- राजेश मिश्र
“छक्का र चौका” दर्शकहरूको मुखबाट एक साथ निस्किने स्वरले माहोल हेर्नलायक थियो । वीरगंजमा सार्वजनिक स्थानमा मझौला खालको पर्दामा एशिया कप अन्तर्गत नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा चलिरहेको थियो । दर्शकदीर्घाको ध्यान एकटक पर्दामा केन्द्रित थियो । राष्ट्रिय क्रिकेट टीममा वीरगंजका युवा क्रिकेटरद्वय आसिफ शेख र आरिफ शेखको सहभागिताले वीरगंजवासीको उत्साह चरममा थियो ।
३० अगस्त २०२३ मा शुरू भएको एशिया कपको समूह चरणको खेलपछि आज ९ सेप्टेम्बर २०२३ शनिवारदेखि सुपर–४ अन्तर्गतका खेल शुरू हुन्छ । आजको खेल श्रीलङ्का र बङ्गलादेशबीच नेपाली समय अनुसार दिउँसो साढे तीन बजेदेखि हुँदैछ ।
एशिया कप प्रतिस्पर्धामा कुल छ देशको सहभागिता छ । नेपाल सहभागी समूहमा भारत र पाकिस्तान र अर्को समूह अन्तर्गत श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । समूह चरणको खेलमा नेपालको पहिलो प्रतिस्पर्धा पाकिस्तानसँग ३० अगस्तमा भएको थियो । पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने फैसला गर्यो । उक्त प्रतिस्पर्धामा २३८ रनले नेपाल पराजित भयो । फिल्डिङमा नेपालका खेलाडीहरू क्रमशः सोमपाल कामीले दुई विकेट र करण केसी तथा सन्दीप लामिछानेले एक/एक विकेट हात पारेका थिए । त्यसैगरी, ब्याटिड्ढो क्रममा नेपालका खेलाडीहरूमध्ये सोमपाल कामीले ४६ बलमा २८ रन, आरिफ शेखले ३८ बलमा २६ रन तथा गुलसन झाले २३ बलमा १३ रन बटुलेका थिए ।
त्यसैगरी, ४ सेप्टेम्बरमा भारतसँग प्रतिस्पर्धा भएको थियो । भारतसँग नेपाल १० विकेटले पराजित भयो । यद्यपि नेपाली खेलाडीहरूको प्रदर्शनको नेपाली दर्शकमाझ मात्र होइन, विश्वस्तरमा प्रशंसा भयो । भारतसँग भएको खेलमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङ गर्दै नेपालका खेलाडीहरूमध्ये आसिफ शेखले ९७ बलमा ५८ रन, सोमपाल कामीले ५६ बलमा ४८ रन र कुशल भुर्तेलले २५ बलमा ३८ रन बटुलेका थिए ।
यसअघि विश्वस्तरीय क्रिकेट खेलमा नेपाली दर्शकहरूले प्रायःजसो आफूले मन पराउने देशको समर्थनमा खुशी वा निराश हुने क्षण यसपटक आफ्नै देशप्रति केन्द्रित थियो । नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रतिस्पर्धा हुने दिन कतिपय पालिकाहरूले दिउँसो दुई बजेपछि बिदा घोषणा गरेका थिए । नेपाली क्रिकेट टीमले पहिलोपटक विश्वप्रख्यात पाकिस्तान र भारतका खेलाडीहरूसँग प्रतिस्पर्धा ग¥यो । नेपाली राष्ट्रिय क्रिकेट टीमको प्राविधिक र आर्थिक पक्षतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुने हो भने क्रिकेटको दुनियाँमा नेपालको भविष्य उज्ज्वल देखिन्छ ।
नेपाली क्रिकेट टीमका कोच हुन्, भारतीय पूर्वक्रिकेटर मोन्टी देसाई । एशिया कपमा खेल्नका लागि नेपाल क्रिकेट सङ्घले १७ सदस्यीय टोली घोषणा गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा आशिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करन केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतीश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल थिए ।
विश्वसूचिमा बलिङतर्फ नेपालका खेलाडीहरू क्रमशः सन्दीप लामिछाने २२औं, दीपेन्द्रसिंह ऐरी ६३औं, सोमपाल कामी ८०औं, करन केसी ८३औं र ललित राजवंशी ९८आंै स्थानमा छन् । त्यसैगरी, उक्त सूचीमा ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ७३आंै र आशिफ शेख ८०औं स्थानमा छन् । नेपाली खेलाडीहरूको विश्वव्यापी स्थानले उनीहरूको स्तरलाई इङ्गित गर्छ । तथापि यसपटकको एशियाली कपमा प्राप्त अनुभवले भविष्यमा नेपाली खेलाडीहरूको क्रमाङ्क उक्लिने सम्भावना प्रबल छ । त्यस कारण नेपाल क्रिकेट सङ्घ र खेलाडीहरूप्रति सरकारको ध्यानाकर्षण अपरिहार्य छ ।
