सोलोमन टापु, ६ मङ्सिर/एएनआई

सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलवार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । नोभेम्बर २२ मा १५ किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्तर रहेको थियो । यद्यपि हालसम्म कुनै हताहतको खबर आएको छैन ।

इन्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि भूकम्प आएको हो । पश्चिमी जाभाका गभर्नर रिडवान कामिलले इन्डोनेशियाको जाभामा गएको भूकम्पमा परी १६० जनाभन्दा बढीको मृत्यु भएको सिएनएनले जनाएको छ ।

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका बाँचेकाको खोजी गरिरहेका थिए । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको कामिलले बताएका छन् । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने कामिलले बताए ।

नोभेम्बर २१ मा स्थानीय समय अनुसार दिउँसो १ः२१ बजे पश्चिम जाभाको सियानजुर क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको सिएनएनले जनाएको थियो । भूकम्प १० किलोमिटर गहिराइमा गएको युएसजिएसले जनाएको छ । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here