सङ्घीय राजधानी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ र थापाथलीस्थित वाग्मती किनाराका सुकुमबासीबीच चलिरहेको द्वन्द्व यतिबेला चर्चामा छ । मतहरू विभाजित छन् । “सुकुमबासीको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्छ” भन्नेहरू एकातर्फ छन् भने “अनधिकृतरूपले नदी किनाराको जमीनमा कब्जा जमाएर बसेको बस्ती विस्थापित गर्नुपर्छ” भन्ने मत अर्कोतर्फ छ । उक्त बस्तीमा वास्तविक सुकुमबासी नभएको महानगर पक्षको दाबी छ । बस्ती उठाउन गएको महानगरको टोलीमाथि खुकुरीलगायतका घरेलु हतियार बोकेर बस्तीका महिला/पुरुष जाइ लागेका दृश्यहरू भाइरल भएका छन् । हतियारविनाको महानगर सुरक्षा प्रमुखलाई घाइते बनाएका र महिला नगरप्रहरीलाई कब्जामा लिएर कुटपिट गरेको घटनाले सुकुमबासी बस्तीको नियतमाथि प्रश्न उठिरहेको छ । अर्कोतर्फ सरकारी, सार्वजनिक भूमि र नदी किनाराको जग्गा अधिक्रमण गरी बसेकाहरूलाई कुनै पनि हालतमा विस्थापित गराएरै छाड्ने अभियानमा महानगर प्रमुख बालेन लागेका छन् । जहाँको नागरिकले मतदान गरेर नगरप्रमुखमा जिताए, उनीहरूको पीडालाई बुझ्नु र समस्या समाधानतर्फ पहल गर्नुपर्नेमा समाजको सबैभन्दा कमजोर वर्ग सर्वहारा सुकुमबासीलाई उठीबास लगाउने कार्य कुनै पनि बहानामा उचित नभएको बस्ती पक्षधरको भनाइ छ ।

सुकुमबासी बस्तीका बासिन्दा वास्तविक सुकुमबासी हुन् कि हैनन् ? यसलाई केलायौं भने दोषी र निर्दोष खुट्याउन सहज हुन्छ । सुकुमबासीको परिभाषाबारे विगतमा धेरै अलमल रहेको भए तापनि अब ऐन कानूनले यसमा धेरै स्पष्ट पारि सकेको छ । प्रचलित ऐन, कानूनले अव्यवस्थित बसोवासी, भूमिहीन सुकुमबासी र दलित सुकुमबासी गरी तीन अवस्थामा सुकुमबासीलाई वर्गीकरण गरेको छ । भूमि आयोगले काम गर्दा यी तीन अवस्था पहिचान गरेर सुकुमबासीलाई जग्गा प्रदान गर्ने हो । आयोगलाई काम गर्न दिनुपर्छ भन्ने वाग्मती किनाराका बासिन्दाहरूको माग पनि छ ।

उसो भए आयोगले के गर्छ त ? आयोगले सबैभन्दा पहिले सुकुमबासी पहिचान गर्छ । त्यसपछि बसोबास गर्न मिल्ने जमीन हेर्छ । यसको निम्ति सरकारले ‘सुकुमबासी र अव्यवस्थित बसोबासी पहिचानको आधार र मापदण्ड २०७७’ लागू गरेको छ । वाग्मती किनारालाई अव्यवस्थित बसोबास नै मान्ने हो भने पनि सो क्षेत्रमा बसोबास गरेका परिवारको कुनै पनि सदस्यले सरकारी आवास सुविधा लिएको रहेछ भने त्यस किसिमको परिवारलाई कानूनले सुकुमबासी मान्दैन । मुलुकभित्र आफ्नो वा आफ्ना पति, पत्नी, आमा, बुबा, छोरा, छोरी कसैको नाममा कुनै पनि किसिमको, कति पनि जग्गा जमीन रहेछ भने त्यसस्ता परिवारलाई पनि जति वर्ष पहिलेदेखि बसेको भएपनि अव्यवस्थित बसोबासी मान्दैन र जमीन दिंदैन, सुकुमबासीको नाममा कुनै जमीन कब्जा गरेर बसेको भए छाड्नुपर्छ  । भूमिहीन सुकुमबासीको परिभाषा पनि स्पष्ट छ, “आफ्नो वा आफ्नो पविारका सदस्यको आय, आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति” भनिएको छ । यसरी कानून अनुसार जाने हो भने राजधानीको वाग्मती किनारामा बस्नेहरूको जन्मस्थलसम्म खोजी गर्दै जानुपर्छ । उनीहरूको रोजगार तथा व्यवसाय हेरेमा सीमित सुकुमबासी ठहर्छ । यसलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । महानगर प्रमुख बालेन अलि हतारिएको र सुकुमबासी भनिएकाहरूले पनि बलमिच्याइँको भरमा स्थानीय सरकारलाई तर्साउँछु भन्ने सोच राखेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here