महेन्द्रनगर, ५ भदौ/रासस
नेपाली सेनाको सुदूरपश्चिम पृतनास्तरीय ट्रफी अन्तर्गत गणतर्पmको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ ।
मङ्गलवार बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवी दल गण तेघरी ब्यारेकलाई ३–१ सेटले पराजित गर्दै गोरख बक्सले उपाधि जितेको हो । गत शनिवारदेखि शुरू भएको ट्रफी अन्तर्गत कञ्चनपुरमा गुल्मस्तरीय भलिबल, स्विमिङ र बक्सिङ खेल सञ्चालन भइरहेका छन् ।
प्रतियोगितामा उपाधि विजेता गोरख बक्स गणलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरे ।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका वाहिनीपति सहायकरथी मनोज थापा, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, विभिन्न गण तथा गुल्मका गुल्मपतिलगायत सैनिक अधिकृतको सहभागिता थियो ।
यही भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफीमा भलिबल, फूटबल, बास्केटबल, स्विमिङ, बक्सिङलगायतका खेल समावेश छन् । खेलकूदका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा समेत राष्ट्रको नाम रोशन गर्दै सेनाले हरेह वर्ष ट्रफी आयोजना गर्दै आएको छ ।
साथै खेलाडीमा सामूहिक भावना ल्याउनाका साथै नेपाली सेनाको स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद तथा ‘स्पोट्र्स फर फ्रेन्डशिप’लाई मनन गर्दै विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ट्रफी आयोजना गरिएको सेनाले जनाएको छ ।