• विनोद गुप्ता

नयाँ सरकारले संसद्मा विश्वासको मत प्राप्त गर्दासम्म सरकार निर्माणका विभिन्न कथाहरू छापामा देखा पर्न थालेको सबैलाई अवगत नै होला । पहिलो कथा अत्यन्तै सरल एवं सोझो छ– देउवाले गरेको वाचा अनुसार प्रचण्डलाई पहिला प्रधानमन्त्री बन्न नदिएकाले प्रचण्डले ओलीसँग मिलेर प्रधानमन्त्री बन्न सरकार बनाए । तर यस कथाको सन्दर्भमा चित्रबहादुर केसीको बन्न नदिने कुरा नै नभएको र पुस १० गते बिहान ८ बजे फेरि छलफल गर्नेगरी बैठक स्थगित भएको भनाइप्रति कसैले ध्यान दिएन । कथा नं २ मा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले देउवालाई भेटेर प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन भङ्ग हुन सक्ने भनी चेताएको र १० गतेको बैठकमा देउवाले प्रचण्डलाई प्रम बन्न नदिने स्पष्ट गरेकाले प्रचण्डले ओलीसँग गठबन्धन गरेको भन्नेछ । तेस्रो कथा देउवाले प्रचण्डसँग वार्ता चलाइराख्दा निधि र पूर्णबहादुर खड्कालाई ओलीसँग गठबन्धन गर्न कुरा मिलाउन पठाएको र पुस १० गते ३ बजे ओली र देउवा राष्ट्रपति निवास जाने कुरा तय भइसकेको तर जानुअघि ओलीले सत्ता बाँडफाँडमा थप स्पष्ट हुन चाहेको र देउवाले अहिले सरकार बनाउने दाबी पेश गरौं, बाँडफाँडका कुरा पछि गर्दै गरौंला भनेपछि ओली पछि हटेको भनाइ रहेको छ । चौथो कथा यो सरकार गठन गर्ने प्रक्रिया चीनको दबाबमा धेरै पहिलादेखि नै गोप्यरूपमा भइरहेको भन्ने छ भने पाँचौं कथा चीन र भारत दुवैले एकापसमा सल्लाह गरी अमेरिकी–युरोपियन लबीलाई परास्त गर्न यसो गरेको हो भन्ने छ । पाँचौं थरीका कथाहरूको चर्चा गरिरहँदा सरकार बन्नासाथ चीनले नाका खोल्नु, रेलमार्गसम्बन्धी टोली पठाउनु र पोखरा विमानस्थललाई बिआरआई अन्तर्गतको भनी दाबी गरेबाट पाँचौं कथा साँचो हो भनी लाग्न थालेको बेला काङ्ग्रेसले प्रचण्ड सरकारलाई समर्थन दिएबाट सबै कथा निस्तेज बन्न पुगेका छन् ।

भर्खरै अमेरिकी राजदूतले हस्तक्षेपको कुरा गर्दा अमेरिकाको नेपालमा रुचि यसको भूराजनीतिक अवस्थाका कारण प्रजातन्त्र बलियो पार्ने र आर्थिक विकास मात्र गर्ने हो भनिरहँदा नेपाल एसपिपीमा आबद्ध नभए पनि एमसिसीको हस्ताक्षरकर्ता भएकोले चीनले पनि नेपाललाई बिआरआई जस्तै Global Strategic Initiative को हिस्सा हुन दबाब दिंदै आएको छ भने भारत नेपाललाई बिमस्टेकको सैनिक अभ्यास र अग्निपथ योजनामा जसरी भएपनि सहभागी गराउन चाहन्छ । यस्तो अवस्थामा हामी जस्तो कमजोर र अल्पविकसित राष्ट्रले यसबाट जोगिन गर्न सक्ने तीनवटा काममध्ये पहिलो Difficulty of Access (प्रवेशमा बाधा) (२) Active Defence (सक्रिय सुरक्षा व्यवस्था) र (३) Attention Diversion (ध्यान फर्काउने) मानिन्छ । पहिलो कदममा भारतसित हाम्रFे खुला सिमाना रहँदै आएको र अब सडक सञ्जालका साथै रक्सौल–काठमाडौं रेलमार्ग र केरुङ–काठमाडौं रेलमार्गको प्रस्तावित निर्माणले नेपाललाई दशगजा सिमानामा रणनीतिकरूपमा परिवर्तित गर्नेछ । दोस्रो सक्रिय प्रतिरक्षाको हकमा हामीले आफ्नै दुवै उत्तर र दक्षिणतर्फका छिमेकीलाई उनीहरूको सुरक्षा संवेदनशीलताप्रति आश्वस्त पार्न सकेका छैनौं भने ध्यान फर्काउने तेस्रो अवस्थाको हैसियत हाम्रो छैन ।

