संयुक्त राष्ट्रसङ्घ, १० माघ/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले गत शनिवार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एशियाली शहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताएका छन् ।

सो गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने अरू १० जना घाइते भएका थिए । सो गोलीकाण्डमा परी घाइते भएका थप एकजनाको सोमवार निधन भएपछि सो काण्डमा परेर ज्यान जानेको सङ्ख्या ११ पुगेको समाचारमा जनाइएको छ । 

अमेरिकी शहर क्यालिफोर्नियाको उक्त शहरमा स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्यस्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

शनिवार राति सो स्थानमा नाचगान भइरहेका बेला १० बजेर २० मिनेट जाँदा सो गोलीकाण्ड भएको थियो । तत्कालै सो स्थानमा प्रहरी अधिकारीहरू पुगेका र त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा छरिएर रहेका थिए ।

महासचिव गुटेर्रेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारी अनुसार महासचिव गुटरेसले सो दुर्घटनामा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् र उनीहरूका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

महासचिव गुटेर्रेसले यस्ता घटना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने भन्दै यस्ता हत्यामा संलग्नहरूलाई कानूनी कारबाईको दायरामा ल्याउनुपर्ने पनि बताएका छन् ।

सो स्थानबाट शङ्कास्पद आक्रमणकारी घटनास्थलबाट भागेको भन्दै प्रहरीले उसलाई तुरुन्तै पछ्याएको थियो । लस एन्जल्स शहरबाट करीब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास रहेको छ ।

फेरि अर्काे गोलीकाण्ड

हाफ मुन बे, क्यालिफोर्निया/एपी

क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड भएको छ । बितेका आठ दिनमा यो तेस्रो गोलीकाण्ड हो । सान फ्रान्सिस्कोको दक्षिणस्थित तटीय समुदायको कृषि केन्द्रमा आज भएका दुई बेग्लाबेग्लै गोलीकाण्डमा सातजनाको मृत्यु भएको छ । गत शनिवारको गोलीकाण्डमा ११ जनाले ज्यान गुमाएका थिए ।

सोमवारको आक्रमणमा संलग्न भएको अभियोगमा ६७ वर्षीय चुन्ली झाओलाई पक्राउ गरिएको छ । झाओले किन गोली चलाए भन्नेबारेमा स्पष्ट भइनसकेको जनाउँदै प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलका नागरिकले ज्यान गुमाएका छन् भने पाँचजना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here