जीतपुर उपमहानगरपालिकाका स्थानीय जनताले उपमहानगरपालिकाअगाडि फोहर फालेर नगरपालिकाले एक हप्तादेखि फोहर नउठाएको कुराको विरोध गरेका छन् । उपमहानगरपालिकाको वडा नं ७ मा एक हप्तादेखि फोहर सङ्कलन भएन, बजार–बस्ती दुर्गन्धित भयो भनेर विरोधस्वरूप स्थानीयले आफ्नै साधनद्वारा फोहर सङ्कलन गरेर नगरपालिका कार्यालयअगाडि थुपारिदिएको समाचारमा आएको छ । तर नगरपालिकाले के कारणले फोहर उठाएन, फोहर उठाउने सन्दर्भमा स्थानीयले के कति सहयोग गरे वा गरेनन् भन्ने कुरा आएको छैन । यहाँ कुरा उठाउन खोजिएको विषय हो, विरोधको शैली । फोहर थुपारेर विरोध गर्ने शैली सम्भवतः वीरगंज महानगरपालिकाबाट शुरू भएको हो । स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सरकारका प्रतिनिधिले स्थानीय तह हाँक्दा, महानगरपालिकालाई तिर्नुपर्ने शुल्क नतिरेकोले विकास निर्माणका काममा अप्ठ्यारो भयो भन्दै तिनताका कृषि सामग्री संस्थानअगाडि फोहर थुपारेर फोहरशैलीको सुरुआत भएको थियो । त्यसपछि पनि वीरगंज महानगरपालिकाले केही खास कारणले फोहर थुपारेर कार्यालयलाई आफ्नो दायित्वप्रति सच्चिन सङ्केत गर्दै नेपाल दूरसञ्चार संस्थानको प्रादेशिक कार्यालय परिसरभित्र फोहर थुपारिदिएको थियो ।

फोहर थुपारेर विरोध जनाउनु विरोधको स्वस्थशैली होइन, तर हामीकहाँ कुनै कुराको पनि विरोध नकारात्मक शैलीमा गर्ने संस्कार नै बसिसकेको छ । यद्यपि अहिले त्यस्ता गतिविधिहरूमा न्यूनता आएको छ । तर विगत हेर्ने हो भने राजनीतिक आन्दोलन हुँदा सडक भत्काउने, पुलमा क्ष्Fति पु¥याउने, रूखबिरुवा उखेल्ने, फूटपाथ भत्काउने, आगो लगाइदिने, सवारीसाधनमा तोडफोड गर्ने, सडकजाम गर्नेजस्ता घटनाहरू सामान्य मानिन्थे । यो काम कसले गथ्र्यो त ? त्यो जनता नै हुन्थ्यो । जनताले यो काम आफू बस्ने ठाउँबाहेक अन्यत्र गएर गर्दैनथ्यो । वीरगंजको जनताले यस्तो विरोध गर्दा वीरगंजकै पूर्वाधारहरूमा क्षति पुर्याउँथ्यो । वीरगंजको जनता कलैया, जीतपुर वा अन्यत्र गएर विरोध प्रदर्शन गर्दैनथ्यो । अर्थात् आफैंले आफ्नो पूर्वाधारमा क्षति पुर्याउँथ्यो । पछि तिनै पूर्वाधारहरू निर्माण भएन भनेर पुनः अर्को विरोध हुन्थ्यो । यसरी आफ्नै हातले आफूलाई क्षति पुर्याउने कामलाई सद्दे दिमागको उपज त कदापि मान्न सकिन्न । तसर्थ नेपाली जनताले जबसम्म विरोधको यो नकारात्मक शैली परिवर्तन गर्दैन, विरोधबाट पनि भोलिको निर्माण हुने शैली खोज्दैन, देश बिगार्नु र बनाउनुमैं अल्झिरहन्छ ।

कथा त धेरैपटक भनिसकिएको हो तर पनि यहाँ सान्दर्भिक भएकोले पुनरावृत्ति गर्न खोजिएको छ । एकपटक जापानमा एउटा जुत्ता बनाउने कम्पनीमा हडताल भयो । मजदूरहरूलाई व्यवस्थापन पक्षसँग केही रुष्टता थियो । उनीहरूले हडताल गरे । तर काम गर्न रोकेनन् । उनीहरूले तोडफोड गरेनन्, घेराउ गरेनन्, नारा–जुलूस वा विरोधका प्रचलित कुनै काम गरेनन् । उनीहरूले काम गर्दागर्दै विरोध गरे । विरोध पनि कस्तो भने व्यवस्थापन आफैं हैरान भएर उनीहरूको माग पूरा गर्न तत्पर भयो । जुत्ता कारखानाका मजदूरहरूले एउटा खुट्टाको मात्र जुत्ता बनाइरहेका थिए । व्यवस्थापनले जुत्ता बेच्नै पाएन । हार खाएर मजदूरहरूको माग पूरा गर्यो । यो विरोधको यस्तो शैली थियो, जसले मजदूरहरूको माग पूरा भयो, कारखानाको पनि केही बिग्रेन । हामी पनि यस्तै शैली खोजौंन ! विरोध होस् तर सार्वजनिक सम्पत्तिमा क्षति नपुगोस्, आफैंले आफ्नो बिगार्नु नपरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here