प्रस, वीरगंज, २५ भदौ/

वीरगंज महानगरपालिका–१ धाँगडटोल (शान्तिटोल)स्थित ऐलानी जग्गा स्थानीयले कब्जा गर्न थालेका छन् । 

शान्तिटोलमा वर्षौंदेखि स्थानीयहरूले सार्वजनिकरूपमा हकभोग गर्नुका साथै बच्चाहरू खेल्ने मैदानको रूपमा प्रयोग हुने सो जग्गामा भूमाफियाहरूले कब्जा जमाएका छन् ।

स्पष्टरूपमा ऐलानी जग्गा लेखिए पनि माफियाहरूले आफ्नो नियन्त्रणमा लिई बेच्ने थालेका स्थानीय शेख मुन्नाले बताए । सोही ठाउँमा रहेको प्रहरी चौकी भकुवा सङ्कटकालको समयमा स्थानान्तरण भई अन्यत्र गएपछि प्रहरी चौकीको जग्गासमेत अन्यले व्यक्तिले कब्जा जमाए पनि जिल्ला प्रहरी कार्यालय, पर्सा मौन छ ।

महानगरभित्र रहेका सार्वजनिक जग्गाहरूको रेखदेख गर्ने जिम्मेवारी जनप्रतिनिधिहरूको भएपनि उनीहरूकै भूमाफियासँग मिलेमतो रहेको स्थानीयको आरोप छ ।

सार्वजनिक स्थल कब्जा गरी स्थानीय नुरआलम चुरिहारले ठूलो तथा भव्य घर बनाएका छन् ।

वडा कार्यालयले २०७९/१०/२६ गते  सार्वजनिक जग्गामा घर बनाउन रोकेको पत्र दिए पनि चुरिहारले केही जनप्रतिनिधिहरूको आडमा घर निर्माण गरिसकेको स्थानीय मुन्नाले बताए ।

सिनं ३८९/२४ को कित्ता नम्बर ३५० मा निजी जग्गा रहेको तर चुडिहारले कित्ता नं ३४२ को ऐलानी जग्गा मिचेर घर बनाएपछि सो टोलका युवाहरूले आज विरोध गरे ।

युवाहरूले विरोध प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा हालेपछि घटना बाहिरिएको हो ।

घटनालाई लिएर स्थानीयले पटक–पटक नगरप्रमुख राजेशमान सिहसँग पनि भेटेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here