प्रस, वीरगंज, २ चैत/

वीरगंज महानगरपालिका–१ बजार छपकैयास्थित श्रीसिया नदीमा तटबन्ध बनाउने क्रममा विवाद भएको छ ।

उपभोक्ता समितिमार्फत करीब रु ४० लाखको लागतमा आगामी वैशाख १५ गतेभित्र सम्पन्न गर्ने गरी काम शुरू भएको थियो ।

श्रीसिया खोला नदी नियन्त्रण उपभोक्ता समितिले नदीमा तटबन्ध निर्माणको काम शुरू गरेपछि सो कार्य गर्दै आएका नरेश पटेललाई प्रदेशसभा सदस्य रमेश कुर्मीले तटबन्धको काम रोक्न दबाब दिएको पटेलले आरोप लगाएका छन् ।

उनले उपभोक्ता समितिमार्फत सो कार्यको ठेक्का आफूले शुरू गरेको तर प्रदेशसभा सदस्य कुर्मीले घरमा बोलाएर तटबन्धको काम रोक्न दबाब दिएको आरोप लगाए । उनले प्रदेशसभा सदस्यको दबाबमा बुधवार रोकिएको तटबन्धको काम बिहीवारदेखि स्थानीयको पहलमा शुरू गरिएको बताए ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, वीरगंजका इन्जिनीयर तथा स्थानीय वासिन्दाले काम शुरू गर्नुअघि आज बिहान प्रदेशसभा सदस्य कुर्मीलाई निर्माणस्थलमा बोलाएका थिए तर उपराष्ट्रपति पदको लागि चैत ३ गते शुक्रवार हुने निर्वाचनमा सहभागी हुन उनी काठमाडौं गएकाले अनुपस्थित रहे र उनको अनुपस्थितिमा आजैदेखि रोकिएको तटबन्धको काम शुरू गरिएको छ ।

श्रीसिया नदीमा तीन मिटर लन्चिङ र त्यसमाथि तीन लेयर बाँध उठाउने गरी काम भइरहेको सबइन्जिनीयर सत्यनारायण गोइतले बताए । नदीनजीकै रहेको श्मशानघाट बचाउनका लागि श्रीसिया नदीमा तटबन्ध निर्माण कार्य भइरहेको बताइन्छ ।

प्रदेशसभा सदस्य कुर्मीले श्रीसिया नदीको अहिलेको बहाव रहेको क्षेत्रमा तटबन्ध बनाउँदा वर्षायाममा नदीमा पानीको बहाव बढ्दा पुल र कल्भर्टलाई क्षति पुग्न सक्ने देखेर आफूले ठेकेदारलाई सम्झाएको बताए । उनले बाढीको जोखिम नियन्त्रण हुनेगरी प्राविधिक सल्लाहमा तटबन्ध निर्माण गर्न सुझाएको बताएका छन् । यथावस्थामा निर्माण हुने तटबन्धले बाढीमा बस्ती, पुल र कल्भर्टलाई खतरा हुन सक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here