँदै वस्तु र सेवा बिक्री गर्ने प्रतिस्पर्धी क्षमता मजबूत चाहिन्छ । स्वदेशी उत्पादनमा लागत कम हुनुपर्छ । अहिले नेपाली अर्थतन्त्र समस्यामा पर्नुको प्रमुख कारक चुलिंदो व्यापार घाटा र वैदेशिक मुद्राको घट्दो सञ्चिति हो । मुद्रा सञ्चिति घट्नुको कारण व्यापार घाटा नै हो । चालू आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक दुई महीनामा मुलुकले रु दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रु २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । सो अनुसार मुलुकले दुई महीनामा रु दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा बेहोरेको छ । तथ्याङ्क अनुसार बितेको आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वस्तुको आयात ५.६ प्रतिशत र निर्यात ७.७९ प्रतिशतले घटेको छ । आयातको तुलनामा निर्यात निकै बढी घटेको देखिन्छ । राष्ट्रिय अर्थतन्त्रका लागि यो सकारात्मक सङ्केत होइन ।

हामीले तेस्रो मुलुकभन्दा पनि आफ्नै छिमेकी मुलुक भारत र चीनसँग पनि व्यापार घाटा बेहोरिरहेका छौं । भारतको तुलनामा चीनसँग व्यापार घाटा कम छ । नेपालले दक्षिणी छिमेकी भारतसँगको व्यापार घाटा नौ खर्ब रुपैयाँ बेहोर्दा उत्तरी छिमेकी चीनसँगको व्यापार घाटा सवा दुई खर्ब बेहोर्नुपरेको देखिन्छ । आव २०७९/८० मा भारतबाट १० खर्ब २७ अर्ब चार करोडको आयात गर्दा नेपालले एक खर्ब सात अर्ब छ करोडको मात्रै वस्तु–सेवा निर्यात गरेको देखिन्छ । यस्तै आव २०७८/७९ मा भारतसँग १० खर्ब ४४ अर्ब ९३ करोड व्यापार घाटा थियो भने चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड रुपियाँ व्यापार घाटा थियो । नेपालको वैदेशिक व्यापार शुरूदेखि सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य देश भएपछि पनि निर्यात गर्ने वस्तु संरचनामा खासै परिवर्तन आएको छैन । आव २०७८/७९ मा नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपियाँ थियो । आव २०७८/७९ मा कुल निर्यातको हिस्सा ९.४३ प्रतिशत थियो । आव २०७९/८० मा निर्यात कुल व्यापारको ०.८ प्रतिशतमा सीमित भयो । निर्यातमा कमी आउनु दुःखद विषय हो ।

निर्यात बढ्न देशमा निर्यातयोग्य वस्तुको उत्पादन हुनुपर्छ, त्यो पनि उच्च प्रतिस्पर्धी क्षमतासहित । कम मूल्यमा उच्च गुणस्तरका वस्तु उत्पादन गर्न सक्नुपर्छ । तर हामीसँग अहिले त्यो क्षमता देखिंदैन । ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट अनुसार, विश्वका १४१ देशमध्ये प्रतिस्पर्धाको हिसाबले नेपाल १०८औं क्रममा पर्छ । व्यापार घाटा कम गर्नका लागि नेपालले निर्यातका आधार पहिचान गर्न सक्नुपर्छ । त्यसैगरी, आफ्नो मुलुकका लागि अति आवश्यक सामग्रीहरू मुलुकभित्रै उत्पादन गर्न सक्नुपर्छ । हाल हाम्रो मुलुकले निर्यात गर्ने वस्तुमा धागो, ऊनी गलैंचा, जुट उत्पादन, तयारी पोशाक, जुस, उलन फेल्टका उत्पादन, चिया, कुकुरको आहार, पश्मिना सल, कपडा, चाउचाउ, रोजिन र टर्पेनटाइन, जडीबुटी, नेपाली हाते–कागज, अदुवा र जुत्ता–चप्पल आदि छन् । जल, जङ्गल र जडीबुटीबाट निर्यातजन्य वस्तु खासै उत्पादन गर्न सकिएको छैन । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना एवं जीर्ण उद्योगको  संरक्षण र पुनस्र्थापनामा सरकार अग्रसर हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here