• विश्वराज अधिकारी

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन अहिले चिन्तामा छ । चिन्ताका अनेक कारण छन् । तर प्रमुख कारण भने आर्थिक हो । कमिलालाई आफ्नै टाउको भारी, हात्तिलाई आफ्नै टाउको भारी भन्ने उखान चीनको सन्दर्भमा लागू हुँदैन । चीनको ठूलो टाउको उसलाई साँच्चीकै अहिले भारी भएको छ । चीनमा अहिले पनि गरीबी छ, भारतजस्तै । चीनको ४० प्रतिशत जनसङ्ख्या अहिले पनि ग्रामीण क्षेत्रमा बसोवास गर्दछ ।

अमेरिकापछि, चीन विश्वको दोस्रो ठूलो महाशक्ति भए तापनि चीनको (२०२३ अनुमानित) प्रतिव्यक्ति आय १३,७२१ डलर छ । जबकि अमेरिकाको (२०२३ अनुमानित) प्रतिव्यक्ति आय ८०,३५,००० डलर रहेको छ । चीनको कुनै खास वर्ग ह्वात्तै धनी भएको हो । र त्यो कारणले गर्दा चीन धनी देखिएको हो । चीनमा बहुसङ्ख्यक व्यक्ति अहिले पनि गरीब छ, भारतजस्तै । भारतको जस्तो चीनमा स्लम (झोपडपट्टी) हरू न भए तापनि चीनको १३ प्रतिशत जनसङ्ख्या अहिले पनि गरीबीको रेखामुनि छ । गरीबीको रेखामुनि रहेका व्यक्तिहरूको प्रतिदिनको आय ५.५ डलर मात्र छ ।

चीनमा आर्थिक सङ्कट लम्बिएमा, जनतामा असन्तोष मच्चिएमा, चीनको राजनीतिक व्यवस्था नरारी हल्लिने स्थिति हुन सक्छ । हुनत आजभन्दा तीन चार दशक पहिले नै चीनको राजनीतिक व्यवस्था हल्लिसकेको थियो । देङ सिआओपेड्ढा आर्थिक सुधारका कार्यक्रमहरू न आएको भए, चीनको अर्थ व्यवस्थामाथि चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणलाई चिनियाँ कम्युनिस्ट नेताहरूले खुकुलो नपारेको भए चीनको कम्युनिस्ट राजनीतिक व्यवस्था सोभियत रूसजस्तो धराशायी भइसकेको हुन्थ्यो । सम्पत्तिमाथि निजी स्वामित्व, धन आर्जन र लगानी गर्न छुट, अहस्तक्षेपकारी आर्थिक नीतिजस्ता आर्थिक सुविधाहरू चिनियाँहरूले उपयोग गर्न पाएको हुनाले चीनको कम्युनिस्ट व्यवस्थाले निरन्तरता पाएको हो । अर्थतन्त्रमा पूर्ण समाजवाद वा कम्युन प्रणाली स्थापना गर्नासाथ चीनको कम्युनिस्ट व्यवस्था समाप्त हुन्छ । चीनको जनताले उदारवादी अर्थतन्त्रको स्वाद चाखिसकेको छ, राजनीतिक स्वतन्त्रताको स्वाद नचाखे तापनि ।

चीन अहिले छटपटिएको छ । उसको यो छटपटीले कहिले उसलाई ब्रिक्स काँधमा बोक्न र परम्परागत शत्रु भारतको नजिक पुग्न निर्देशित गर्दछ भने कहिले अफ्रिकी देशहरूमा आफ्नो बजार विस्तारित गर्न आदेश दिन्छ । चीनले अहिले दक्षिण अमेरिकी देशहरूमा पनि व्यापार विस्तारका सम्भावनाहरूको खोजी गरिरहेको छ । चीन अहिले चिन्तित छ । खासगरी कोभिड–१९ ले चीनको अर्थतन्त्रलाई नराम्ररी प्रभाव पा¥यो । दौडिरहेको चीनलाई सुस्तरी हिंड्ने स्थितिमा पु¥यायो ।

चीन किन छटपटिएको छ ? किन चिन्तित छ ? के होला चिन्ताको कारण ?