भनिन्छ, पराजय विजय हुने खुड्किलो हो । पराजयले धेरै कुरा सिकाउँछ । एउटा प्रसङ्ग यहाँ स्मरण गर्नु सान्दर्भिक हुनेछ । सन् १९७५ को विश्वकप क्रिकेटमा भारतीय क्रिकेटर सुनील गावस्करले ब्याटिङ गर्दै ३६ रन बनाएका थिए । उक्त खेलमा भारत इङ्ग्ल्यान्डसँग २०३ रनले पराजित भएको थियो । त्यसपछि क्रिकेट खेलमा भारत बिस्तारै बलियो बन्दै गएको हो । नेपालको राष्ट्रिय क्रिकेट टोलीको पाकिस्तान र भारतसँग यो पहिलो प्रतिस्पर्धा थियो । नेपाली क्रिकेटको इतिहास हेर्दा न्यून स्रोत साधनका बावजूद विभिन्न चरणहरू पार गर्दै आज विश्वव्यापी प्रतिस्पर्धामा सहभागिता जनाउनु हाम्रोलागि गर्वको विषय हो ।
नेपालमा क्रिकेटको इतिहासबारे जानौं । विसंं १९७८ ताका तत्कालीन राणाशासकहरूले बेलायतबाट पढाइ सक्याएर फर्किने क्रममा व्यक्तिगत मनोरञ्जनका लागि नेपालमा क्रिकेट भिœयाएको मानिन्छ । श्री ३ चन्द्रशमशेरका छोरा मदनशमशेर नेपाली क्रिकेटका जननीका रूपमा चिनिन्छन् । राष्ट्रव्यापीरूपमा क्रिकेटको विकास र विस्तार गर्ने उद्देश्यले विसं २००४ मा नेपाल क्रिकेट सङ्घको स्थापना भएको थियो । तर २००७ सालमा राणाशासन नफ्याँकिएसम्म क्रिकेट राणा परिवार, उनीहरूका नातेदार तथा आफन्त र दौतरीमा सीमित थियो । उनीहरूले दरबार र टुँडीखेलमा क्रिकेट खेल्थे । राणाकालकै समयमा स्थापित क्रिकेट सङ्घको २०१८ सालमा राष्ट्रिय खेलकूद परिषद्मा राष्ट्रिय सङ्घको रूपमा दर्ता भयो । यो नै नेपाली क्रिकेटको औपचारिक विकासमा ठूलो उपलब्धि मानियो । राणाहरूकै अधीनमा रहेकोले विसं २०४० अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन ।
तर विसं २०४० ताका राजधानीबाहिर पर्साको वीरगंज, बाराको कलैया, धनुषाको जनकपुर, बाँकेको नेपालगंज र रूपन्देहीको भैरहवालगायत तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ । त्यही बेला नेपाल क्रिकेट सङ्घ अन्तर्गत क्षेत्रीय र जिल्ला सङ्घहरू स्थापना भए । त्यसपछि विद्यालयहरूमा क्रिकेट खेलप्रति लगाव बढ्दै गयो ।
विसं २०४४ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को सदस्यता पाएको हो । त्यसको दुई वर्षपछि एशियाली क्रिकेट परिषद् (एसिसी)को सदस्य बनेको थियो । २०५२ सालमा आइसिसीको एशोसिएट सदस्य बनेपछि नेपाली क्रिकेट टीमले अन्तर्राष्ट्रियस्तरमा खेल्न शुरू गरेको हो । योसँगै बिस्तारै नेपालमा क्रिकेटको लोकप्रियता बढ्न थालेको थियो । छिमेकी मुलुक भारतले क्रिकेटलाई तीव्ररूपमा विकास गरे पनि नेपालमा सीमित स्रोत साधनमैं क्रिकेट खेल्नुपर्ने बाध्यता थियो, जुन अहिलेसम्म पनि कायमै छ ।
विसं २०४४ मा आइसिसीसँगको सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान पुर्यायो । नेपालले पहिलोपटक विसं २०५२ मा मलेशियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा सहभागिता जनायो, जहाँ ब्रुनाई र जापानलाई पराजित गरे पनि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो ।
विसं २०५५ मा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी ट्रफी आयोजना गर्ने जिम्मा पायो । त्यही प्रतियोगिताका लागि कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान बनाइएको हो । यद्यपि दुर्भाग्य नै भन्नुपर्छ, घरेलु मैदानमा पहिलोपटक आयोजित प्रतियोगितामा नेपाली टोलीले एउटै पनि खेल जित्न सकेन । घरेलु भूमिमा सबै खेल हारे पनि नेपालको क्रिकेट यात्रा रोकिएन । खेलाडीहरूले अझ धेरै सिक्ने र जान्ने मौका पाए । राज्यको कम लगानी र खेलाडीहरूको अथक प्रयासले नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दै गयो ।
