नेपाल, भारत, पाकिस्तानलगायत एशियाली देशहरू र उत्तर अमेरिकाका देशहरूमा गुटका सेवनकर्ताहरूको सङ्ख्या ठूलो छ । धूलो पारेको सुपारी, सुर्ती, चुनाको मिश्रणमा हाइड्रोक्साइडलगायतका रसायनहरू हालेर गुटका तयार गरिन्छ । सुर्ती, चुना सेवन नगर्नेहरूका लागि सुपारीको धूलोमा नुनिलो वा गुलियो मिसाएर पनि विभिन्न नामका गुटका उत्पादन भइरहेका छन् । अतः सबै उमेर समूह र सबैखाले स्वभावका उपभोक्तालाई मध्यनजर गरी तयार पारिएको गुटका जहाँ पुग्यो, त्यही आफ्नो बजार जमाउँछ । यो जतिसुकै स्तरीय प्याकेटमा प्याक गरिएको भए तापनि मानव स्वास्थ्यको लागि अति खराब साबित भएको छ । मुखको क्यान्सरमा गुटकालाई जिम्मेवार मानिन्छ । हाम्रा छिमेकी मुलुक भारतका बिहारलगायत धेरै राज्यमा गुटका प्रतिबन्धित छ । उत्तर प्रदेशलगायतका केही राज्यमा सरकारी कर्मचारीले गुटका सेवन गर्नु गैरकानूनी मानिन्छ । त्यसैगरी, सार्वजनिक स्थलहरूमा गुटका सेवन दण्डनीय छ । भारतका केही प्रान्तमा भने गुटकामाथि चर्को कर लगाएर वा यसको उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएर पनि नियन्त्रणको प्रयास गरिएको पाइन्छ ।
नेपालमा गुटकाको सुरुआत भारतबाटै सिको गरेर भएको हो । नेपालमा गुटका आयात भारतबाट हुन्छ । अहिले भारतको बिहार राज्य सरकारले गुटका उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । यसो हुँदा पनि त्यहाँ उत्पादित गुटका भने निर्धक्कसाथ नेपाल आयात भइरहेको छ । बजार राम्रो रहेका गुटकाहरूका नाममा नक्कली गुटका उत्पादन गर्ने गिरोहहरू पनि त्यत्तिकै सक्रिय छन् । यसै त गुटका स्वास्थ्यको लागि हानिकारक छ, त्यसमा पनि नक्कली गुटका कुनै मापदण्डविना नै बजारमा आउँदा सेवनकर्ताको जिन्दगी जोखिममा हुन्छ । पानमसला र सुपारीको सेवनले मुख र घाँटीको क्यान्सर निम्त्याउँछ । तर अहिले गुटका र पानमसलामा खतरनाक रसायन पनि मिसाइन थालिएको छ । नेपाल र भारतमा गरिएका विभिन्न अध्ययनहरूबाट अधिकांश पानमसला कम्पनीका उत्पादनको नमूनामा शतप्रतिशत रासायनिक मिसावट भेटिएका छन् । भारतका विभिन्न खाद्य सुरक्षा प्रयोगशालामा लिइएको पानमसला र सुपारीका सबै नमूनामा शतप्रतिशत मिसावट भेटियो । खाद्य सुरक्षा विज्ञहरूका अनुसार सुपारीको रङ्ग आकर्षक बनाउन र स्वादयुक्त बनाउन सुपारीको धूलोमा खनिज तेल र म्याग्नेशियम कार्बोनेट मिसाइन्छ । यस्ता रसायनयुक्त गुटका, पानमसला वा सुपारीको सेवनले मुख र घाँटीका नरम ग्रन्थिमा क्षति पु¥याउँछ । नाक, कान, घाँटी रोग विज्ञहरूका अनुसार नेपाल र भारतमा ९० प्रतिशत घाँटीको क्यान्सरका बिरामीहरू गुटका र पानमसलाको सेवनबाट रोग निम्तिएको पाइएको छ ।
हाम्रो मुलुकमा राजस्वको लोभमा गुटकालाई छुट दिइएको छ । गुटकाको खोलमा राखिएको चेतनामूलक तस्बिर र नाराले सेवनकर्तालाई कति पनि फरक पारेको छैन । मुलुकका केही स्थानीय सरकारले आफ्नो पालिका क्षेत्रभित्र गुटका सेवन, बिक्री–वितरण तथा ओसारपोसारमा प्रतिबन्ध लगाएका छन् । तर त्यस्ता पालिकाहरूले सङ्घीय सरकार एवं प्रहरी, प्रशासनबाट खासै सकारात्मक सहयोग पाएका छैनन् । सङ्घीय सरकारका केही सांसदहरू आफैंले गुटका उद्योग सञ्चालन गरेर यसको सेवनलाई बढावा दिइरहेका छन् । हाम्रा अस्पताल परिसरभित्र गुटका बिक्री हुन्छ । विद्यालय हाताका पसलहरूमा गुटका बिक्री भइरहेका छन् ।