• अनन्तकुमार लाल दास

बालबालिकाहरूमा अपार सम्भावना लुकेको हुन्छ । ती सम्भावनाहरूलाई उजागर गर्ने जिम्मेवारी आमाबुबा, शिक्षक र समाजको हो । वैश्वीकरण र बजार केन्द्रित व्यवस्थाले यस जिम्मेवारीलाई सहज बनाउन सघाएको छ भने अर्कोतिर शिक्षा क्षेत्रमा केही वर्षयता देखिएको बेरोजगार केन्द्रित शिक्षा पद्धतिले बालबालिकाहरूको स्वतन्त्र विकासमा अवरोध खडा गर्ने मात्र नभई उनीहरूको बाल्यकाल नै गुम्ने अवस्थामा पुर्याएको छ । हालका दिनहरूमा आएका नयाँ प्रविधिले निम्त्याएका समस्या र पालनपोषणमा देखिने नयाँनयाँ विकृतिहरूको समाधानका लागि बालबालिकाहरूसँग निरन्तर लोकतान्त्रिक संवाद हुनु आवश्यक देखिएको छ । प्रस्तुत आलेखमा यसबारे अभिभावकवर्ग र समाजमा बहस चलाउन मात्र खोजिएको हो ।

बालबालिका सबैका लागि प्रिय हुन्छन् तर उनीहरूलाई कसरी हुर्काउने सम्बन्धमा अभिभावक शिक्षा हाम्रो देशमा छैन । जन्मिएपछि आफैं हुर्कन्छन् भन्ने सोच समाजको रहेको छ । वर्तमान परिवेशमा आफैं हुर्कन्छन् भनेर काम चल्दैन । तरीका पुर्याएर हुर्काउनुपर्छ । उनीहरूको मनोविज्ञान बुझेर हुर्काउनुपर्छ । उनीहरूलाई राम्ररी बुझेर मात्र व्यवहार गर्नुपर्छ । यहाँनिर के प्रश्न उठ्छ भने उनीहरूको मनोविज्ञान कसरी बुझ्ने ? मनोविज्ञान बुझ्ने दुईवटा तरीका अपनाउन सकिन्छ । पहिलो सैद्धान्तिक र दोस्रो व्यावहारिक । सैद्धान्तिक ज्ञानबेगर व्यावहारिक हुन गाहो हुन्छ । सैद्धान्तिक ज्ञानका लागि पुस्तक पढ्नुपर्ने हुन्छ । इन्टरनेट खोतल्नुपर्छ । युट्युब खँगाल्नुपर्छ किनभने सूचनाको युगमा सैद्धान्तिक ज्ञान हासिल गर्न कठिन छैन मात्र चाहना हुनुपर्यो । धेरै मानिसको जीवनी पढेर पनि बालबालिकाहरूको मनोविज्ञान बुझ्न सकिन्छ तर व्यावहारिक ज्ञान लिन त्यति सजिलो छैन । व्यावहारिक ज्ञानका लागि प्रयोग गर्नुपर्यो । प्रयोगात्मक ज्ञानका लागि सर्वोत्तम उपाय बालबालिकाका कुरालाई ध्यान दिएर सुन्नुपर्यो । उनीहरूलाई सावधानीपूर्वक नियाल्नुपर्यो ।

नेपाल हिन्दू बाहुल्य राष्ट्र भएकोले यहाँका प्रायःजसो मानिसहरूलाई भगवान् श्रीकृष्णको बाल्यकालबारे अवश्य नै थाहा होला । हामी सबैले श्रीकृष्णले गरेका चकचकलाई “लीला” भन्ने गरेका छौं तर आफ्नै बालबालिकाहरूको चकचकलाई हामीले स्वीकार गर्न सकेका छैनौं । श्रीकृष्णले गर्ने चकचक लीला र हाम्रा केटाकेटी गर्ने चकचक चाहिं झमेला ? ध्यान दिनुपर्ने अर्को कुरो के हो भने जन्मनासाथ श्रीकृष्ण आमाबुबासँग टाढिए । यस्तो दुर्भाग्यपूर्ण अवस्थामा जन्मिएका बालक कसरी समयक्रममा भगवान् बनेकोे होला ? यो अध्ययनको विषय हो । अध्ययन गर्दै जाँदा के थाहा हुन्छ भने बाल्यकालमा पाएको स्वतन्त्रताले गर्दा नै श्रीकृष्णको व्यक्तित्व विकास भएको हो । कृष्णलाई श्रीकृष्ण बनाउनमा यशोदा र नन्दको व्यवहारले धेरै भूमिका खेलेको छ ।

