काठमाडौं, १२ भदौ/रासस
एशिया कप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपालले बुधवार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौं संस्करणको एशिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ ।

नेपाली क्रिकेट टोली एकदिवसीय वरीयतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ । नेपाल र पाकिस्तानबीच बुधवार पहिलो भेट हुनेछ । एशिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एशिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

एशिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछ । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहने छ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले पाकिस्तानविरुद्ध खेलेपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here