• डा शिवशङ्कर यादव

सारा रामायण सिद्धियो तर सीताको जन्म कहाँ र कसरी भयो त्यो बताउँदै बताइनँ । आउनुस् आज त्यो पनि बताइदिउँ ।

महाभारतमा एक लाख श्लोक छन् । ती छन्द के हुन् ? केही अक्षरहरूको जोडजाम र लयमा सजाइएका अक्षरहरू हुन् । बाईबल महाग्रन्थ के हो ? त्यो अङ्गे्रजीका २६ अक्षरहरूको जोड मात्र त हो । हामीले विभिन्न आकारप्रकारका घर बनाउँछौं । त्यो केवल ईंटा र पत्थरको जोडको कला हो । खाना बनाउने र सुत्ने कोठा, बार्दली आदि तिनै ईंटा पत्थरद्वारा निर्मित स्वरूप हुन् । फर्शमा अलग्गै बिछाइन्छ, कोठामा खडा जोडिन्छ, कुलोमा नाली छोडेर बिछाइन्छ । ती सबै ईंटा हुन् । मतलब कुनै पनि महान् संरचनाका अक्षर र ईंट एकाइ हुन् । त्यस्तै हाम्रो शरीरको एकाइ हो–कोष वा सेल । १०० ट्रिलियन कोष जोडिएर हाम्रो सम्पूर्ण शरीर बनेको छ । तर अक्षर र ईंटाजस्तो कोष निर्जीव होइन, सजीव हो । अक्षर वा ईंटालाई त हामीले जोडजाम गर्नुपर्छ । एउटामाथि अर्को छेउमा अर्को, माथि फेरि अर्कोगरी । तर कोषलाई जोड्न हामीले केही गर्नुपर्दैन । कोष विभाजित भएर स्वयं मात्र बढ्दैन, अपितु वंश अभिवृद्धिसम्म पुग्छ । कोष दुर्ई प्रकारको हुन्छ ः प्रोकैरियोट र युकैरियोट । प्रोकैरियोटमा न्युक्लियस हुँदैन र यो अल्गी, साइनो बैक्टेरिया आदिमा पाइन्छ । युकैरियोटमा स्पष्ट न्युक्लियस हुन्छ – ग्रीक यु माने स्पष्ट, कैरियोट माने न्युक्लियस ) । विकसित प्राणी र मानिसमा यही कोष पाइन्छ । तर लालरक्तकण यसको अपवाद हो । त्यसमा न्युक्लियस हुँदैन । भनिन्छ हाम्रो शरीरमा एक ट्रिलियन कोष छन् । आश्चर्य त यसमा छ कि हरेक सेलभित्र पनि १०० ट्रिलियन एटम छन् जुन स्पेसबाट हाम्रो सेलमा आउँछ । एक समान सजाइएका अनेकौं सेललाई उत्तक वा टिस्सु भनिन्छ । उत्तक चार प्रकारका हुन्छन् : मांसपेशीको उत्तक, स्नायु उत्तक जसमा न्युरोन र अरू सहायक कोष पर्छन्, इपिथेलियल जसमा : स्क्वामस, कोल्युम्नर र क्युव्वायड भन्ने आकारको अनुसार नामकरण गरिएको, कनेक्टिभ : कनेक्टिभ टिस्सु प्रोपर, हाड, कार्टिलेज र रगत यसमा पर्छ । जसरी कैयौं सेल मिलेर उत्तक बन्छ, त्यस्तै कैयौं उत्तक मिलेर एउटा अङ्ग वा ओर्गेन बन्छ । अर्थात् विभन्न उत्तक एक साथ मिलेपछि एउटा अङ्ग बन्छ । अङ्गहरू पनि तीन प्रकारका हुन्छन्, यथा–ट्युब्लर, होलो र कम्पैक्ट अथवा पैरेनकाइमल । आन्द्रा हौलो अङ्ग, ट्रेकिया ट्युब्युलर र पैन्क्रियाज कम्पैक्ट अङ्गका उदाहरण हुन् । विभिन्न अङ्गहरू मिलेर जब एउटै काम गर्छन् तब त्यसलाई सिस्टम वा तन्त्र भनिन्छ, यथा–पाचनतन्त्र, श्वसनतंत्र, स्नायुतन्त्र, विसर्जनतन्त्र, आदि इत्यादि ।

