प्रस, वीरगंज, १८ पुस/
विन्ध्यवासिनी गाउँपालिकाले सार्वजनिक ऐलानी जग्गामा निर्माण गरिएका भौतिक संरचना भत्काएर बाटो बनाउन शुरू गरेपछि अहिले सो पालिका अन्तर्गतको ढोंगही नदीको सार्वजनिक जग्गा खाली गराउने विषयलाई लिएर जनप्रतिनिधिहरूबीच विवाद शुरू भएको छ ।
गापाले सार्वजनिक ऐलानी जग्गामा बनेका भवनहरू भत्काएर भर्खरै बाटो बनाउन पहल गरेको छ । सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत भवनहरू भत्काए पनि भूमाफियाले दुई वर्षअघि ढोंगही नदीको बहाव परिवर्तन गरेर २०औं बिघा सार्वजनिक जग्गा अतिक्रमण गरेको र सोलाई खाली गर्नुपर्ने भन्दै पालिकामा दबाब बढेको छ ।
२०७७ सालमा भूमाफियाले ढोंगही नदीको सार्वजनिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले नदीको बहाव परिवर्तन गराएका थिए । तत्कालीन जनप्रतिनिधिहरूको आडमा सो कार्य गरिएको थियो । अहिले भूमाफियाहरूले उक्त स्थानमा प्लटिङ गरेर जग्गा बिक्री गर्ने योजना बनाएका छन् । गापाध्यक्ष्F प्रमोद तिवारीले ढोंगही नदीको धार पूर्ववत् ठाउँबाट बगाउने बताए । उनले यसका लागि वर्तमान पालिका परिषद्बाट पास गराइएको र अहिले भूमाफियाको कब्जामा भएको नदीको जग्गा मुक्त गराउने बताएका छन् ।
भूमाफियाहरूले ढोंगही नदी किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले २०७६/७७ मा नदीछेउका २० बिघा जग्गा खरीद गरेका थिए । स्थानीय रामनारायण ठाकुरले जग्गा खरीद गरेको र एक वर्षपछि नदीको बहाव परिवर्तन गर्न लगाएका थिए । प्राकृतिकरूपमा बगेको ढोंगही नदीलाई भूमाफियाहरूले बहाव परिवर्तन गरेर त्यहाँको १०औं बिघा सार्वजनिक जमीन कब्जामा गर्ने प्रयास गरेका हुन् ।
यस विषयमा विन्ध्यवासिनी गापाका जनप्रतिनिधिहरू दुई धारमा देखिएका छन् । एक पक्षले पुरानो बहावमा नदी बग्नुपर्ने अडान लिएका छन् भने अर्को पक्षले अहिलेको नदीको बहाव ठीक रहेको तर्क पेश गरिरहेका छन् । ढोंगही नदीको सार्वजनिक जग्गाका कारण विन्ध्यवासिनी गापाका जनप्रतिनिधिहरूबीच विवाद हुँदै आएको छ र वर्तमान गापाध्यक्ष तिवारीले यो विषयलाई कसरी पार लगाउँछन् भन्ने चर्चा छ ।