प्रस, परवानीपुर, ३१ भदौ/

भारतबाट आयात गरिने पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन व्यवसायीहरूले माग गरेका छन् । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोजकुमार दासका अनुसार गत वर्ष पुसको पहिलो साता भाडा बढाउने विषयमा सरकारले २०८० साउन मसान्तभित्र भाडा बढाउनेबारेमा हेर्ने भनेर वचन दिएकोमा भदौ मसान्त बितिसक्दा पनि पेट्रोलियम पदार्थ ढुवानीका लागि सञ्चालन खर्च वृद्धि गरेको छैन ।

उनले भारतको बरौनीबाट अमलेखगंजसम्म पेट्रोल ढुवानी गर्दा पहिलेको ढुवानी भाडामा विविध खर्चहरू वृद्धि भएकाले नेपाल सरकारले त्यसमध्ये थोरै सञ्चालन खर्च दिइरहेकोले आफूहरूलाई घाटा भइरहेको जानकारी गराए ।

अहिले बरौनीबाट तीन दिन लगाएर पेट्रोलको ट्याङ्कर अमलेखगंज आएपछि नेपाल सरकारले सम्पूर्ण खर्चबापत रु ७० हजार तीन सय भाडा दिने गरेको छ । जसमध्ये चालकको खुराकी प्रतिखेप १४ हजार, बिहार सरकारको मासिक प्रवेश शुल्कबापत चार हजार, रक्सौल आइसिपीमा रु दुई हजार ९९, टोल ट्याक्स प्रतिखेप रु २५ सय २८, डिजेल खर्च २३ हजार ४५० गरी करीब ४५ हजारभन्दा बढी खर्च हुने आउने गरेको छ ।

साउन बितेपछि नेपाल आयल निगमका अधिकारीहरूलाई पटक–पटक सञ्चालन खर्च बढाउन ताकेता गर्दा पनि ढुवानी भाडामा सञ्चालन खर्च बढाउन कुनै पहल नगरेको उनले आरोप लगाए । तीन/चार दिनमा एक खेप गर्दा ट्याङ्करबाट आम्दानीभन्दा खर्च बढी परेकोले यस विषयमा सरकार गम्भीर भएर सोच्नुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here