जसरी मानिसको एक निश्चित उमेर हुन्छ तर असमयमा पनि मृत्यु हुन्छ, त्यस्तै सेलमा पनि हुन्छ । जसरी लालरक्तकणको उमेर १२० दिन हुन्छ तर दुर्घटना हुँदा बगेर असमयमा पनि मर्छ । यसरी श्वेतरक्तकणको उमेर दुईदेखि सात दिन, मांसपेशीको दस देखि १६ वर्ष र स्नायुको उमेर मानिसको उमेरपर्यन्त हुन्छ । जसरी हामी बच्चा, जवान र बूढो हुन्छौं त्यस्तै एक–एक कोष बच्चा, जवान र बूढो हुन्छ । तर एउटा आश्चर्यको कुरा त्यहाँ देखिन्छ । बूढो भएपछि हाम्रो मान–सम्मान बढ्छ । कसैले बूढो मानिसलाई भिरबाट खसालेर मार्दैन । कोषहरूको संसारमा यस्तो हुँदैन । त्यहाँ डार्बिनको सिद्धान्त लागू हुन्छ । बूढो सेललाई लाइसोसोमले खाइदिन्छ, जसलाई अटोफैजी भनिन्छ । यस्तो किनभने शरीरलाई सधै सर्भाइभल अफ द फिटेस्ट मोडमा राख्नुछ । यसरी हामीले के देख्छौं भने केवल लाल रक्तकणलाई नै प्रतिसेकेन्ड ५ मिलियनको सङ्ख्यामा मिल्काइन्छ । यदि शरीरका सबै अङ्ग दुरुस्त छैनन् र एउटामा मात्र खराबी भयो भने अरूमा पनि सर्छ । यो खराबी यदि सहन सक्ने खालको छ भने त्यसलाई बिमारी भनिन्छ । यदि असह्य वा सीमा नाघ्छ भने त्यसलाई मृत्यु भनिन्छ । कोषहरूमा यसलाई सेलडेथ भनिन्छ । यो सेलडेथ दुर्ई प्रकारको हुन्छ– नेक्रोसिस र एपोप्टोसिस । ग्रीकमा नेक्रोसिस मृत्युलाई भनिन्छ । यो सडनको रूपमा देखिन्छ । भनिन्छ नि, एउटा सडेको आलुले बोराभरिको आलुलाई सडाइदिन्छ, त्यही हो नेक्रोसिस । एउटा सेल सड्यो भने अगलबगलका सेलहरू पनि सड्दै जान्छन् । उदाहरणको लागि एउटा रोग हुन्छ ः वर्गर्स डिजिज । यसमा, खुट्टाको औंलाबाट शुरू भएको सडन पूरै खुट्टामा फैलन्छ र खुट्टा काट्नुपर्ने अवस्था आउँछ । अर्को सेल डेथ हो ः एपोप्टोसिस । जसरी लाल रक्तकोषको उमेर १२० दिन हुन्छ । जब त्यो फियोमा पुग्छ तब समातिन्छ र समाप्त पारिन्छ । यसको ठाउँमा वोनमैरोमा ताजा लाल रक्तकण बन्छ । सेलको यस्तो डेथले छेउछाउको कोषमा केही असर हुँदैन । अतः एपोप्टोसिस जहाँ जीवनरक्षक सेलडेथ हो, त्यहीं नेक्रोसिस मृत्यु लेख्ने सेलडेथ हो ।

