• विश्वराज अधिकारी

घरवारविहीन

अमेरिकामा केवल धनीहरू मात्र छन् किनभने अमेरिका विश्वमा नै एक नम्बर धनी देश हो । अमेरिकी जीवन निकै सरल र विलासी छ । अमेरिका पुग्ने हो भने आरामको र विलासी जीवन बिताउन सकिन्छ । त्यहाँ यस्तो उस्तो कुनै समस्या छैन । गरीबी छैन । यस्तो विश्वास गर्ने व्यक्तिहरू संसारभरिमा करोडौंमा छन् र यो कारणले गर्दा हरेक दिन हजारौं व्यक्ति अनेक देशहरूबाट अमेरिकाका विभिन्न शहरहरूमा सडक, समुद्र र हवाई मार्गहरूबाट पस्छन् । केहीले कानूनीरूपमा अमेरिकामा बस्ने अनुमति पाउँछन् भने केहीले अमेरिकामा गैरकानूनीरूपमा बसेका व्यक्तिहरूको दर्जा पाउँछन् । र जिन्दगीभरि आफूलाई अति असुरक्षित महसूस गरिरहन्छन् । यसैगरी, अमेरिका पस्न संसारभरिका करोडौं व्यक्तिले सपना पालेका हुन्छन् । आफ्नो त्यो सपना कहिले साकार होला भनी कुरेर बसेका हुन्छन् ।

तर अमेरिकालाई केवल खुशी र आनन्दको खानीको रूपमा हेर्नु गलत हो । अमेरिकामा गरीब र घरवारविहीन व्यक्तिहरूको सङ्ख्या पनि लाखौंमा छ । अमेरिकमा हजारौं व्यक्तिको आफ्नो घर छैन । पूर्णरूपमा घरवारविहीन छन् । उनीहरूको लागि घर भनेको सडकको फूटपाथ हो । सडकमाथि, बाटोका लागि बनाएको पुलको तल्लो भाग हो । घरवारविहीन व्यक्तिहरूको लागि अति जाडो र अति गर्मीको समय ज्यादै नै कठिन हुन्छ । कहिलेकाहीं त अति नै जाडो भएको समयमा वा ठूलो हिमपात भएको समयमा घरवारविहीन व्यक्तिहरूलाई स्थानीय सरकारले न्यानो स्थान (घर)मा पु¥याउनुपर्छ । उद्धार गर्नुपर्छ । अमेरिकामा (सन् २०२२) करीब पाँच लाख व्यक्ति घरवारविहीन भएको अनुमान गरिएको छ । सबैभन्दा बढी घरवारविहीन भने अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको पाइएको छ । करीब एक लाख साठी हजार व्यक्ति त्यस राज्यमा घरवारविहीन छन् ।

यसैगरी, अमेरिकामा घर भएका अतिनिर्धन व्यक्तिहरूको सङ्ख्या पनि ठूलो छ । अतिनिर्धन व्यक्तिहरूले खानाको लागि सामाजिक सङ्घसंस्था वा चर्चहरू धाएको देख्न सकिन्छ । चर्चहरूले गरीबहरूलाई निश्शुल्क खाना बाँड्ने पनि गर्छन् । त्यस्ता गरीबहरूले आफूले, आफ्नो आम्दानीले कपडा खरीद गर्न सक्तैनन् र सामाजिक संस्थाहरूमा कपडाका लागि पुग्छन् । गरीबहरूलाई निश्शुल्क कपडा प्रदान गर्ने संस्थाहरू पनि धेरै छन् ।

न्यूयोर्क, लस एन्जल्स, सान होजे, सियाटल जस्ता ठूला अमेरिकी शहरहरूमा गरीबहरूले सडकछेउमा बसेर भीख मागेको देख्न सकिन्छ । अन्य शहरहरूमा पनि भीख मागेको देख्न सकिन्छ । धेरै मानिसको विचारमा अमेरिकामा केवल कालाहरू मात्र घरवारविहीन र गरीब छन् भन्ने छ । तर त्यस्तो होइन, गोराहरू पनि ठूलो सङ्ख्यामा गरीब र घरवारविहीन छन् । अन्य देशबाट अमेरिका आएकाहरू पनि घरवारविहीन छन्, गरीब छन् ।

निष्कर्षमा भन्ने हो भने अमेरिका धनीहरू ठूलो सङ्ख्यामा भएको र गरीबहरू पनि ठूलो संख्यामा भएको देश हो । तर एउटा कुरा उल्लेखनीय के छ भने अमेरिका भनेको सीप र क्षमता भएका व्यक्तिहरूका लागि धेरै अवसर भएको देश हो । अमरिकामा सीप र क्षमता भएको निर्धन व्यक्ति, देशभित्र वा देशबाहिरबाट आएर पनि, अरबपति, खरबपति हुन सक्छ । संसारकै सर्वाधिक, एक नम्बर धनी व्यक्ति हुन सक्छ, इलोन मस्कझैं । विश्वकै एक नम्बर, सर्वाधिक धनी, (सन् २०२२) अमेरिकी इलोन मस्क दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा जन्मेका थिए । दक्षिण अफ्रिकाको नागरिक हुँदै, पछि, मस्क क्यानडाको नागरिक भए । त्यसपछि अमेरिकाको नागरिक भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here