चीनको आर्थिक वृद्धिदर अहिले ह्वात्तै घटेको छ । युवाहरू ठूलो सङ्ख्यामा अहिले बेरोजगारी देखिएका छन् । विदेशी लागानी ओ¥हालो लागेको छ । निर्यात कम भएको छ । बजारमा चिनियाँ मुद्रा कमजोर भएको छ । रियलस्टेट क्षेत्र सोचनीय हुन पुगेको छ । घर र जग्गाको मूल्य घटेर चिनियाँहरू अत्तालिएका छन् । भोलि के होला भन्ने भयबाट चिन्तित भएर लगानीभन्दा बचतमा जोड दिइरहेका छन् ।

आर्थिक विकासको दौडमा चीन अग्र पङ्क्तिमा थियो । सन् १९८९ देखि चीनको आर्थिक विकास प्रतिवर्ष ९ प्रतिशतको हाराहारीमा थियो । अहिले भने स्थिति फेरिएको छ । चीनको आर्थिक विकास, सन् २०२३ मा ५ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ । यो स्थितिले चीनको आर्थिक विकास तलतिर जान थालेको सङ्केत गर्दछ ।

अहिले भारत जनसङ्ख्याको हिसाबले विश्वको सर्वाधिक ठूलो राष्ट्र भएको छ । जनसङ्ख्या वृद्धिमा भारतले चीनलाई पनि जितेको छ । चीनको वर्तमान (सन् २०२३) जनसङ्ख्या  १ अर्ब ४२ करोड ५६ लाख छ भने भारतको जनसङ्ख्या १ अरब ४२ करोड, ८६ लाख छ । चीनमा जनसङ्ख्या वृद्धिदर कम भएकोमा चिनियाँहरूको लागि खुशीको कुरा पनि हुन पुगेको छ, दुःखको कुरा पनि हुन पुगेको छ । चिनियाँ जनसङ्ख्यामा प्रौढ उमेरका व्यक्तिहरूको सङ्ख्या बढी हुन पुगेको छ भने युवाहरूको सङ्ख्या तुलनात्मकरूपमा कम भएको छ । जनसङ्ख्या वितरणको यो संस्थितिले वर्तमानमा नै चीनमा जनशक्तिको अभाव देखिएको छ भने भोलिका दिनमा चीनमा युवा जनशक्तिको स्थिति कस्तो होला ? यो कारणले पनि चीन चिन्तित हुनुपर्ने स्थिति उत्पन्न भएको छ । जापानमा पनि अहिले सक्रिय जनसक्तिको अभाव छ । स्थिति गम्भीर छ । उमेर पुगेका व्यक्तिहरूको सङ्ख्या धेरै भएर, १०० वर्षभन्दा बढी बाँच्ने नागरिकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएर, जापानमा अहिले युवा जनशक्तिको अति नै खाँचो देखिएको छ ।

गएका वर्षहरूमा जनसङ्ख्यामा युवाहरूको सङ्ख्या ठूलो भएको कारणले गर्दा चीनले कम लागतमा विभिन्न वस्तु उत्पादन गर्ने क्षमता प्राप्त गरेको थियो । अर्थात् चीनमा श्रम लागत कम थियो । तर अब त्यो स्थिति बिस्तारै प्रतिकूल हुँदै गएको छ । चीनमा एकातिर उमेर पुगेका व्यक्तिहरू सङ्ख्या वृद्धि भएको छ भने अर्कोतिर जनसङ्ख्या वृद्धि दरमा कमी आएको छ । सामाजिक संरचनामा यी दुई कुराहरूले सकारात्मक प्रभाव पार्ने भए तापनि आर्थिक विकासका लागि भने यी दुवै कुरा चीनको लागि सुखद होइन ।

अब चीनले के गर्ला ?

