- राजेन्द्रप्रसाद कोइराला
बिपी कोइराला क्यान्सरबाट ग्रसित भएको अवस्थामा गणेशराज शर्माले उनीसँग गरेका कुराकानी र वार्तालापमा आधारित ‘राजा, राष्ट्रियता र राजनीति’ पुस्तकमा उनी कति दूरदर्शी थिए भन्ने कुरा कल्पना पनि गर्न सकिन्न ।
बिपी कोइरालाले सालाखाला ४० वर्ष सक्रिय राजनीति गर्नुभयो । विसं २०३३ देखि २०३७ सम्म (राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्केपछि) उनको विभिन्न कुराकानी र वार्तालापमार्फत व्यक्त गरिएका उद्धरणलाई विभिन्न किसिमले व्याख्या र विश्लेषण गरी अहिलेको पुस्तालाई बुझाउनु अत्यन्त जरुरी छ ।
विषय प्रवेश
त्यस बेलाको विश्व राजनीति दुर्ई धारमा बाँडिएको थियो– साम्यवाद (युएसएसआर) र पूँजीवाद (युएसए) । हाम्रा दुर्ई छिमेकी मुलुकको अवस्था पनि दयनीय नै थियो । त्यस्तो अवस्थामा देशको सार्वभौमसत्ता जोगाउन बिपीले लिएको साहसिक राजनीतिक निर्णयलाई अभूतपूर्व र अविश्वसनीय नै मान्नुपर्छ । त्यो समय जुन बेला हिन्दूस्तानले सिक्किमलाई विलय गरिसकेको थियो । उनको अटुट विश्वास थियो कि राजतन्त्रलाई अनादर गरियो भने देशको अस्तित्व नै रहनेछैन । उनको त्यो अदम्य निर्णयले गर्दा नै आज हामी नेपाली भएर शिर ठाडो पार्न सकेका छौं । त्यो बेलाको विश्व परिदृश्य दुई सैद्धान्तिक विचारधारामा बाँडिएको थियो भने भारतमा इन्दिरा गाँधीको आफ्ना सबै छिमेकीलाई आफ्नो वर्चस्वमा राख्ने अभीष्टता थियो ।
देशको वस्तुस्थितिको बारेमा उनले गरेको व्याख्या
राष्ट्रियताको सवालमा साथीहरूले ढिलोगरी बुझेकामा उनस् भन्छन्, “म रहुन्जेल मेरा साथीहरूलाई अनावश्यक निर्धक्कता छ कि बिपी छँदै छ नि । त्यसले गर्दा साथीहरूले जति जिम्मेवारी लिनुपर्ने हो, लिन नसकेकाले जनतामा चेतना जगाउन ढिला भइरहेको छ ।” उनी राष्ट्रियताको सवालमा राजासँग मेरो घाँटी जोडिएको छ भन्थे । राष्ट्रिय एकतालाई बाँध्न सक्ने तत्व नै राजा, राष्ट्रियता र प्रजातन्त्र हो । यस नीतिमा हामी अड्न सक्यौं भने हाम्रो एकतालाई कसैले पनि टुटाउन र फुटाउन सक्दैन । राजनीतिको पहिलो शर्त नै स्वतन्त्रता हो । आफूलाई लागेको कुरा बोल्न नपाउने हो भने प्रजातन्त्र या स्वतन्त्रताको कुनै अर्थ नै बाँकी रहँदैन । देशमा विभिन्न राजनीतिक दलका बीचमा स्वस्थ प्रतिस्पर्धा होस्, आआफ्ना विचार र सिद्धान्तलाई लिएर उनीहरू जनतामा जाऊन् र जनताले जसलाई विजय गराउँछ, त्यही दलले शासन गरोस् । त्यो पो प्रजातन्त्र हो । त्यो बेलाको समयमा पनि बिपीको समावेशी विचार र व्यवहारमा एकरूपता देखिन्छ । त्यसको उदाहरण १७ महीना उनले नेतृत्व गरेको मन्त्रिमण्डलको नामकरण हेर्दा स्पष्ट हुन्छ ।
