- विश्वराज अधिकारी
अमेरिकाको सडक व्यवस्थालाई दुर्ई किसिमले विभाजित गरिएको छ । पहिलो किसिमलाई ‘स्ट्रीट’ भन्ने गरिन्छ भने दोस्रो किसिमलाई ‘हाइवे’ भन्ने गरिन्छ । स्ट्रीट वा स्ट्रीटहरू शहरभित्र निर्माण गरिएका हुन्छन् भने हाइवे वा हाइवेहरू शहरबाहिर निर्माण गरिएका हुन्छन् ।
शहरभित्रका स्ट्रीटहरूमा आवागमन गर्ने सवारीसाधनहरूलाई व्यवस्थित एवं नियन्त्रित गर्न ट्रफिक लाइटको व्यवस्था गरिएका हुन्छन् । ट्राफिक लाइटले यातायातका साधनहरूको आवागमन व्यवस्थित एवं नियन्त्रित गर्ने कार्य गर्छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको फोटो खिच्ने कार्य ट्राफिक लाइटमा जडान गरिएका क्यामराहरूले गर्छन् । स्ट्रीटहरूमा सवारीसाधनहरूको सङ्ख्या, पैदलहरू सडकमा हिंड्न सक्ने अवस्था आदि हेरेर फरकफरक स्ट्रीटमा फरकफरक गति सीमा निर्धारण गरिएको हुन्छ । स्ट्रीटहरूमा सवारीको गति प्रतिघण्टा २० देखि ४० माइल हुन सक्छ । यो व्यवस्था राज्य अनुसार फरकफरक पनि हुन सक्छ ।
तर हाइवे वा हाइवेहरूमा गुड्ने सवारीसाधनहरू नियन्त्रित एवं व्यवस्थित गर्न ट्रफिक लाइटको व्यवस्था गरिएको हुँदैन । निर्धारित गतिमा स्वतन्त्र किसिमले गुड्नका लागि हाइवेमा गुड्ने गाडीहरूलाई स्वतन्त्र छाडिएको हुन्छ । कुनै पनि किसिमको अवरोधविना हाइवेमा स्वतन्त्र किसिमले गाडीहरू गुड्ने व्यवस्था मिलाइएको हुन्छ । हाइवेको एकातिरबाट दुई वा सोभन्दा बढी गाडीहरू जाने र अर्काे तर्फबाट दुर्ई वा सोभन्दा बढी गाडीहरू आउने व्यवस्था मिलाइएको हुन्छ । हाइवे प्रायः चार वा सोभन्दा बढी लेन (गाडी गुड्न छुट्याइएको बाटो) भएका हुन्छन् ।
विना कुनै रोकटोक तीव्र गतिमा गाडी चलाएर चालक वा यात्रीहरूलाई गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्य हाइवे सेवामा राखिएको हुन्छ । सोही व्यवस्थाअनुरूप हाइवेमा चालकहरूले तोकिएको गति सीमामा रहेर तीव्र गतिमा गाडी चलाउने गर्छन् । हाइवेमा प्रायः न्यूनतम ४० माइल र अधिकतम ७० माइल प्रतिघण्टा गाडी चलाउन पाउने भनी सवारीको गति–सीमा तोकिएको हुन्छ ।
हाइवेमा गाडी चलाउँदा चालकहरूले ट्राफिक नियमको पालना गरिरहेका छन् वा छैनन् भन्ने कुराको सुनिश्चितता गर्न ट्राफिक प्रहरी परिचालित गरिएको हुन्छ । प्रहरीहरूले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई समात्ने र जरिवाना तोक्ने कार्य गर्छन् । प्रहरीहरूले प्रत्येक हाइवेमा निगरानी राखेका हुन्छन् । र यो निगरानी नित्य र निरन्तर किसिमले हुन्छ ।