राम्रो व्यवहार गर्नका लागि शिक्षित परिवार नै हुनुपर्छ भन्ने जरुरी छैन किनभने यशोदा र नन्द दुवै पढेलेखेका थिएनन् । गाई पाल्ने किसान परिवारका सामान्य मानिस हुन्, नन्द र यशोदा । उनीहरू दुवैको चेतनाको स्तर धेरै उच्च थियो । उनीहरू दुवैलाई आफ्नो कर्तव्य के हो भन्ने थाहा थियो । शिक्षाको उद्देश्य पनि विवेकवान् नागरिक उत्पादन गर्नु नै हो । विवेकवान् नागरिक जस्तै नन्द र यशोदाले आफ्नो कर्तव्य निर्वाह गर्न चुकेनन् । यस कारण श्रीकृष्णको बाल्यकाल स्वतन्त्रतापूर्वक बित्यो र उनको विकास राम्रोसँग हुँदै गयो । स्मरण गर्नुपर्ने कुरो के हो भने केटाकेटीहरूसँग व्यवहार गर्ने सन्दर्भमा हामी नेपाली २१औं शताब्दीमा प्रवेश गरिसक्दा पनि हाम्रो चेतनाको स्तर कहाँनिर छ ?

सञ्चारको यस युगमा कृष्णलीलाबारे जान्न खोजियो भने थुप्रै भिडियो फेला पर्छन् । जसमा श्रीकृष्णका कैंयन लीलाहरू भेटिन्छन् । जस्तै माखन चोरी गर्ने, घैंटा फोडिदिने, लुगा लुकाइदिने, अरूको बगैंचाबाट फल चोर्ने, झूटो बोल्ने, भनेको नमान्ने, ढाँट्ने आदि । यशोदाले त्यत्तिकै श्रीकृष्णलाई स्वतन्त्रता दिएकी होइनन्, यसमा नन्दको ठूलो हात छ । यशोदाको गुनासो सुनेर नन्द हाँसिदिन्थे । श्रीकृष्ण पनि कम थिएनन् । घरमा भए घरमैं, बाहिर गए बाहिर नै, गाउँमा गए गाउँमैं चकचक गर्थे । एकपटक नन्दले श्रीकृष्णलाई जून देखाए । जून देखेर जून नै चाहियो भन्न थाले । यशोदाले एउटा कचौरामा पानी हालेर जून यही हो समात भनिन् । श्रीकृष्ण मक्ख परे । तर यशोदाले कचौराको पानी चलायो भने जून माथि जान्छ र फेरि आउँदैन भनिन् । चकचके स्वभावले गर्दा श्रीकृष्णले पानी हल्लाइदिए र जून गायब भयो तर श्रीकृष्णले पुनः हठ गरेनन् किनभने उनले आमाले भनेको कुरा पत्याए । श्रीकृष्णसँग जोडिएका यस्ता थुप्रै प्रसङ्ग छन् ।

