काठमाडौं, १३ भदौ/रासस
एशिया कप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले फितलो खेल प्रदर्शन गरेको छ । नेपालले बलिङ र ब्याटिङ दुवैमा कमजोर खेल प्रदर्शन ग¥यो । पाकिस्तानको मुल्तान रङ्गशालामा टस हारेपछि नेपालले पहिले बलिङ गरेको थियो । पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा छ विकेट गुमाउँदै ३४२ रन बनायो । ३४३ रनको लक्ष्य पछ्याएको नेपालको पारी १०४ रनमैं समेटियो । पाकिस्तानले नेपाललाई २३८ रनअन्तरले हरायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरे । आजमले १३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मदतमा १५१ रन बनाए । १०३ एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औं शतक हो । नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सयभन्दा बढी बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् ।

पाकिस्तानका अर्का खेलाडी अहमदले ७१ बल खेल्दै अविजित १०९ रन बनाए । यस क्रममा अहमदले चार छक्का र ११ चौका प्रहार गरे । ३२ वर्षीय अहमदको १५औं एकदिवसीय खेलमा यो पहिलो शतक हो । उनले एकदिवसीय खेलमा एक अद्र्धशतक प्रहार गरेका छन् । यस्तै, पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट लिए । ३४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका लागि सदाब खानले चार, शाहीन शाह अफ्रिदी र हरिश रउफले दुई/दुई तथा नसिम शाह र मोहमद नवाजले एक/एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here