प्रस, सेढवा, २३ भदौ/
“दुई दशक पहिले भारतीय नागरिक सजिलै चिनिन्थ्यो,” थारू कल्याणकारी समिति, पर्साका अध्यक्ष रामेश्वर महतो थारूले बताए । त्यति बेला ग्रामीण भेगमा कुनै अपरिचित व्यक्ति आउँदा उसले रातो थुक प्याच फाल्दा निश्चितरूपमा भारतको बिहार राज्यबाट आएको हुनुपर्छ भनी अडकल गरिन्थ्यो, थारूले भने । त्यति बेला भारतको सीमा क्षेत्रका अधिकांश नागरिक पान र गुटका सेवन गर्थे । त्यस बखत नेपालमा पानको सेवन गर्ने नगन्य मानिस भेटिन्थे । गुटकाको बारेमा त थाहै थिएन । तर अहिले नेपालमा गाउँदेखि शहरसम्म हरेक उमेरका नागरिकले विनाहिचकिचाहट यसको सेवन गर्ने गरेका थारूले बताए ।
अहिले गाउँदेखि शहरसम्मका नागरिकहरूले आफ्नो क्षमता अनुसार जुन पनि ठाउँमा खुलेआम यसको सेवन गरिरहेका देख्न सकिन्छ । यतिमात्र नभई भोजभतेर तथा पार्टीलगायतका शुभ कार्यक्रममा पनि पाहुनाहरूलाई सत्कारका लागि गुटका वितरण गर्ने चलनको विकास भइसकेको छ । इष्टमित्रको स्वागत तथा कामदारहरूलाई पनि काम गर्ने बेला गुटका दिनै पर्ने अवस्था रहेको छ । अहिले किराना र पान पसलमा गुटका हुनैपर्ने पसलेहरू बताउँछन् ।
सखुवाप्रसौनी गाउँपालिका निवासी अङ्गद दास थारूका अनुसार गुटका स्वास्थ्यका लागि हानिकारक भएपनि नखाए ‘के के न हराएको जस्तो’ लाग्ने गरेको बताए । आफूले दैनिक १० देखि १५ वटासम्म गुटका खाने गरेको बताए । मोटरसाइकल चलाउने समयमा निद्रा लाग्ने, अल्छी लाग्ने गर्दा साथीहरूका सुझाव अनुसार गुटका सेवन गर्न शुरू गरेपछि यसको लत बसेको उनले बताए ।
अहिले विद्यालय उमेरका बालबालिकादेखि वृद्धहरू पनि निर्धक्क गुटका सेवन गर्छन् । विभिन्न ब्रान्डका १०० देखि १५० प्याकेटसम्म गुटका बेच्ने गरेको एकजना पसलेको भनाइ छ । अहिले बजारमा एउटा गुटका पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्ममा पाइन्छ । भोला, राजनिवास, शुद्ध प्लस, पुकार, पराग, रजनीगन्धा, तुलसीलगायतका गुटका बजारमा उपलब्ध छन् । गुटका सेवन गर्न विद्यार्थी, कर्मचारी, कामदार, शिक्षक, चिकित्सक तथा पत्रकारहरू पनि पछि पर्दैनन् । अहिले समुदायमा ७० प्रतिशतभन्दा बढी पुरुषले गुटका सेवन गर्ने गरेका छन् । यसको बिक्री वितरण गर्न नेपाल सरकारले विद्यालय हातादेखि एक सय मिटरको दूरीमा रोक लगाए पनि प्रभावकारी भएको देखिंदैन ।
पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्रप्रसाद यादवका अनुसार गुटका सेवनले मानिसले स्वास्थ्य, धन तथा चरित्रसमेत गुमाइरहेका छन् । यसको सेवन गरी समाजमा उठबस गर्दा नकारात्मक प्रभाव पर्ने गरेको यादवले बताए । यसको सेवनले दाँत तथा मुखमा विभिन्न रोगका साथै क्यान्सर लाग्ने ठूलो सम्भावना हुने यादवले बताए । साथै घाँटीमा क्यान्सर तथा कलेजोमा विभिन्न प्रकारका रोग लाग्ने धेरै सम्भावना हुने यादवको भनाइ छ । गुटका सेवनबाट मानिसलाई हरेक दृष्टिकोणबाट नोक्सानी नै रहेको उनको भनाइ छ । गुटका सेवन गर्नु मादक पदार्थ सेवन गर्नुभन्दा निकै खतरनाक रहेको यादवले बताए ।
यसलाई न्यूनीकरण गर्ने सम्बन्धमा पर्साका सामाजिक अभियन्ता प्रकाश थारूले सरकारी तथा गैरसरकारी संस्थाले प्रयास गरे सम्भव रहेको बताए । यो लत समुदायमा देखासिखीका कारणले बढेको बताए । यसलाई न्यूनीकरण नगरे भोलि भयावह स्थिति आउने थारूको भनाइ छ । न्यूनीकरणका लागि स्थानीय सरकारले सक्रिय भएर भूमिका निर्वाह गर्नुपर्ने थारू बताउँछन् । नेपाल सरकारले गुटकाबाट कर सङ्कलन मात्र गरिरहेको थारूको आरोप छ । गुटकाको प्याकेटको ७०/८० प्रतिशत भागमा हानिकारक फोटो राख्न लगाएर सरकार आफ्नो जिम्मेवारीबाट पञ्छिएको उनको आरोप छ ।
आमनागरिकको स्वास्थ्यमा जस्तो असर परे पनि सरकारलाई वास्ता नभएको थारूले बताए । सङ्घीय तथा प्रदेश सरकार एवं विभिन्न सङ्घसंस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न एकदमै जरुरी भएको अभियन्ता थारूको भनाइ छ ।