अब प्रश्न उठ्छ, नेपालमैं किन यस्तो भइरहेको छ ? सर्वप्रथम त कुरा गरौं  सबभन्दा ठूलो दल नेपाली काङ्ग्रेसकै । सङ्घर्षरत रहँदा एकजुट हुने यो दलको नियति नै विचित्रको छ । २००७ देखि २०१५ सम्म एकजुट भई चलेको यो दल सत्तामा पुग्नासाथ विपीमय भयो र २०१७ सालको कदमपछि फेरि एकजुट भएको इतिहास नै छ । २०४६ सालको जनआन्दोलनपछिको पहिलो आमनिर्वाचनसम्म स्व गणेशमान सिंह, स्व कृष्णप्रसाद भट्टराई र स्व गिरिजाप्रसाद कोइरालाको सामूहिक नेतृत्वमा चलेको समाजवादलाई मान्ने यो दल गिरिजाप्रसाद कोइराला प्रम भएपछि मृत्युपर्यन्त उनकै एकल नेतृत्वमा हिंड्न थाल्यो । शेरबहादुर देउवाले नेका प्रजातान्त्रिक त बनाए तर फेरि पुरानै पार्टीमा फर्केर संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीसम्म भए तर उनले पनि खासगरी जिपीको शेषपछि पार्टीलाई एक्लै हाँके र हाँक्दैछन् । उनीपछि को भन्ने ठूलो प्रश्नतिर कसैको ध्यान छैन । रामचन्द्र पौडेल काङ्ग्रेसका लागि उपयोगका वस्तु भएका छन् ।

आजका दिन नेपाली काङ्ग्रेसलाई समाजवादसँग केही लिनुदिनु छैन किनभने यो अब सत्तावादी दलमा रूपान्तरित भएको छ । दोस्रो ठूलो दल एमाले त झन् एमाले (०) नामकरण गर्नुपर्ने अवस्थामा पुगिसकेको छ । कमरेड ओलीसँग असहमत नेताहरूलाई जसरी ओलीले व्यवस्थापन गरे त्यसपश्चात् यो दल पनि ओलीमय भएको छ । फरक यति छ काङ्ग्रेसमा विरोध गर्नेहरूले काम नपाए पनि दलभित्र बस्न पाएका छन् तर एमालेका ती निष्कासनमा परेका छन् । माक्र्सवाद र लेनिनवाद छाडेर यो दल पनि सत्तावादी नै हुन पुगेको छ । तेस्रो दल माओवादीहरूको हो । यसमा समेत प्रचण्डपछि को भनी हेर्दा थोरबहुत देखिएका नारायणकाजी श्रेष्ठलाई रवि लामिछानेसँगै उपप्रधानमन्त्रीको कित्तामा उभ्याएर प्रचण्डले दिनुपर्ने सन्देश दिइसकेका छन् ।

अब बाँकी रहन्छन्, मधेसवादी र राप्रपा । मधेसवादीको बारेमा कुरा गर्नु नै व्यर्थ छ भने कमोवेश राप्रपाको अवस्था नयाँ नेतृत्वको तहत हेर्न बाँकी छ । तर सत्तावाद यिनमा पनि हाबी नै छ । यस अर्थमा लेखक सिकेलालले बितेको चुनाव ‘पञ्चायतकै चुनावजस्तै भयो’ भनेको ठीक जस्तो लाग्छ । पञ्चायतकालमा गुटका नेताहरू ‘राजा जिन्दाबाद’को नारा दिएर चुनाव लडेजस्तै अहिले दलका नेताहरू जिन्दावाद भनेर चुनाव लडिंदैछ । प्रजातन्त्र एवं गणतन्त्र चाहिं उपलब्धि हो । वंशका आधारमा हुने एक राजाका ठाउँमा आज जनताका छोराहरू राजा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here