• सञ्जय साह मित्र

अहिलेको चुनावले धेरै दृष्टिकोणले विशेष महŒव राखेको छ । देशभरको चुनावको नतीजा आउँदा रूपमा चाहिं पुराना ठूला दलहरूको हालीमुहाली रहने पूर्वानुमानमा खासै भिन्नता नआउला तर अन्यको हकमा भने यस चुनावले धेरै फरक पार्ने सम्भावना भने रहेको छ । मुख्य रूपमा दुई पक्ष बढी विशिष्ट देखिन्छ ः पहिलो–परम्परागत मतदाता पुराना पार्टीसित छन् र दोस्रो– नयाँ मतदाता पुराना पार्टी छोड्न चाहन्छन् । चुनावभन्दा पहिले जे अनुमान गरिएको थियो, त्यसभन्दा रूप भिन्न नहोला तर सारमा भने धेरै भिन्नता देखिएको अवश्य हो । चुनावको यो सौन्दर्य बडो रमाइलो छ ।

लोकतन्त्रमा चुनाव सुन्दर हुनुपर्छ । यदि लोकतन्त्रमा चुनाव भएन भने रक्तसञ्चार प्रणाली नभएको शरीरजस्तो हुन जान्छ । यसकारण चुनाव त अनिवार्य शर्त हो लोकतन्त्रमा । नेपालमा आवधिक निर्वाचनलाई धेरै महŒवका साथ हेरिन्छ, लिइन्छ र लोकतन्त्र प्राप्तिपछिका दिनमा भएका निर्वाचनहरूले निकै फरक परिदृश्य दिने गरेको पाइएको छ । हरेक चुनावलाई अनुमानभन्दा पृथक राखेर हेर्ने गरिएको छ । यसैले यो चुनावको विश्लेषण पनि चुनावभन्दा पहिले र सम्पन्न भएपछिको अवस्थामा फरक परेको देखिन्छ । चुनावले धेरै दल तथा नेताको हैसियत परिवर्तन गरेको देखिएको छ । यो चानचुने चुनाव पनि होइन । यसैले यस चुनावको दीर्घकालीन प्रभाव नेपालको राजनीतिमा पर्ने अनुमान गर्न थालिएको छ ।

चुनाव शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । यसपटकको जस्तो चुनाव विगतमा कहिल्यै पनि भएन भन्ने मतदान प्रतिनिधिहरूसमेतको मत थियो । ज्येष्ठ नागरिकहरूले पनि मतदानको समयमा कुनै किसिमले अप्ठ्यारो बेहोर्नु नपरेको बताइरहेका थिए । मतदान स्थलको व्यवस्थापन यति चुस्त–दुरूस्त थियो कि कसैले चाहेर पनि केही बोल्न पाउँदैनथे । मतदाताको लाइन बाहिरै थियो । मतदान प्रतिनिधि तथा मतदान कर्मचारी नजीक पुग्दासम्म दुई–चारजना मात्र हुन्थे । पाँचदेखि अधिकतम दशजनासम्म लाइनमा बस्दा भीड हुने कुरै थिएन । यस किसिमको विगत शायद नै कसैले देखेको थियो ।

मतदान स्थलभित्र र बाहिर दुवैतिर यसपटक सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । कुनै पनि मतदाता वा कर्मचारीले किन कराउनुप¥यो ? कसैले जोडले बोल्नुको अर्थ हो बाहिर जानु । अझ कर्मचारीमाथि कराउनु वा झम्टेर बोल्नुको अर्थ हो सुरक्षाकर्मीको आँखामा पर्नु । सुरक्षाकर्मी पनि चुनावको समयभर यत्तिसम्म तैनाथ रहे कि कतै पनि होहल्ला हुन दिएनन् । मतदान स्थलभन्दा बाहिर, तर देखिनेगरी भीड हुन दिएनन् । पहिले त मतदान स्थलनजीक केही ठेलावालाले सामान बिक्री गर्न पाउँथे, यसपटक भने तीन सय मिटरसम्म कहीं कतै लाइनबाहेक मानिसभन्दा अरूले बस्नै पाएनन् । कोही भुइँमैं पनि दुई–चारजना मिलेर गफ गर्न खोजेको अवस्थामा सुरक्षाकर्मीले तुरून्त लखेट्दथे । चुनावको व्यवस्थित प्रक्रियाबाट सर्वसाधारण अत्यन्त हर्षित थिए । मतदाताले आफ्नो मताधिकारको प्रयोग शान्तिपूर्ण वातावरण, दबाबरहित ढङ्गले गर्न पाए ।

