प्रस, परवानीपुर, ६ मङ्सिर/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस वर्ष वीरगंजमा मेयरकप नहुने बताएका छन् । वीरगंजमा साउथजोन माविको सम्पन्न वार्षिक खेलकूद कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नारायणी रङ्गशालामा सम्पन्न कार्यक्रममा बोल्दै उनले हरेक वर्ष पुसमा विगतका मेयरले गर्दै आएको मेयरकपले हरेक वर्ष लाखौं रुपैयाँ अनियमितता हुँदै आएको पोल खुलेपछि आफूले त्यस्तो गलती काम नगर्ने सबैसमक्ष स्पष्ट पारेका थिए । उनले भने मैले सुनेको छु, मेयरकपमा एक करोड २० लाख खर्च हुन्छ, जसमध्ये ३८ लाख भत्ताबापत बुझिएको पाइएको छ । यस्तो अवस्थामा त्यो खेलकूद प्रतियोगिताको के काम ? साँच्चै खेलाडी उत्पादन गर्नको लागि अर्कै योजनामा त्यो पैसा लगानी गर्छु ।

उनले वीरगंजवासीलाई आफ्ना छोराछोरीहरूलाई एउटा राष्ट्रभक्त र इमानदार नागरिक बन्न पनि बाल्यकालदेखि संस्कार दिन आग्रह गरे । साउथजोनका प्रिन्सिपल सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा करीब ११ सय विद्यार्थी उक्त कार्यक्रममा सहभागी थिए । सयभन्दा बढी खेलमा प्रतिस्पर्धा गराइ ९३० जना विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको विद्यालयका सहायक प्रमुख अशोक सङ्ग्रौलाले बताए । कार्यक्रमको उद्घाटनसत्रमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सन मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, प्याब्सन वीरगंज महानगरका अध्यक्ष आलोक चौरसियालगायत अभिभावक, विद्यार्थीहरूको सहभागिता थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here