यद्यपि मतगणनाको प्राथमिक चरण मात्र पार भएको छ, तर यसले झिनोरूपमा मतदाताहरूमा रैथाने राजनीतिक दलहरूप्रति वितृष्णा बढ्दै गएको सङ्केत दिएको छ । खासगरी बौद्धिक मतदाताले कि नयाँ वा खराबमध्येमा असल खोजेको देखिएको छ । र देशका अधिकांश मतदाता सोझा र परम्परावाद मान्ने खालका भएकाले नाम चलेका उम्मेदवार, दलका शीर्ष नेताहरूलाई छोड्न चाहेको देखिएनन् । यसमा मधेसकेन्द्रित दलका शीर्ष नेताहरूको अहिलेसम्मको मतपरिणाम भने बेग्लै देखिएको छ । स्थापित नेता उपेन्द्र यादवलाई सिके राउतले नराम्ररी पराजित गरेका छन् भने महन्थ ठाकुरको स्थिति पनि आसलाग्दो देखिएको छैन । नेपाल स्वतन्त्र पार्टीको जनमतले देशको जनताले परिवर्तन चाहेको छरपस्ट भएको छ । यद्यपि भर्खर उदाएको यस दलले राम्रै मत पाएर समानुपातिकतर्फ सङ्ख्या बढाउन सके पनि देशको स्थापित राजनीतिमा तरङ्ग भने ल्याउन सक्नेछैन । यस कुरामा पुराना दलहरूले तत्कालका लागि जुँगा मुसार्लान्, आफ्नो पिठ्यूँमा आफैं धाप मार्लान्, कसैको शेखी झारें भन्ने ठान्लान्, तर यो मानसिकता स्वयम् उनीहरूकै लागि अफाप हुनेछ, व्यक्तिभन्दा पनि दलका लागि । किनकि त्यस्ता जति सबै नेता मसानोन्मुख भइसकेका छन् ।

मतदाताले कर, बल वा बाध्यताले पुराना अनुहारलाई मत दिए पनि अब परिवर्तन अवश्यम्भावी भइसकेको छ र दल र तिनको नेतृत्व तहले मिचेर–झुक्याएर, लोभ्याएर, आस दिलाएर सत्तामा टिकिरहन्छु भन्ने मानसिकतामा परिवर्तन ल्याएनन् भने हाम्रो जनता माखा मार्न पनि तोप पड्काउन सिपालु छ भन्ने कुरालाई लामो समयसम्म पन्छाइराख्न सकिन्न । माफी दिनुको पनि एउटा हद हुन्छ, सहनुको पनि सीमा हुन्छ । नेपाली इतिहासले बेला–बेलामा देखाएको तथ्य हो । २००७ सालको क्रान्ति, २०१७ सालको कू, २०४६ सालको क्रान्ति, त्यसमा माओवादी विद्रोह, फेरि मधेसी विद्रोह एउटै पुस्ताको सेरोफेरोमा भएका घटनाहरू हुन् । यति छिटै बिर्सनु भनेको छ मूर्खता मात्र हुनेछ । राजनीति गुम्सिरहने, प्रवाहहीन विषय होइन । यसमा सतत् परिवर्तन भएन भने यो दुर्गन्धित खाडल हुन पुग्छ । आज देशको राजनीतिलाई देश र जनताको हितका लागि विजयी भएर सांसद हुने, विभिन्न तिकडमको भरमा सत्तामा पुग्ने, सत्तासीनलाई सत्ताबाट झार्ने साधन मात्र बनाएका छन् ।

विश्वमा जहाँ पनि संसद्मा कुनै दलले बहुमत प्राप्त नगर्दा, धेरै दल मिलेर सरकार बनाइ पूरा कार्यकाल टिक्छ, नेपालमा भने कैयौंपटक एउटै दलको पूर्ण मात्र होइन, दुई तिहाइ बहुमत भएर पनि एउटा मात्र कार्यकाल पूरा गर्न सकेको राजनीतिक इतिहास छैन । यसले दिएको एउटा मात्र सन्देश हो–राजनीति र सत्ता व्यक्तिको आजीविकाको सहारा बनेको छ, जनतालाई धोखा दिएर आफ्नो मानो सोझ्याउने साधन बनेको छ । एउटा व्यक्ति मात्र होइन, उसले सात पुस्ताका लागि सम्पत्ति जगेर्ना गरिदिने माध्यम बनेको छ । तर पनि सशक्त विरोध हुन सकिरहेको छैन । संसदीय व्यवस्थामा विरोधका लागि प्रतिपक्षी दल हुन्छ । तर हामीकहाँ प्रतिपक्षले विरोधको भूमिका मात्र सत्ता परिवर्तनका लागि गर्दछ । सरकारको गलत कामको लागि होइन, किनकि सत्ता पाएपछि उसले गर्ने पनि त्यही हो । यो प्रवृत्ति नेपालका सत्तासीनहरूका लागि राणाकालदेखिको सामन्तवादी सोचको उत्तराधिकार हो । भोलि सत्तामा पुग्ने दलहरूले यसमा परिवर्तन ल्याउन सकेनन् भने देशले अतुलनीय क्षति बेहोर्नुपर्नेछ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here