हाम्रो शरीरमा एकतिहाई पानी छ । यसको मतलब के हो ? यसको मतलब प्रत्येक सेलमा पनि एकतिहाई पानी हुन्छ । बाँकी भागमा विभिन्न प्रकारका बायलोजिकल संचरना हुन्छ । सेलको सबैभन्दा सेन्टरमा एउटा न्युक्लियस हुन्छ । त्यसभित्र पनि एक वा दुर्ईटा न्युक्लियोलस हुन्छ । न्युक्लियसको बाहिर एउटा द्रव हुन्छ, जसलाई न्युक्लियोप्लाज्म भनिन्छ । यस द्रवलाई घेरेर बसेको एउटा मेम्ब्रेन हुन्छ, जसलाई न्युक्लियर मेम्ब्रेन भनिन्छ । यस मेम्ब्रेनको बाहिर पनि एउटा द्रव हुन्छ, जसलाई साइटोप्लाज्म भनिन्छ । यसलाई पनि घेरेर बसेको एउटा चद्दर हुन्छ, जसलाई सेल मेम्ब्रेन भनिन्छ । यस सेलमेम्ब्रेनको बाहिर एक्सट्रा सेल्युलुलर फ्लुइड हुन्छ । यस मेम्ब्रेनको भित्र इनट्रासेल्युलर द्रव हुन्छ । यी दुवै द्रवमा अनवरत द्रवको आवतजावत भइरहन्छ । यो सेल मेम्ब्रेन ५५ प्रतिशत प्रोटिन, ४० प्रतिशत लिपिड र ५ प्रतिशत कार्बोहाईड्रेटले बनेको हुन्छ । यी तीनै मेम्ब्रेनलाई संरचनामा कसरी सजाइएको हुन्छ भन्ने तीनवटा थ्योरी अथवा मोडेल छ : पहिलो मोडेल डेनियल र डेभसन भन्ने वैज्ञानिकले दिए । यसलाई सैन्डविच मोडेल भनिन्छ । यसमा लिपिड प्रोटिनको बीचमा सैन्डविचजस्तै बसेको हुन्छ यथा–पिलिलिपि । धेरै दिनसम्म यो थ्योरी स्वीकार्य रह्यो । तर १९५७ मा जेडी रोबर्टसनले युनिट मेम्ब्रेन थ्योरी दिए जसमा सेल मेम्ब्रेनलाई ठोस मानिन्छ  । १९७२ मा एसजे सिंगर र जीएल निकोल्सनले युनिट मेम्ब्रेन थ्योरीलाई पनि काटे । उनको अनुसार सेलमेम्ब्रेन ठोस होइन, बरु वास्तवमा द्रव हो, जसमा मोजेकको अनुसार सजाइएको फैटमा प्रोटिन पौडिरहेको हुन्छ । अहिलेसम्म वैज्ञानिकहरूले यसै थ्योरीलाई मान्छन् । सेलको अध्ययन माइक्रोस्कोप वा इलेक्ट्रोन माइक्रोस्कोपबाट गरिन्छ, जसमा सेलको अद्भुत बनावट र कार्य पत्ता लागेको छ । सेलविज्ञानलाई साइटोलोजी भनिन्छ, जसको अध्ययनको लागि अलग्गै फैकल्टी हुन्छ, जसमा थुप्रै वैज्ञानिकहरूले नोबेल पुरस्कार पाएका छन् । यस सम्बन्धमा लिवेनहुकलाई माइक्रोस्कोपीको पिता, रोबर्टहुकलाई (१६६५) साइटोलोजीको पिता र कार्ल स्वानसनलाई आधुनिक साइटोलोजीको पिता भनिन्छ । त्यस्तै अरुण शर्मालाई इन्डियन साइटोलोजीको पिता मानिन्छ ।

प्राणीका सारा रहस्य यही साइटोप्लाज्म र न्युक्लियोप्लाज्म तथा न्युक्लियसमा लुकेको छ । जसको छोटकरीमा विवरण प्रस्तुत गरिंदै छ :

