धनुषा, १३ भदौ/
तराई–मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल शुरू भएको छ । साउन शुक्लपक्ष शुरू भएसँगै तराई–मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन् ।
दिदीबहिनीले भोलि बिहीवार राखी पर्व धूमधामका साथ मनाउने तयारी गरेका छन् । भाइबहिनीको पवित्र एवं अटुट बन्धनको प्रतीकका रूपमा रक्षाबन्धन पर्वलाई मानिन्छ । अहिले धनुषासहित तराई–मधेसका नगर, गाउँ र बस्तीका पसल रङ्गीविरङ्गी राखीले भरिभराउ भएका छन् ।
राखीसँगै विभिन्न प्रकारका मिठाइ तथा फलफूलले बजारको रौनकता बढाएको छ । मानिसको भीडभाडले बजारमा अरू बेलाभन्दा बढी चहलपहल देखिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि बजारमा राखी किन्ने र बेच्नेको उपस्थिति बढेको देखिन्छ ।
ग्राहकको रोजाइ अनुसार राखी उपलब्ध गराउन व्यस्त रहेको राखी पसल सञ्चालक सुरेश साहले बताए । उनले २० वर्षदेखि चाडपर्व लक्षित अस्थायी पसल गर्दै आएका छन् । उनले प्रतिराखी रु ५० देखि दुई सयसम्म पर्ने बताए । “बच्चालाई लोभ्याउने खालका विभिन्न कार्टुन वा खेलौना जडित राखी पनि बजारमा पाइन्छन् । यसको मूल्य अरूभन्दा केही कम हुन्छ,” उनले भने ।
दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्वलाई यस क्षेत्रको महान् सांस्कृतिक पर्व मानिने मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । विवाह भएर गएका चेलीले आफ्ना दाजुभाइलाई राखी बन्धनमा राखी बाँध्न निम्तो दिने गर्छन् भने अविवाहित चेलीले पर्वको अवसरमा दाजुभाइलाई मन पर्ने परिकार बनाएर खुवाउने प्रचलन रहेको छ ।
स्थानीय मञ्जु यादवले राखी पर्वको तयारी १५ दिनअघिदेखि गरेको बताइन् । अहिले बजारमा पाइने रङ्गीविरङ्गी राखीले घरमा राखी बनाउने झन्झट हटेको उनको भनाइ थियो ।
सत्य युगमा तीनै लोक (स्वर्ग, मृत्यु र पाताल)को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएकाले युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्लपूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँध्ने परम्परा छ ।
यस पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित गरिएको डोरा यजमानलाई बाँधिदिने परम्परा भएपनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको छ । मधेसी समुदायले बाँध्ने राखी पछिल्ला दिनमा पहाडी समुदायमा पनि बाँध्न थालिएको छ ।