उनी जमीनको उत्पादनको विषयमा यस्तो विचार राख्छन्, “जमीन जसले जोत्छ, उसैको हुनुपर्ने हो तर यो काम त्यति सजिलो छैन, अहिलेको अवस्थामा । यो कुनै नीति र योजना तथा दूरदर्शी सोचविना हचुवाको भरमा गरिने काम होइन । जेजस्तो भएपनि जमीनको उत्पादन जसरी पनि बढाउनु नै राज्यको लामो समयको योजना हुनुपर्छ ।” उनी भन्छन्, “जमीनको उत्पादन बढाउन कुलोनालाको व्यवस्थापन र मलखादको व्यवस्था हुनु जरुरी हुन्छ । घना जङ्गल र नदीनालाहरू हाम्रा देशका ठूला सम्पत्ति हुन् । यसको विकास गर्न सके देशको कायापलट नै हुन सक्छ ।” त्यस बेला नै उनका यस्ता दृश्यावलोकनहरू थिए । उनी भन्छन्, “उद्योगधन्दाहरूका लागि चाहिने खनिज पदार्थहरूको खोज हाम्रो देशमा भएको छैन । यसको बारेमा हामी अहिले सोच्न सक्दैनौं । हामो स्रोत नै जल, जमीन, जङ्गल र जनश्रम (कम्युनिस्टहरूले बिपीको यो वाणीलाई सापट लिएका हुन्) हो । विकासका योजनाहरू बनाउँदा यी चार तत्वलाई हामीले ध्यान राख्नु जरुरी छ ।” उनले त्यस बेला नै सूर्य र पानीबाट ऊर्जाको विकास गर्न सकिने कुरा उल्लेख गरेका थिए । उनी आफ्नो विचार राख्दै अगाडि भन्छन्, “युरोप र अमेरिकाको प्रविधिले हामीलाई फाइदा हुन सक्दैन, यसको अन्धाधुन्ध आयातले देशको ठूलो रकम बाहिर जान्छ र यसले देशलाई टाट पल्टाउँछ । त्यसैले हामीले आफ्नो देश अनुसारको खोज र अनुसन्धान गरी देश सुहाउँदो प्रविधिको विकास गर्न सक्नुपर्छ ।” यसबाट स्पष्ट हुन्छ कि अनुसन्धान र विकासको लागि उनको चिन्तन त्यो बेलाको समयमा कति अविश्वसनीय लाग्छ । “गाँस, वास, कपास, शिक्षा र स्वास्थ्य प्रारम्भिक आवश्यकताहरू हुन्,” उनी थप्छन्, “यी कुराहरू हाम्रै मुलुकमा प्राप्त स्रोत साधनहरूको आधारमा पूरा हुनु जरुरी छ ।”
त्यस बेला कम्युनिज्मको वर्चस्वले पूर्वी युरोपलाई ढाकिसकेको थियो । फ्रान्स जस्तो देश पनि यसको प्रभावबाट अछूतो रहन सकेको थिएन, जसको उपस्थिति फ्रान्सको संसद्मा पनि थियो । नेपालका त्यस बेलाका कम्युनिस्टहरू (उनीहरू रूसी कम्युनिस्टबाट प्रभावित भएको अवस्था थियो)बारेमा बिपी भन्छन्, “यहाँका कम्युनिस्टहरूसँग मेरो मतभेद दुर्ई/तीन कुरामा मात्र छ । उनीहरू रूसबाट सञ्चालित नहुन र अर्को बहुदलीय व्यवस्थामा विश्वास राखून् ।” यही विचारबाट प्रभावित भएर मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तलाई परिमार्जित गरेका थिए । मदन भण्डारीले पनि बिपीको विचारलाई आत्मसात् गर्दै आफ्नो जबज सिद्धान्तलाई प्रतिपादन गरेका थिए भन्दा कुनै अन्याय हुन्छ जस्तो मलाई लाग्दैन ।
बिपी फेरि भन्दै जान्छन्, “यी दुर्ई कुरा उनीहरूले माने अरू मतभेदहरू त्यति ठूला होइनन् । त्यो बिस्तारै हट्दै जान्छ,” अति उच्च सोच राख्दै उनी अगाडि भन्छन्, “सरकारमा उनीहरू आए पनि अरू दलको स्वतन्त्रतालाई स्वीकार गरी आउँछन् भने उनीहरूसँग मेरो धेरै ठूलो मतभेद रहनेछैन ।”