श्रीकृष्णका साथीहरू हरेक उमेर समूहका थिए । उनी जहाँ जाँदा पनि हुलै लिएर जाने गर्थे । यति चकचक सहेरै नन्द र यशोदाले हुर्काए कृष्णलाई । उदाहरण श्रीकृष्णको दिइएको हो तर सबै सफल मानिसका बाल्यकालका लीला उस्तै हुन्छन् । हाम्रा बालबालिकाहरूको पनि बाल्यकाल बुझ्नको लागि उनीहरूका प्रसङ्ग निकै प्रेरणादायक हुन सक्छ । उनीहरूको बाल्यकालबाट हामीहरूले धेरै कुरा सिक्न सक्छौं । अरूको बाल्यकालबाट मनोविज्ञान सिकिन्छ र बुझिन्छ । उसो भए हामी आफ्नै छोराछोरीहरूसँग किन नसिक्ने ? पूर्वीय दर्शनले बालबालिकालाई भगवान्को रूप मानेकै छ । हामी सानालाई सिकाउँछौं तर उनीहरूसँग सिक्न खोज्दैनौं । हामी उनीहरूलाई हाम्रा कुरा सुनाउँछौं तर उनीहरूका कुरा सुन्छौं कि सुन्दैनौं ? हामी गुरु बन्छौं तर सानालाई गुरु मान्छौं वा मान्दैनौं ? विडम्बना के हो भने धेरैले यसो गर्दैनन् । यदि बालबालिकाको कुरा सुन्ने हो भने उनीहरूबाट धेरै कुरा सिक्न सकिन्छ । धेरै नसिकिएला तर उनीहरूसँग कस्तो व्यवहार गर्ने कुरा अवश्य नै सिकिन्छ ।

हामी सानालाई माया गर्छौं । उनीहरूलाई महŒवपूर्ण ठान्छौं तर उनीहरूको कुरा सुन्दैनौं । नसुन्नु भनेको “हेप्नु” हो । हामी बालबालिकालाई हेप्छौं । हरेक बालबालिकाको स्वभाव फरक–फरक हुन्छ । सबैको रुचि र चाहना समान हुँदैन । मानिसमा रहेका यी स्वभावलाई हामी सबैले बुझ्नुपर्ने हुन्छ । यी स्वभाव बुझ्यो भने मनोविज्ञान बुझ्न सकिन्छ । बालकको मनोविज्ञान बुझ्यो भने मात्र उसलाई शिक्षा दिने शैली बुझ्न सकिन्छ । बालबालिकाको स्वभाव थाहा पाउनको लागि उनीहरूसँग घुलमिल हुनुपर्छ । उनीहरूका कुरा ध्यान दिएर सुन्नुपर्छ । यहाँ बुझ्नुपर्ने कुरो के हो भने आफ्नो चाहना भएको विषयमा मान्छे असफल हुन सक्दैन । यस कारण बालबालिकाहरूको प्रतिभा बुझ्ने वातावरण निर्माण गरिदिनुपर्छ । यस्तो वातावरण घर र विद्यालय दुवै ठाउँमा हुनुपर्छ । मनोवैज्ञानिकरूपमा शिक्षा दिने पद्धति नेपालमा पनि छ । तालीमहरूमा यो पद्धति सिकाइन्छ तर यो विधि व्यवहारमा प्रभावकारी हुन सकेको छैन किनभने शिक्षाको मापदण्ड ग्रेडमा आधारित छ । हाम्रो मानसिकता लब्धाङ्कपत्रमा कति ग्रेड ल्यायो भन्ने हेर्ने रहेको छ । ग्रेड हेरेर बालबालिकाहरूको मूल्याङ्कन गरिन्छ । यस कारण पढाइएको कुरा प्रभावकारी हुन सकेको छैन ।

विद्यालय जान नमान्ने । गृहकार्य गर्न नमान्ने । कहिले अटेरी हुने त कहिले जिद्दी गर्ने आदि आम अभिभावकले झेल्दै आएका समस्या हुन् । अभिभावकको दृष्टिले यो समस्या हो तर बालबालिकाको दृष्टिले हेर्दा यो समस्या होइन बालपन हो । हामीले यही बालपन स्वीकार गर्न नसकेर समस्याको रूपमा बुझेका छौं । हामी सबैले त्यही बालपन बिताएर आएका हौं तर ठूलो भएपछि त्यसलाई बिर्सियौं । यावत् समस्याहरूका धेरै कारण हुन सक्छन् । यसको प्रमुख कारण हामीले उनीहरूको बालपनलाई खोस्नु हो । अन्य कारण पत्ता लगाउन उनीहरूलाई सुन्दै जानुपर्छ भन्ने बहसलाई यस आलेखमार्फत उठान गर्न खोजिएको हो । राष्ट्रिय चिन्ता र चासोको विषय पनि यही नै हो । अब यो हाम्रो चिन्तनको विषय हुनुपर्छ । अभिभावकको चाहना छोराछोरी असल बनून् तर असल कसरी बनाउने ? यो नै सबैको चिन्ताको विषय हो । हामी बालबालिकाहरूसँग सही तरीकाले व्यवहार गर्न जान्दैनौं र उनीहरूलाई काबुमा राख्न हिंसा र दण्डको सहारा लिन्छौं । हाम्रो संविधानले पनि बालबालिकालाई दण्ड दिनु कानूनी अपराध मानेको छ । यस कारण उनीहरूलाई काबुमा राख्न सकारात्मक पहल गर्नुपर्छ ।