स्ट्रीटमा गुडिरहेको गाडीलाई हाइवेमा प्रवेश गर्नका लागि र हाइवेमा गुडिरहेको गाडीलाई स्ट्रीटतिर ल्याउनका लागि विशेष किसिमको बाटो बनाइएको हुन्छ । हाइवेबाट बाहिर निस्किने द्वार वा बाटोको नम्बरसमेत तोकिएको हुन्छ र त्यसलाई निस्कासन नम्बर (भ्हष्त लगmदभच) भन्ने गरिन्छ । यसैगरी, हाइवेमा गुडिरहेको गाडीले हाइवेबाट बाहिर निस्केर कुनै शहरमा प्रवेश गर्दा त्यो शहर प्रवेश गर्ने निस्कासन नम्बर प्रयोग गरेर अर्थात् तोकिएको निस्कासन नम्बरहरू प्रयोग गरेर बाहिर आउन सक्छ । शहरको स्ट्रीटबाट हाइवेमा प्रवेश गर्ने मार्गलाई ‘रेयाम्प’ भन्ने गरिन्छ । सर्भिस रोड पनि भन्ने गरिन्छ ।
अति नै जोखिमयुक्त स्थिति परेमा, प्रहरीले रोकेमा, सवारी बिग्रेमा, कुनै आपत्कालीन स्थित देखिएमा बाहेकको स्थितिमा हाइवेमा गाडी रोक्न पाइँदैन । हाइवेमा गाडीहरू गुडिरहनुपर्छ, रोक्न पाइँदैन ।
अमेरिकामा टोल सडक वा टर्न प्वाइन्टहरू पनि हुन्छन् । टोल रोड प्रयोग गर्नका लागि शुल्क तिर्नुपर्छ । अर्थात् टोल सडकहरू प्रयोग गर्दा प्रयोगकर्ताले टोल सडक प्रयोग गरेबापत सम्बन्धित निकायलाई शुल्क भुक्तान गर्नुपर्छ । भुक्तानी लिनका लागि कर्मचारीहरू सडकमा नै तर व्यवस्थित किसिमले अफिस खडा गरेर बसेका हुन्छन् । टोलको शुल्क क्रेडिट कार्डबाट पनि भुक्तान गर्न सकिन्छ । र त्यस्तो अवस्थामा टोल प्रयोग गरेको अभिलेख सडकमाथि निर्माण गरिएको भित्ता वा पोलहरूमा राखिएका क्यामराहरूले गर्छन् ।
अमेरिकाका हाइवेहरूको नाम यस प्रकार छन् । आई २, आई ४, आई ५, आई ८, आई १०, आई ११, आई १२, आई १४, आई १५, आई १६, आई १७, आई १९, आई २०, आई २२, आई २४, २५, आई २६, आई २७, आई २९, आई ३०, आई ३५, आई ३७, आई ३९, आई ४०, आई ४१, आई ४२, आई ४३, आई ४४, आई ४५, आई ४९, आई ५५, आई ५७, आई ५९, आई ६४, आई ६५, आई ६६, आई ६८, आई ६९, आई ७०, आई ७१, आई ७२, आई ७३, आई ७४, आई ७५, आई ७६, आई ७७, आई ७८, आई ७९, आई ८०, आई ८१, आई ८२, आई ८३, आई ८४, आई ८५, आई ८६, आई ८७, आई ८८, आई ८९, आई ९०, आई ९१, आई ९३, आई ९४, आई ९५, आई ९६, आई ९७ र आई ९९ । यी हाइवेहरूले अमेरिकाका अनेक राज्यहरूलाई जोड्ने कार्य गर्छन् । हाइवेको निर्माण सडकमा गाडी दौडिंदा कम समय लागोस् भन्ने रहेको हुन्छ ।
अमेरिकाका हाइवेहरूमा परेको बेलामा वा आपत्कालीन स्थितिमा विमानहरू पनि अवतरण गर्न सक्छन् भन्ने हल्ला वा गफ पनि सुन्ने गरिन्छ । तर यो कुरा सत्य नभएको सम्बन्धित निकायले प्रस्ट पारेको छ । तर एउटा कुरा के सत्य हो भने अमेरिकाका हाइवेहरू निकै फराकिला हुने गर्छन् र लामो दूरीसम्म प्रायः सोझो हुन्छन् । अर्थात् बाङ्गाटिङ्गा हुँदैनन् ।