सन् २००० मा नेपाली यू–१९ टोली विश्वकपमा आठौं भयो । युएईको शारजहाँमा भएको आइसिसी ट्रफीको सेमिफाइनलमा पुगेर राष्ट्रिय क्रिकेट टोलीले देशको सान उच्च राख्यो । उक्त खेलमा नेपाल हड्ढङसँग पराजित हुँदै बाहिरिएको थियो । लगत्तै अर्को वर्ष यही प्रतियोगितामा जर्मनी र गिब्राल्टारलाई हराएर नेपालले क्रिकेटमा सफलता हात पा¥यो । उक्त प्रतियोगितामा नेपाल नामिबियासँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो । सन् २००२ मा सिङ्गापुरमा भएको एसिसी ट्रफीमा युएईसँग पराजित हुँदै नेपाल उपविजेतामा सीमित भयो । त्यसलगत्तै नेपालले इमर्जिङ नेसन्स कपको आयोजना गर्यो, जहाँ भुटान र माल्दिभ्सलाई हराएर नेपालले उपाधि आफ्नो पक्षमा पा¥यो ।
सन् २००४ मा नेपालले पहिलोपटक आइसिसी अन्तरमहादेशीय कपमा प्रथम श्रेणीको क्रिकेट खेल्यो । मलेशियालाई पराजित गर्यो । तर युएईसँग बराबरीमा रोकिंदै नेपाल सेमिफाइनलमा पुग्न सकेन । त्यसैगरी, सन् २००४ मा एसिसी फास्ट ट्र्याक नेसन्स कपमा तेस्रो भएर नेपाल २००५ को एसिसी ट्रफीको लागि छानियो, जसमा पाँचौं भएर नेपाल आइसिसी ट्रफीमा खेल्न योग्य भयो । उक्त प्रतियोगितामा कतारलाई प्लेअफमा हराएर तेस्रो भएपछि नेपाल आयरल्यान्डमा हुने आइसिसी ट्रफीमा छनोट भएन । सोही वर्ष आइसिसी अन्तरमहादेशीय कपमा युएईलाई हराएपछि हड्ढङसँग बराबरी गरेको नेपाल एसिसी फास्ट ट्र्याक नेसन्स कपमा उपविजेता भयो ।
त्यसपछि नेपाली टोलीले खेलेको अर्को खेल थियो, २००८ मा विश्व क्रिकेट लिग डिभिजन पाँच । न्यूजर्सीमा भएको उक्त प्रतियोगितामा समूह ‘ए’को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाली टोली अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो । तर प्लेअफमा अमेरिकालाई हराउँदै नेपालले तेस्रो स्थान हात पार्यो । उक्त प्रतियोगिताको डिभिजन चारमा दुई टोली मात्र छानिने अवसर थियो । तर नेपाल तेस्रो भएपछि विश्वकप २०११ खेल्ने सपना अधूरो रह्यो । सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन–५ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन–४ मा नेपाल तेस्रो हुँदै ‘रेलिगेसन’बाट जोगियो ।
सन् २०१२ मा डिभिजन चार जितेर डिभिजन तीनमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन तीनमा पनि विजेता बन्दै डिभिजन दुईमा उक्लियो । सन् २०१२ मा नेपालले क्रिकेटमा अर्को सफलता हात पार्यो, जुन युएईमा भएको एसिसी ट्रफी एलिट कपमा संयुक्तरूपमा विजेता बन्दै नेपाल र युएईले उपाधि बाँडेको थियो ।
जसले गर्दा नेपाल र युएईसँगै तेस्रो भएको अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काजस्ता टेस्ट खेल्ने देश सम्मिलित एसिसी इमर्जिङ नेसन्स प्रतियोगिताका लागि छानिए । सन् २०१३ मा काठमाडौंमा सम्पन्न एसिसी टी–२० कपमा फाइनल पुगेर युएईमा सम्पन्न विश्व टी–२० कप छनोटलाई छानियो । त्यस्तै, सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन–३ मा पनि विजेता बन्दै डिभिजन–२ मा उक्लियो । सन् २०१४ जूनदेखि २०१५ आइसिसी विश्व टी–२० छनोट प्रतियोगितासम्म आइसिसीले नेपाललाई टी–२० अन्तर्राष्ट्रियको मान्यताप्राप्त टीमको श्रेणीमा राखेको थियो ।
त्यसैगरी, जिम्बाब्वेमा भएको विश्वकप छनोटमा सातौं भएको नेपाल सन् २०२२ सम्म एकदिवसीय मान्यताप्राप्त देश बनेको छ । नेपालले अहिले अन्तर्राष्ट्रियस्तरमा आफ्नो बलियो उपस्थिति जनाउन थालेको छ । न्यून स्रोत साधन र विभिन्न प्रकारका चुनौतीसँग सङ्घर्ष गर्दै एशियाली कप–२०२३ मा समूह चरणबाट नेपाल बाहिरिए पनि अनेक अनुभव बटुलेर स्वदेश फर्केको छ । नेपाली राष्ट्रिय टीमको उज्ज्वल भविष्यको कामनाका साथै हार्दिक शुभकामना ।