तर यो सजिलो छैन । यसका लागि धैर्य राख्नुपर्ने हुन्छ । उनीहरूको लागि समय निकाल्नुपर्छ । उनीहरूसँग संवाद गरिराख्नुपर्छ । यसका लागि धेरै तनाव बेहोर्नुपर्छ । के यस प्रकारको धैर्य हामीभित्र छ त ? हामी तुरुन्त परिणाम चाहन्छौं । चकचक गरे पनि गाली र खेले पनि गाली गर्छौं । यसो गरेपछि उनीहरू डरले काबुमा बस्छन् । हामी घर र विद्यालय दुवै ठाउँमा यस्तै व्यवहार गर्छौं । यस्तो व्यवहारले हाम्रा बालबालिकाहरू कस्तो बनिरहेका छन् के हामीले विचार गरेका छौं ?  बालबालिकाहरूको विकास हुने उमेर पनि बाल्यकाल नै हो । विवेकको विकास पनि यही बेला हुन्छ । बालबालिकाहरूको सोच, छरछिमेकमा घुलमिल गर्ने समय र व्यवहारलगायत तीव्र परिवर्तन हुने समय पनि यही नै हो । यसबेला उनीहरूमा आउने मनोवैज्ञानिक प्रभाव के हुन् ? यसबारे हामी अभिभावकले कति ध्यान दिएका छौं ? भारतका चर्चित शिक्षाशास्त्री गिजुभाइले भनेका छन्, “घरमा बिग्रिएका बच्चालाई भगवान्ले पनि सपार्न सक्दैन ।” घर पहिलो पाठशाला हो हामी भन्ने गरेका छौं तर घरमा सिकाइ प्रभावकारी बनाउन हामीले कतिको ध्यान दिएका छौं ? यो हामी सबैले सोच्नुपर्ने विषय हो । घरको वातावरण राम्रो छ भने उनीहरू पनि राम्रो काम गर्न प्रोत्साहित हुन्छन् । अभिभावकको चरित्र नराम्रो छ भने उनीहरू पनि नराम्रो व्यवहार गर्न प्रोत्साहित हुन्छन् । पहिलो पाठशालाबाट नै उनीहरूको जीवनको सुरुआत हुन्छ ।

प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई भविष्यको सहारा ठानेका हुन्छन् । यस कारणले नै होला आफूले खाइनखाइ सन्तानको लालनपालनमा खर्च गरिरहेका हुन्छन् । साधन र स्रोत जुटाउन सङ्घर्ष गरिरहेका हुन्छन् । तर सोचे जस्तो भएको छ त ? छैन । किनभने हामीले उनीहरूप्रति अपनाउने व्यवहार त्रुटिपूर्ण रहेको छ । हामी उनीहरूको मनोविज्ञानलाई बुझ्ने प्रयास गर्दैनौं । मनोवैज्ञानिकहरू भन्छन्, “बुझाइको दृष्टिकोणले ठूलाभन्दा सानाहरू १२ वर्ष जेठा हुन्छन् ।” उसो हो भने सानाबाट किन नसिक्ने ? उनीहरूलाई किन नबुझ्ने ? बालकबाट ठूलाले सिक्ने र त्यही सिकाइबाट उनीहरूको व्यवहार परिवर्तन गर्दै जानु नै वर्तमानको खाँचो भएकोले उनीहरूसँग निरन्तर संवाद गरिराख्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here