यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ नेपालमा ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाइयो । हरेक वर्ष सेप्टेम्बर १० मा ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाइन्छ । हाम्रो मुलुकमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको छैन । पछिल्लो एक दशकमा ५६ हजारभन्दा बढी मानिसले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै सात हजारजनाले आत्महत्या गरेका थिए । आव २०६९/७० मा ४,५०० जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९/८० मा सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था हो । विज्ञहरूका अनुसार आत्महत्या मानसिक स्वास्थ्य समस्या हो । आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै सङ्केत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिन्छ । सङ्केत देखाउँदाकै अवस्थामा घरपरिवार, समाज, राष्ट्र वा अरूले वास्ता गरेर रोकथामका उपाय गरे आत्महत्याबाट बचाउन सकिन्छ । ज्यान जोगिएपछि मानसिक रोगको चिकित्सकीय उपचार पनि सम्भव छ ।

आफ्नो हत्या आफैंद्वारा गर्नुलाई आत्महत्या भनिन्छ । मनमा असह्य हुनेगरी पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ । अनि पीडाबाट मुक्ति पाउन आत्महत्याबाहेक कुनै विकल्प छैन भन्ने सोच बलियो हुँदै गएपछि उसले आत्महत्याको बाटो रोज्छ । पीडाबाट मुक्तिका लागि आत्महत्याबाहेक अरू पनि बाटाहरू छन् भन्ने ज्ञान वा चेत भर्न सकेमा व्यक्तिलाई आत्महत्याबाट जोगाउन सकिन्छ । आफ्ना सन्तानको वियोगमा आत्महत्या रोज्न खोज्ने आमाबुबालाई मर्नुभन्दा असहाय बालबालिकाको सेवा गरेर ती बालबालिकामा आफ्ना सन्तान मुस्कुराएको हेर्नु उचित हुन्छ भन्ने सुझाव पाएपछि आत्महत्याको बाटो छाडेका थिए । सन्तान गुमाएका आमाबुबाहरू जो अवसादको औषधि सेवन गर्नुपर्ने अवस्थामा पुगेका थिए । पर्वतका छत्रबहादुर केसी दम्पतीले अकाल रोगले कसैको ज्यान नजाओस् भन्दै गाउँमा अस्पताल बनाइदिए । त्यसैगरी, दाड्ढा प्रदीपराज शर्माले कराते खेलाडीहरूको अभिभावकत्व लिए भने विराटनगरका बद्रीविक्रम थापाले उत्कृष्ट प्रहरी पुरस्कार स्थापना गरेर प्रहरी सेवामा रहेका सबैलाई आफ्नो सन्तान सम्झे । यी यस्ता उदाहरण धेरै भएपनि उनीहरूको कथा–व्यथा एकै किसिमका छन् । जवाफ एउटै– “सन्तानको वियोगमा, संसार अँध्यारो देख्न थालेपछि आत्महत्या गर्ने निर्णयमा पुगिसकेका थियौं ।” आज समाजसेवाको क्षेत्रमा उनीहरूको नाम र सम्मान छ । समयमा पाएको परामर्शबाट यो सबै सम्भव भएको हो ।

 मनमा उदासी छाउनका लागि जे पनि बहाना बनिदिन्छ । एउटै कुरा समय, परिस्थिति र अवस्था अनुसार बुझाइ फरक पर्न सक्छ । एउटै प्रकृतिको घटनामा कसैलाई थोरै प्रभाव र कसैलाई धेरै प्रभाव पर्नुको कारण पनि यही हो । परिवारका सदस्यको पहरेदार उनकै परिवारका सदस्यहरू हुन् । एकले अर्कोको दिनचर्या, व्यवहारलाई निगरानी राख्ने गरेमा कसैले आत्महत्या गर्न लागेको रहेछ भन्ने थाहा हुन्छ । थाहा पाएपछि सकारात्मक परामर्श दिएर रोक्न सकिन्छ । त्यसपछि मनोचिकित्सककहाँ लैजानु छँदैछ । यसको निम्ति हरेक परिवारका सदस्यलाई सचेत गराउन जरुरी छ । जसको निम्ति सरकारले प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here