यसपटकको चुनावमा निकै फरक दृश्य उम्मेदवारकै हकमा देखिएको छ । चुनावको लागि उम्मेदवारले मनोनयन दर्ता गराउने समयभन्दा केही मात्र अघि दुईथरीको गठबन्धनले अन्तिम रूप लिएको थियो । हुनत दुवै गठबन्धनमा सबैभन्दा पछि गएर सामेल भएका दुवै मधेसवादी दललाई यस चुनावमा खासै फाइदा भएको देखिएन तर पनि जब दुई गठबन्धन बने, को उम्मेदवार हुने भन्ने नै ठूलो अन्योल बन्यो । उम्मेदवार बन्ने सबै तयारी गरिसकेका नेताहरूले अर्को गठबन्धनतिर पनि ध्यान दिए वा आफ्नो पार्टीबाट टिकट पाउने आशा नभएपछि स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराए । यसले गर्दा यसपटकको चुनावमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या निकै बढी देखियो र स्वतन्त्र उम्मेदवारहरू चर्चामा पनि देखिए । कतिपयले बालेन साहको क्रेजले स्वतन्त्र उम्मेदवार बढी भएको पनि भनेका छन्, खासमा भने स्वतन्त्र उम्मेदवार बन्ने परिस्थिति निर्माण भएको हो । परिस्थितिले मागेपछि उम्मेदवार बनेर केहीले चर्चा पनि कमाए र केही यस्ता, जो निष्ठाले गर्दा पार्टीप्रति वफादार भएर बसे, अहिले चाउरिएको अनुभूति गरिरहेका छन् ।

स्वतन्त्र जिताऊ अभियान पनि सञ्चालन भएको देखिनु एउटा पक्ष हो । यसपटकको चुनावमा कतिपय सिट यस्तो पनि देखिन्छ, जहाँ दुवै गठबन्धनका उम्मेदवार छन्, तर टक्कर दुई स्वतन्त्र उम्मेदवारबीच छ । मधेस प्रदेशमा चिनिएका केही प्रभावशाली नेता स्वतन्त्र हैसियतमा चुनाव लडे । पार्टीमा राम्रो पकड राख्ने तर विशेष परिस्थितिका कारण चुनावमा स्वतन्त्र भएर लडेर चुनावको अवधिभर निरन्तर चर्चामा रहेका र मतगणनाको समयमा पनि चर्चामा रहेको देखिएका छन् । यसलाई लोकतन्त्रको सुन्दर अनुहार पनि भन्न सकिन्छ किनभने लोकतन्त्रमा अन्ततः जनताले नै निर्वाचित गर्ने हो । हुनत लोकतन्त्रमा जनताका प्रतिनिधिले दलमार्फत आफ्नो भावना अभिव्यक्त गर्छन् पनि भनिन्छ । जनताको प्रतिनिधि उम्मेदवार हुने कि दल भन्ने कुरामा अझै पनि दलको विचार जतिसुकै राम्रो भए पनि उम्मेदवारप्रति नै मानिस आकर्षित भएको देखिन्छ ।

