प्रस, वीरगंज, ३ माघ/

वीरगंज महानगरपालिकाले चिल्ड्रेन पार्क (पुरानो माईराम पोखरी)को अतिक्रमित जग्गा खाली गराउन ढिला गरेको छ ।

नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि चिल्डे«न पार्कको अतिक्रमित जग्गा खाली गराउन कात्तिक २१ गतेदेखि अभियान शुरू भएको थियो । तर श्रीराम अस्पतालले गरेको अतिक्रमणमध्ये केही भाग मात्रै अतिक्रमणमुक्त गराएर अहिले अभियानलाई शिथिल पारिएको छ । चार बिघा जग्गामा रहेको माईराम पोखरी एडिबीको सहयोगमा निर्मित चिल्ड्रेन पार्क भने १९ कट्ठामा सीमित पारिएको थियो ।

सो जग्गा अतिक्रमणमुक्त गराउन नगरप्रमुख सिंहले अभियान शुरू गर्दै महानगरपालिकाले शुरूमा ३५ दिनको सूचना जारी गरेको थियो । वीरगंज महानगर नक्शा महाशाखाका प्रमुख रामसेवक महतोले ३५ दिनको समयसीमा दिएर सम्बन्धित जग्गाधनीहरूलाई आआफ्नो निस्सा प्रमाण पेश गर्न सूचित गरेको तर थोरै जग्गाधनीले मात्र प्रमाण पेश गरेको बताए । ३५ दिनपछि थप दुई दिन दिइएको थियो । सबै जग्गाधनीको घरमा सूचना टाँसेर प्रमाण माग गरिएको थियो । चिल्ड्रेन पार्कवरिपरि माईराम पोखरीको जग्गा अतिक्रमण गर्नेहरूको सङ्ख्या ५७ जना छन् । ५७ जनासँग तीन धुरदेखि बढीमा १० धुरसम्मको निस्सा प्रमाण छ । उनीहरूले महानगरमा बिटौरीबापत त्यति जग्गाको कर तिर्दै आएका थिए । २०४९ सालताका नयाँ नापी आउँदा बिटौरीको सोही जग्गाको आधारमा उनीहरूले अतिक्रमित जग्गालाई पनि वैधानिकता दिएका थिए ।

२०२१ सालको नापनक्शामा माईराम पोखरी चार बिघामा थियो र पोखरीको वरिपरि डिलमा रहेकाहरूले अहिले अतिक्रमण गरेर पोखरीलाई १९ कट्ठामा खुम्चाएका छन् । कात्तिक २१ गते महानगरले श्रीराम अस्पतालले अतिक्रमण गरेको जग्गामध्ये केही खाली गराएको थियो भने अतिक्रमण गरेका घरधनीहरूमध्ये केहीको घरमा घन चलाएर तोडफोड पनि गरेको थियो । तर त्यसपछि दुई महीना बितिसक्दा पनि महानगर शान्त छ ।

यसबीचमा जग्गाधनीहरूले सोर्स सिफारिश र आर्थिक प्रलोभन दिएको आरोप छ । यसअघि पनि अतिक्रमित जग्गा खाली गराउँदा यस प्रकारका घटनाहरू हुँदै आएका थिए । महानगरले अतिक्रमित क्ष्Fेत्रका थुप्रै ठाउँमा डोजर, घन चलाएको थियो । तर पछि यो कार्य पनि निष्क्रिय बनाइयो । अहिले पनि सोही घटनाको पुनरावृत्ति भएको छ ।

गत दुई महीनादेखि महानगरपालिकाले अभियानलाई अगाडि बढाउनुको साटो टालटुल गर्दै आइरहेको छ । वीरगंज महानगरका नक्शा महाशाखा प्रमुख महतोले ३५ दिनको मिति सकिएपछि अब पुनः १५ दिनको सूचना निकाल्ने तयारी भइरहेको भनेर टाले । यसअघि उनैले अभियान शुरू भएको र अतिक्रमित जग्गा खाली गराउने भनेर कात्तिक २१ गते चर्को प्रतिक्रिया दिएका थिए ।

माईराम पोखरीको अतिक्रमित जग्गामध्ये ३२ जनाले नक्शाफाँटमा आआफ्नो निस्सा बुझाएका छन् । महानगरले घन चलाएपछिको यो प्रगति भएको हो । बाँकी २५ जनाले अझै आआफ्नो निस्सा प्रमाण बुझाएका छैनन् । बुझाएका निस्सा प्रमाणको बारेमा छानबीन भइरहेको र उनीहरूले राजस्व तिरे/नतिरेको बारेमा पनि खोजी भइरहेको नक्शा महाशाखा प्रमुख महतो बताउँछन् ।

नगरप्रमुख राजेशमान सिंहले भने माईराम पोखरी अतिक्रमण हटाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले कुनै पनि हालतमा अतिक्रमण हटाउने तर यसका लागि अदालत बाधक भएको बताए । अदालती कारबाईले ढिला भएको र सो प्रक्रियाको छिनोफानो हुनासाथ अतिक्रमण खाली गराउने बताए ।

मेनरोड अतिक्रमणमुक्त अभियान पनि ओझेलमा

महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गतको गण्डकदेखि मितेरीपुलसम्म महानगर क्ष्Fेत्रमा पर्ने अतिक्रमण हटाउने अभियान शुरू गरेको थियो । नगरप्रमुखमा सिंह निर्वाचित भएपछि उनले यो अभियानलाई शुरू गरेका थिए । त्रिभुवन राजपथ अन्तर्गत एक हजार ९९ जनाको मेनरोडमा घर पर्छ । उनीहरूलाई पनि महानगरले आआफ्नो निस्सा प्रमाण पेश गर्न समय दिएको थियो । असोज २५ गतेसम्मको समयसीमामा १५० जनाले मात्र नक्शा पेश गरेका थिए । तर मेनरोडको जग्गा सम्बन्धमा सर्वोच्चमा मुद्दा विचाराधीन भएकोले यस विषयमा महानगरले कारबाई प्रक्रिया अगाडि बढाउन नसकेको नक्शा महाशाखा प्रमुख रामसेवक महतो बताउँछन् । सर्वोच्चमा मेनरोडका जग्गाधनीहरूको नक्शा पेश गर्नको लागि महानगरपालिकाले माग गरेको र उपलब्ध १५० जनाको नक्शा प्रमाणको रूपमा पेश गर्ने बताइएको छ ।

मेनरोडका जग्गाधनीहरूले घरको नक्शा बनाउँदा सडक विभागले आवश्यक परेको खण्डमा २५ मिटर खाली गराउन सक्ने भनेर तत्कालीन अवस्थामा नक्शा पास गरेर अहिलेसम्म उपभोग गरेको देखिन्छ । महानगरपालिकाले नक्शा पास गर्दा मेनरोडको दुवैतर्फका जग्गाधनीसँग नक्शामा सो आशयको हस्ताक्षर गराएर नक्शापास गरिदिएको प्रमाणमा देखिन्छ । तर अहिले यो विषय सर्वोच्चमा विचाराधीन भएकोले अगाडि बढ्न नसकेको नगरप्रमुख सिंहले बताए । उनले सर्वोच्चबाट मुद्दाको छिनोफानो हुने बित्तिकै महानगरले अतिक्रमण खाली गराउने प्रतीकलाई बताए । मेनरोडको जग्गाको मुद्दाको सुनवाइ फागुन महीनामा हुने बुझिन आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here