• कुमार रुपाखेती

राजनैतिक दलहरूले प्रत्येक भाषणमा छाती फुलाएर राजतन्त्र फाल्यौं भनी फलाक्न छाडेका छैनन् । प्रजातन्त्र आएको तीन दशकभन्दा बढी भयो । यत्रो लामो अवधिमा यिनले जाबो साम्प्रदायिकता, छुवाछूत, भेदभाव, बोक्सीप्रथा, मिटरब्याजी र भ्रष्टाचारीहरूलाई तह लगाउन सकेका छैनन् भने यस्ता आँट नभएका जमातले दर्हो जरा गाडेको राजतन्त्रलाई कसरी पाखा लगाए होलान् भन्ने शङ्का–उपशङ्का उठ्नु स्वाभाविक हो । मलाई त के लाग्छ भने नेपालको राजतन्त्रलाई विदेशी शक्तिहरूले छलछाम गरेर हटाए र कम्युनिस्ट र काङ्ग्रेसलाई सशर्त सत्तामा ल्याए । त्यसैले वर्तमान नेपाली शासकहरू जनतामा हाहाकार मचाएर छिमेकी विदेशीहरूलाई रिझाउन तल्लीन देखिन्छन् । मुलुकको आर्थिक अवस्था दिनानुदिन खस्कँदो छ भने नेताहरूको रवाफ उपल्लो स्तरको देखिन्छ । भारतीय मिडियाहरूका अनुसार–‘नेपाली जनता भारत के विरोध में और नेपाली शासक भारत के पक्ष में’ । प्रचण्ड, रामचन्द्र पौडेलहरूले समेत तपसील बमोजिम गर्छौ भन्ने वाचा गरेपछि मात्र उच्च पद हासिल गरेका हुन् भन्ने आरोप पनि छ । भारत नेपालको हितैषी हो र भारत नेपालको विरोधी हो भन्ने दुवै खालको सोच नेपालमा झन्डै बराबरी हुन थालिसक्यो । ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ गर्नेहरू पनि यहाँ छन् । जसले नेपाललाई शान्ति क्षेत्र बन्नबाट रोक्यो, जसले हाम्रो लिपुलेक र कालापानी खोस्यो, आफ्नो राय अनुसार संविधान घोषणा गर भन्यो, त्यो भारत कसरी हाम्रो लागि राम्रFे हो ? यो मेरो व्यक्तिगत विचार हो । यसैबीच भएको वीरेन्द्र राजाको वंश विनाश अर्को महत्वपूर्ण घटना हो ।

अहिलेको युगमा शासनको केन्द्रमा राजतन्त्र पटक्कै नसुहाउने कुरा हो भनिन्छ । के संसारका अन्य मुलुकमा राजतन्त्र छैन ? कतिपय राजतन्त्र शासित मुलुकहरू नेपालभन्दा निकै विकसित, आर्थिकरूपमा बलियो अनि शक्तिशाली छिमेकी राष्ट्रहरूसँग आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा छन् । हामी गणतन्त्रवादीहरू झिनामसिना घटनामा समेत छिमेकीको राय र आदेश कुर्छौं । प्रचण्ड छिमेकी रिझाएर सत्ता टिकाउने तिकडममा व्यस्त छन् भने विपक्षीहरू प्रचण्डको चुग्ली (कुरा) लगाएर सत्ता हात पार्ने दाउमा छन् । अचेल बजारमा हाकाहाकी भनिन्छ– हाम्रा प्रधानमन्त्री र राष्ट्रपति मात्र होइन, महत्वपूर्ण मन्त्रालयको मन्त्रीको छनोटसमेत उतैबाट हुन्छ रे । सत्ताको यो लुछाचुँडीमा जनताको बेहाल छ । महँगी, कालोबजारी, भ्रष्टाचार उच्च बिन्दुमा छ । हिजो ज्ञानेन्द्रपुत्र पारसले तथानाम गरेर जति बदनामी कमाए अहिलेका नेतापुत्रले पारसको कान काटेका छन् । अधिकांश गणतन्त्रवादी नेताका छोराहरूको नाम तस्करी र देशद्रोहसँग जोडिएको छ । कतिपय महान् भनिनेहरू जेल पुगेका छन् र तिनलाई चोख्याउने चोरबाटोको खोजी हुँदैछ । उपरोक्त घटना र गणतन्त्रवादीहरूको चरित्र देख्दा नेपालको राजतन्त्र यिनका बदौलत नभई विदेशी चलखेलले, विदेशी स्वार्थले अपदस्थ भएको हो । यिनका यस्तै रवैयाले गर्दा राजनीति तलसम्मै घिनलाग्दो खेल र मनपरी गर्ने अस्त्र बनेको छ । जाबो काठमाडौंको मेयरले सिंहदरबार जलाइदिन्छु, चोर सरकार भनी हुँकार गर्दासमेत सबै तैं चुप मैं चुप छन् । बालेन राजा र उनकी पत्नी रानीको अवतारमा छन् । जिम्मेवारी वहन गर्ने क्रममा ट्राफिकले बालेन–पत्नी सवार गाडी रोक्दा उनले ठूलै बबाल मचाए । शायद बालेनलाई सिंहदरबारको औकात थाहा छ । अनुशासनहीनता र असुरक्षा यति बिघ्न डरलाग्दो छ कि एउटा राजावादीले राजधानीमा दिनदहाडै काङ्ग्रेसका सहमहामन्त्रीलाई खुकुरीले छप्काइदिए, बिचरा यादव बाल–बाल बचे । पातलो बालेन साहले त मोटो पारस शाहभन्दा चर्को बोले । पारस त कारबाहीमा समेत परे, बालेन कहिले ?

हाम्रो वीरगंज पनि महानगर हो । राजेशमान मेयर छन् । केही दिन अघि राधेमाईतिर भेट हुँदा राजेशमानले तपाईं मेरो विरोधमा लेख्ने, मैले तपाईंको लेखको सबै कटिङ सचिवालयमा राखेको छु भन्दै दम्भ गरे । राजेशमान कुन युगका मान्छे हुन् । श्री ३ को पालाको कि श्री ५ को पालाको । उनलाई शायद गणतन्त्र नेपालमा छु भन्ने हेक्का छैन भने म हेक्का दिलाउन चाहन्छु । नेपालका महानगरहरूमध्ये सबैभन्दा विवादित र बदनाम महानगर हो वीरगंज । महानगरको भद्रगोलताबारे सबै जिम्मेवारी राजेशमानको हो । खाने पिउने राम चोट पाउने श्याम यो राजेशमानको नीति हो । सार्वजनिक जीवनमा यो घिसापिटा नीति चल्दैन । एउटा भाषणमा मेयर सिंह आफैंले महानगरमा भ्रष्टाचार छ भनेका छन् । म त भन्छु हाम्रो महानगरमा महाभ्रष्टाचार छ । श्री ३ र श्री ५ को पाराले पालिका चलाउने दिन गयो भनी यिनलाई कसले सम्झाउने ? अझैं पनि खजाना खोज्दै यिनी माईराम पोखरीको फोहर पानीमा डुबुल्की मार्दैछन् । म त अन्त्यमा यही सल्लाह दिन्छु– स्थानीय निर्वाचनताका वीरगंजको शान राजेशमान भनिन्थ्यो, वर्तमानमा वीरगंजको अपमान राजेशमान भन्नु नपरोस् । मलाई थाहा छ बलेको आगो ताप्ने जमातले तपाईं घेरिनुभएको छ, यी कुरा पचाउन तपाईंलाई गार्हो पर्ला । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here