मौजुदा आर्थिक स्थितिबाट चिन्तित भएको चीन अब अनेक आर्थिक रणनीतिको साथमा आक्रामक किसिमले अन्तर्राष्ट्रिय बजारमा सक्रिय हुनेछ । चीनलाई यस्तो गर्न सजिलो पनि छ । चीनमा प्रजातन्त्र नभएको र राजनीतिक व्यवस्था पनि केन्द्रीय नियन्त्रणमा रहेकोले चीन सरकारले ल्याउन अनेक आर्थिक सुधार कार्यक्रम विनारोकटोक कार्यान्वयन हुनेछ । चीनले अब बजार पनि विस्तार गर्नेछ । तर यी सबै कुरा हुँदाहुँदै पनि चीनको चिन्ता भने यति छिटै समाप्त हुने देखिंदैन । विकासशील राष्ट्रहरू जसले चीनबाट ठूलो परिमाणमा आयात गर्छन् उनीहरूले आयात कम गर्ने सम्भावना छ । उनीहरू आफैं आर्थिक रूपमा सक्षम हुन थालेकाले उनीहरूले निर्यात बढाउनेतिर जोड दिनेछन् । उत्पादन लागतमा हुने वृद्धिले पनि चीनलाई सताउने सम्भावना उत्तिकै प्रबल छ ।

चीनको आर्थिक स्थिति कमजोर हुँदा विश्व अर्थ व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

चीनको अर्थ व्यवस्था कमजोर भएमा त्यसले विश्व अर्थ व्यवस्थामा पक्कै पनि प्रतिकूल असर पार्नेछ । चीनले सस्तोमा सामानहरू उत्पादन गर्दछ । सस्तोमा सामान उत्पादन गर्न सकेको हुनाले नै विकासशील राष्ट्रका उपभोक्ताहरू अनेक किसिमका सामान उपयोग गर्न पाएका छन् । उदाहरणका लागि नेपालमा उपलब्ध चाइनिज सामानहरू नेपालीहरूको क्रयशक्तिले खरीद गर्नु सक्नुको कारण नै चाइनिज सामानहरू सस्तो हुनुले गर्दा हो । अर्को किसिमले भन्ने हो भने चाइनिज सामान तुलनात्मक रूपमा सस्तो भएको हुनाले नै नेपालीहरूले सजिलै चाइनिज सामान वा घर घरायसीका अत्यावश्यक सामान खरीद गर्न सकेका हुन् । त्यसकारण चीनको आर्थिक स्थिति खस्किनु विकासशील राष्ट्रहरूको हितमा छैन । नेपालको हितमा त छैन नै, उल्टो चीनको आर्थिक स्थिति खस्केमा नेपालमा महँगी बढ्ने खतरा छ । चीनको आर्थिक स्थिति खस्किनु विकसित वा धनी राष्ट्रहरू अमेरिका, क्यानाडा, अस्ट्रेलिया, ब्रिटेन आदिको हितमा पनि छैन । चीनमा उत्पादन लागत सस्तो भएकोले विकसित राष्ट्रहरूले पनि सस्तोमा चीनबाट अनेक उपभोक्ता सामग्री खरीद गर्न पाएका छन् ।

चीनले अहिले ‘पावर हाउस’ को भूमिका निर्वाह गरिहेको छ । पावर हाउसको कुनै यन्त्र खराब हुनु विश्व अर्थ व्यवस्थाको लागि राम्रो होइन ।

तर एउटा कुरा के सत्य हो भने अब आउने वर्षहरूमा चीनले चमत्कारी किसिमले आर्थिक विकास भने गर्ने छैन । चीन जुन गतिमा विकास पथमा दौडिने छ, सोही गतिमा चीनलाई विकास–बाधा हरूले पछ्याउने छन् । यो स्थिति निस्सन्देह देख्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here