प्रस, वीरगंज, ८ असोज/
पर्साका अधिकांश स्थानीय तहले आव २०७९/८० मा बाँकी रहेको रकम फिर्ता नगरेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले बजेट रोक्का गरेको समाचार छ । रोक्का राखिएका स्थानीय तहहरू पोखरिया, बहुदरमाई नगरपालिका, जगरनाथपुर, धोबिनी, पकाहामैनपुर, सखुवाप्रसौनी,  कालिकामाई गाउँपालिका रहेको कोलेनिकाले जनाएको छ ।

चालू आव २०८०/८१ को लागि सङ्घ तथा प्रदेश सरकारले मातहतका कार्यालयहरूलाई बजेटको अख्तियारी पठाए पनि पर्साका आठवटा स्थानीय तहको बजेट अहिलेसम्म रोक्का रहेको कोलेनिकाले जनाएको छ ।

सबै स्थानीय तहले वार्षिक बजेट तयार गरे पनि गत वर्षको बजेटको हिसाब नदिएका स्थानीय तहको चालू आवको बजेट रोकिएको कोलेनिकाले जनाएको छ ।

प्राप्त जानकारी अनुसार अहिलेसम्म वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, विन्ध्यवासिनी, छिपहरमाई, पटेर्वासुगौली गाउँपालिकाले बाँकी रकम फिर्ता गरेका कारण उनीहरूको बजेट कोलनिकाले पठाएको छ । १४ वटा स्थानीय तहमध्ये आठवटाको बजेट रोकिएको हो ।

बहुदरमाई नपाले तीन करोड ३७ लाख, पर्सागढी नपाले एक करोड ५७ लाख, जगरनाथपुर गापाले एक करोड ७२ लाख, पटेर्वासुगौली गापाले दुई करोड ४३ लाख, धोबिनी गापाले दुई करोड ५२ लाख, पोखरिया नपाले तीन करोड २८ लाख, कालिकामाई गापाले दुई करोड ९२ लाख रकम फिर्ता गर्नुपर्ने सो कार्यालयले जनाएको छ ।

गत आवमा नेपाल सरकारले वीरगंज महानगरपालिकालाई एक अर्ब ५२ करोड, पोखरिया नपालाई ३६ करोड २२ लाख, पर्सागढी नपालाई ३२ करोड ९४ लाख, बहुदरमाई नपालाई ३९ करोड ६१ लाख, छिपहरमाईलाई २९ करोड १९ लाख, जगरनाथपुरलाई ३१ करोड ६६ लाख, धोबिनीलाई २३ करोड ९७ लाख, पकाहामैनपुरलाई २२ करोड ३४ लाख, पटेर्वासुगौलीलाई २९ करोड ८३ लाख, विन्ध्यवासिनीलाई २५ करोड ३९ लाख, सखुवाप्रसौनीलाई ३५ करोड ३८ लाख, कालिकामाईलाई २४ करोड १५ लाख र जीराभवानी गाउँपालिकालाई २७ करोड ४५ लाख रकम पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here