प्रस, वीरगंज, २४ भदौ/
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशमा उद्योगधन्दा नफस्टाएसम्म समृद्धि नआउने बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाउन लागेको वाणिज्य नीतिको मस्यौदाबारेमा आइतवार वीरगंजमा आयोजित प्रदेशस्तरीय छलफलमा उनले सो कुरा बताएका हुन् । उनले देशमा अहिले आर्थिक रूपान्तरणको आवश्यकता रहेको बताउँदै यसप्रति सबै सरोकारवाला इमानदारीसाथ आफ्नो क्षेत्रमा अगाडि बढ्नुपर्ने बताए ।
देशलाई समृद्ध बनाउनका लागि राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक रूपान्तरण नभएसम्म सो कार्य अधूरै रहने उनले जिकिर गरे । उनले जनताको आवश्यकता पूरा होस् भनेरै देशमा दुईपटक संविधान संशोधन गरिएको तर सरकार र जनताबीचमा असहयोगको द्वन्द्व जारी रहँदा समस्या जस्ताको त्यस्तै देखिएको बताए । मन्त्री रिजालले सरकारले उद्योगीहरूको समस्या समाधान नगरेकोले अहिले नेपालमा व्यापार घाटा बढिरहेको बताए । उनले सरकारले शुरूदेखि उद्योगीहरूको समस्या समाधानतर्फ चासो नदेखाएको परिणाम अहिलेको व्यापार घाटा बढेको बताए । उनले गठबन्धन सरकारको उद्देश्य पनि फरकफरक पार्टीअनुरूप भएकोले आफूले चाहेर पनि केही गर्न नसकिरहेको स्वीकारेका थिए । उनले यसका लागि एकै दलको स्थायी सरकारको आवश्यकता रहेको जिकिर गरे । उनले अहिले बन्न लागेको वाणिज्य नीतिले केही हदसम्म व्यापारीहरूको समस्या सम्बोधन हुने दाबी गरे ।
मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले सरकारले ‘गूड गर्भनेन्स’को हल्ला फैलाएर उद्योगीहरूलाई दुःख दिएको आरोप लगाए । उनले उद्योगीको काममा प्रक्रियागत ढिलाइ हुने गरेको र सो कार्य सरकारको अघोषित गुण्डागर्दी भएको आरोप लगाए । उनले सरकारले कच्चा पदार्थ ल्याउनेसँग चर्काे भन्सार र तयारी सामान ल्याउनेसँग कम भन्सार शुल्क लिनुले यहाँका उद्योग–व्यवसायको भलो नहुने बताए । उनले स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रोत्साहन गर्ने कार्य पनि नगरिएकोले समृद्धि सम्भव नभएको जिकिर गरे । उनले अर्थ मन्त्रालयमा अहिले पनि खुलेआम कर्मचारीहरूले घूस लिने गरेको आरोप लगाए । उनले अर्थ मन्त्रालयमा हुने घूसखोरीलाई सरकारले रोक्न पहल गर्नुपर्ने बताए ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंज क्षेत्रलाई नाम मात्रको औद्योगिक क्षेत्र भनिएको तर आधिकारिकरूपमा सरकारले अहिलेसम्म घोषणा नगरेकोमा आपत्ति जनाए । उनले उद्योग–व्यापारमाथि दर्जनौं कानून लादिएकाले उद्योगहरू बन्दको अवस्थामा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले राज्यको नीति यस्तै रह्यो भने उद्योगहरू बन्द गरी उद्योगीहरू राजनीतिमा लाग्ने चेतावनी दिए । उनले पछिल्लो समय नेपालमा उद्योग–व्यवसायहरू धराशयी हुँदै गएका र ठूला व्यापारिक घरानाहरू पनि राजनीतिक व्यापारमा लागेको बताए । उनले आर्थिक मन्दीमा काठमाडौंबाट आएको आन्तरिक राजस्वको टोलीले वीरगंजमा आतङ्क मचाएको आरोप पनि लगाए । अध्यक्ष टेमानीले राजस्व टोलीले उद्योगी– व्यवसायीहरूको घरघरमा पुगेर जेलमा हाल्ने जस्तो धम्की दिने गरेको र यो आतङ्कको माहोलमा बाहिरबाट लगानी भिœयाउने परै जाओस् भएका लगानीहरू पनि बाहिरिने खतरा रहेको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासनीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, शिवजीप्रसाद कलवार, उवासङ्घ सिमराका अध्यक्ष मोहन लामिछानेलगायतले मन्तव्य राखेका थिए ।