राजा, राष्ट्रपति र प्रधानमन्त्रीको प्रसङ्गमा उनी राजाको महत्व राष्ट्रको सार्वभौमिकताको लागि कति जरुरी छ भन्ने यस भनाइबाट प्रस्ट गर्छन्, “समाजवाद र राजतन्त्र जसरी स्वीडेनमा सँगै चलिरहेको छ, त्यसैगरी हाम्रोमा पनि अगाडि बढाउन सकिन्छ । राजा असल भए भने चुनावबाट आएको सरकारलाई सजिलो हुन्छ । चुनिएर आएका राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा शक्ति सङ्घर्ष हुन सक्छ र यसले मुलुकलाई कमजोर बनाउने कुरामा दुर्ई मत रहँदैन ।” फ्रान्समा त्यस बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको सङ्घर्षले यस प्रसङ्गमा बिपीलाई झस्क्याएको प्रस्ट देखिन्छ साथै भारतमा पनि डा राजेन्द्र प्रसाद, त्यस बेलाका राष्ट्रपति र प्रधानमन्त्री जवाहरलाल नेहरूबीचको शक्ति सङ्घर्ष सतहमैं देखिएको थियो । यसैबबाट हामीले अनुमान गर्न सक्छौं कि कसैको सोचमा नभएको कुरा कसरी उनले सोच्थ्ये । त्यसैले त उनलाई उनका विरोधीहरूले नै उनको मृत्युपछि महामानवको उपमा दिएका थिए ।
अधिनायकवादबाट सशङ्कित हुँदै उनी भन्छन्, “हिटलर पनि चुनावबाटै आएका हुन, त्यस कारण हामीले त्यो स्थिति हाम्रो देशमा नआओस् भनेर कम्युनिस्टहरूलाई एउटा सीमित सीमामा राख्न सक्नुपर्छ र काङ्ग्रेसले राजाको अस्तित्वलाई सधैं स्वीकार गर्दै अघि बढेन भने काङ्ग्रेसको अस्तित्व मेटिन सक्छ ।” अहिलेको प्रसङ्ग हेर्दा शेरबहादुर देउवाले माओवादी–काङ्ग्रेस बनाइसके । २०६२/६३ को दोस्रो जनान्दोलनपछि गिरिजाप्रसाद कोइरालाले माओवादीहरूलाई ‘स्पेस’ दिएदेखि नै काङ्ग्रेस खिइँदै गएको अवस्था छ । झन् अहिलेको स्थानीय चुनावमा भएको गठबन्धनले त काङ्ग्रेसलाई रसातलमैं पुर्याउँछ जस्तो छ ।
अन्त्यमा यतातिर पनि सोच्ने हो कि, सातवटै प्रदेशमा बिपी अध्ययन केन्द्र
सम्पूर्ण राजनीतिक दल तथा नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइराला, डा मिनेन्द्र रिजालजस्ता विद्वत्वर्गले साथै नेपाली काङ्ग्रेसले निर्णय गर्दै बिपी अध्ययन केन्द्रलाई सातवटै प्रदेशमा स्थापना गरी बिपीको आदर्शलाई आजका युवाहरूमाझ र आउँदो पुस्तालाई दीक्षित गर्दै अगाडि बढ्न सके अबको २० वर्षपछिको पुस्ता कति सभ्य, शालीन, दूरदर्शी, इमानदारका साथै सिद्धान्तनिष्ठ हुने थिए होला ।
बिपीले करीब ४० वर्ष सक्रिय राजनीति गरे । त्यसमध्ये विसं २०३३ देखि २०३७ सम्मको अवधिलाई लिएर बिपीका समर्थक वा विरोधी कसैको पनि एउटै दृष्टिकोण रहेको पाइँदैन । समय बित्दै गएपछि महापुरुषहरूलाई हेर्ने दृष्टिकोणमा भिन्नता बढ्दै जानु प्राकृतिक नियम नै हो । भगवान्को अवतार मानिएका राम, कृष्ण, जिसस क्राइस्ट, पैगम्बर मोहम्मदलगायतका विषयमा त भक्तजनहरूबीच एउटै दृष्टिकोण पाइँदैन । भक्तजनहरू आफैं लडाइँ गरिरहेका छन् ।