साइटोप्लाज्म पनि दुर्ई भागमा विभक्त हुन्छ : बाहिरी एक्टोप्लाज्म र भित्री इन्डोप्लाज्म । यसमा थुप्रै संरचना हुन्छ, जसलाई अर्गैनेलिज भनिन्छ । यी अर्गगनलिजमा पनि कसैमा मेम्ब्रेन हुन्छ र कसैमा हुँदैन । मेम्ब्रेन भएका अर्गनेलिजमा : इन्डोप्लाज्मिक रेटिकुलम, गोल्जिएपरेटस, माइटोकौन्ड्रिया र न्युक्लियस आउँछ भने । लिमिटिंग मेम्ब्रेन नभएकामा : राइबोसोम र साइटोस्केलेटन आउँछ । इन्डोप्लाज्मिक रेटिकुलम दुर्ई प्रकारको हुन्छ : रफ र स्मुथ । पहिलोले प्रोटिन बनाउँछ र टुटेफुटेका अन्य अर्गनेलिजलाई खाइदिन्छ । दोस्रोले लिपिड र स्टेरवायड बनाउँछ, कैल्सियमको मेटाबोलिज्म र स्टोरेज गर्छ तथा विषालु पदार्थ खत्तम पार्छ । गोल्जी एपेरेटसले लिपिड र प्रोटिनको प्रोसेसिंग, पैकेजिंग, लेबेलिंग र यथास्थानमा डेलिभरी गर्छ । यसकारण यसलाई पोस्टआफिस र सिपिंग डिपार्टमेन्ट अफ सेल भनिन्छ । लाइसोसोमले बैक्टेरिया आदि मैक्रोमोलेक्युल र बूढो कोषलाई खाइदिन्छ र केही स्रावरस पनि निकाल्छ । पेरोक्सीसोमले : विषालु पदार्थहरू जस्तै– हाइड्रोजन पेरोक्साइडलाई तोड्छ, आक्सिजनको प्रयोग गर्छ, बढि भएको फैटी एसिडलाई तोड्छ, फैटबाट ग्लुकोजिनेसिस प्रक्रिया गरेर ग्लुकोज बनाउँछ, प्युरिनलाई तोडेर युरिक एसिड बनाउँछ, माइलिन र वाइलसाल्ट बनाउने काम गर्छ । माइलिन नर्भको कभरिंग हो । सेन्ट्रोसोमले सेल विभाजित हुँदा क्रोमोजोमलाई एकबाट अर्कोमा सार्ने काम गर्छ । माइटोकौन्ड्रीयालाई पावरहाउस अफ इनर्जी भनिन्छ । यसले इनर्जी प्रोड्युस गर्छ, एटिपी बनाउँछ र एपोस्टोसिसको शुरूआत गराउँछ । राइबोजोमले प्रोटिन बनाउँछ । साइटोस्केलेटन सेलको आकारलाई यथारूप राख्ने काम गर्छ र सेललाई गतिशील बनाउँछ । न्युक्लियसले सेलभित्र हुने सम्पूर्ण क्रियाको नियमन गर्छ, आरएनए बनाउँछ, प्रोटिन बनाउन साइटोप्लाज्ममा सन्देश पठाउँछ, राइवोसोमको सबयुनिट निर्माण गर्छ, सेल विभाजनको नियमन गर्छ । डिएनएको जीनले जीनेटिक सूचनाहरू स्टोर गर्छ । क्रोमोजोमभित्र डिएनए र डिएनएभित्र पनि जीन हुन्छ । यसरी एउटा क्रोमोजोममा हजारौं जीन हुन्छ । डिएनएको ए,बी,सी, डी र जेड पाँच प्रकार हुन्छ । पहिलो चारमा क्रमशः ११, १०, ९ र ८ नाइट्रोजन बेस हुन्छ र राइटसाइडेड डुप्लेक्स हुन्छ भने जेड टाइपमा १२ नाइट्रोजन बेस र लेफ्टहैन्डेड डुप्लेक्स हुन्छ । जसरी रस्सी दायाँ वा बायाँ दुवैतिरबाट बाँटिन्छ, हो त्यसरी नै डिएनएको धागोहरू रस्सीजस्तै बाँटिएका हुन्छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने जिनेटिक फैकल्टी पनि अलग्गै हुन्छ र त्यसको सम्पूर्ण वर्णन एउटा लेखमा सम्भव छैन । आरएनए पनि थुप्रै प्रकारका हुन्छन् जसको एक ठाउँबाट अर्को ठाउँमा संदेश पु¥याउनेबाहेक अनेक काम छ । डिएनए भनेको डिआक्सिराइ–बोन्युक्लिक एसिड हो भने आरएनएको मतलब राइबोन्युक्लिक एसिड हो । डिएनएको पहिलो पहिचान फ्रेडरिक माइकर र आरएनएको पहिचान लास्लो आर्जेलले (१८३० ) मा गरे । सेलमेम्ब्रेनले पनि सेलको आकार बचाइराख्ने काम गर्छ, सेलभित्रका अर्गनेलिजको रक्षा गर्छ, सेमिपरमिएबल भएको हुनाले केवल न्युट्रिशन र आक्सिजनलाई मात्र भित्र आउन दिन्छ तथा कार्बनडाइक्साइड र अरू विजातीय पदार्थलाई बाहिर पठाउने काम गर्छ ।

पाठकवृन्द ! पहिलोभन्दा यो लेख अवश्य कठिन लागेको होला र कठिन छ पनि । तर पनि मैले आफ्नो बुताले सकेजति बुझाउने कोशिश गरेकोले पटकपटक पढेर भए पनि बुझ्ने प्रयास गर्नुहोला भन्ने मेरो आग्रह छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here