वाशिङ्टन, ३१ भदौ/एएफपी

लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या विरोधाभासपूर्ण आइरहेका बेला पूर्वी शहर डेर्नामा मात्र ११ हजार तीन सयजनाले ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

लिबियाको रेड क्रिसेन्टलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसङ्घले अद्यावधिक गरेको विवरण अनुसार उक्त शहरका १० हजार एक सयजना अझै बेपत्ता छन् भने डेर्नाबाहेक अन्यत्र १७० जनाको मृत्यु भएको छ ।

खोज तथा उद्धार टोली पीडितलाई जीवित फेला पार्ने आसमा हिलोमा खनिखोस्री तथा भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको उक्त विश्वसंस्थाले बताएको छ । यसअघि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अधिकारीहरूले तीन हजार ९९८ जनाको शव भेटिएको जनाएका थिए ।

गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुईवटा बाँध भत्केपछि बाढीले गाउँँशहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिंदैन । सामाजिक सङ्घसंस्थाका प्रतिनिधि हिलोमा पुरिएका लाश निकाल्न र तिनको व्यवस्थापनमा व्यस्त छन् । डेर्नामा मानवीय अवस्था भयावह रहेको तथा पिउने पानीको गम्भीर समस्या भएको उद्धारकर्मीहरूले बताएका छन् । 

बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरवारविहीन भएका आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले गत शुक्रवार बताएको थियो । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शव मात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार १९० जनाको अन्त्येष्टि गरिएको जनाइएको छ ।

यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुईवटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here