समानुपातिकका लागि मत माग्ने निकै कम देखिए । यसपटक प्रत्यक्षतर्फ नै धेरैले मनोनयन दर्ता गराएका तथा प्रचारप्रसारमा निकै बढी बल गरेको देखियो । अघिल्लो चुनावसम्म समानुपातिक उम्मेदवारको फोटो र पार्टीको चुनाव चिह्नसहितको तुल र ब्यानर निकै देखिन्थ्यो, यसपटक भने मुश्किलले केही मात्र उम्मेदवार छु है भन्न आएको देखियो । साथै तुल र ब्यानर पनि मुश्किलले देखिन्थ्यो । समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवारको खर्च करीब शून्य देखिनु निकै सुन्दर पक्ष हो । यद्यपि मतदान भने भएको छ । शायदै कोही मतदाताले म समानुपातिकतर्फ मतदान गर्दिनँ, प्रत्यक्षतर्फ मात्र मतदान गर्न चाहन्छु भनेको हुनुपर्छ । यसरी खर्च नहुने तर चुनाव हुने, उम्मेदवारले मत नमाग्ने तर मत पाउने वा पार्टीले मतदातासँग मत नमाग्ने तर मत पाउने अवस्था लोकतन्त्रको सुन्दर रूप हो । वास्तवमा प्रचारप्रसारको यो सुन्दर उदाहरण हुन सक्छ । प्रचारप्रसार उम्मेदवार वा दलले मात्र गर्ने होइन कि मतदाताले पनि चासो देखाउनुपर्छ किनभने मतदाताले नै राम्रो दल वा उम्मेदवार को हो भन्ने बुझेर मतदान गर्नुपर्ने हुन्छ ।

यसपटकको निर्वाचनले केही नयाँ दललाई प्रतिनिधिसभामा पु¥याउने निश्चित भएको छ । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीे एक साथ प्रतिनिधिसभामा प्रवेश गर्नेछन् । यसभन्दा पहिले कहिल्यै पनि प्रतिनिधिसभाको चुनाव नलडेका यी तीन दलको प्रवेशलाई दमदार मानिएको छ । पुराना दलभन्दा पृथक विचार र व्यवहारका मानिएका यी दलले प्रतिनिधि सभामा निकै ठूलो स्थान पाउने सम्भावना त छैन, तर राम्रो सम्मान भने पाउने करीब निश्चित छ । यदि कुनै दलको बहुमत नआउने अवस्था हो भने यी नयाँ दलको पनि सरकारमा सहभागिता हुनेछ । सरकारमा सहभागी हुनु र नहुनु अर्को पक्ष हो तर यी दलले जनताको असन्तुष्टिको प्रतिनिधित्व भने गरेका छन् । अहिले त यसलाई मतदाताको मौन विद्रोह भनिंदै छ । मतदाताले रैथाने दलप्रति अविश्वास प्रदर्शन गरेका छन् र असन्तुष्टि देखाएका छन् । लोकतन्त्रले सबैलाई सच्चिने मौका दिन्छ । यस सङ्केतलाई बुझेर दलले आफ्नो व्यवहारपरिवर्तन गर्लान् अनि मात्र असन्तुष्टिको सम्बोधनपछि फेरि पुरानै दलप्रति विश्वासले निरन्तरता पाउला । अथवा चुनावमा उदाएका नयाँ दलहरूले मतदाताको विश्वासलाई अझ बलियो बनाउलान् वा त्यो विश्वास तोड्लान् । तर एउटा कुरो स्पष्ट छ, अब मतदाता पनि परम्परागत सोचाइभन्दा फरक चाहन्छ । जनतासित गरिने वाचालाई इमानदारीपूर्वक व्यवहारमा उतारेको देख्न चाहन्छ । निरन्तर एकले अर्कालाई दोषारोपण गरिरहने नकारात्मक प्रवृत्तिमा सुधार चाहन्छ र जसप्रति बढी विश्वास हुन्छ, उसलाई नै आफ्नो प्रतिनिधि बनाउन चाहन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here