काठमाडौं, ५ मङ्सिर/रासस

फिफा विश्वकप फूटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङ्ग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । विश्वकपको उपाधि दाबेदार मानिएको इङ्ग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो । इङ्ग्ल्यान्डको जीतमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङ्घम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक/एक गोल थपे । यता इरानका लागि भने मेहदी तारेमीले दुई गोल फर्काए ।

खेलको ३५औं मिनेटमा वेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । खेलको ४४औं मिनेटमा साकाले गोल गर्दै इङ्ग्ल्यान्डको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा स्ट्रर्लिङले गोल गरेपछि इङ्ग्ल्यान्ड खेलको पहिलो हाफमा ३–० ले अघि रह्यो ।

यसैगरी, खेलको ६२औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई ४–० को अग्रता दिलाए । खेलको ६५औं मिनेटमा इरानका खेलाडी तारेमीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । खेलको ७१औं मिनेटमा सब्सिच्युड खेलाडीको रूपमा मैदान प्रवेश गरेका रासफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई ५–१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको एक मिनेट पनि बित्दै नपाउँदै उनले गोल गरे । खेलको ९०औं मिनेटमा अर्का सब्सिच्युड खेलाडी ग्रेलिसले गोल गर्दै इङ्ग्ल्यान्डलाई ६–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा इरानका खेलाडी तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ६–२ को स्थितिमा ल्याए । इङ्ग्ल्यान्डका खेलाडीले पेनाल्टी क्षेत्रमा इरानी खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीमा तारेमीले गोल गरेका थिए ।

यस जीतसँगै इङ्ग्ल्यान्डले पहिलो खेलमैं शीर्ष ३ अङ्क जोडेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

म्यानचेस्टरसँगको विवादले विश्वकपमा पोर्चुगलमा कुनै प्रभाव पार्दैन –रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले सोमवार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् ।

रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने– “मलाई कुनै शङ्का छैन कि यो भर्खरको दृश्य हो । त्यो अन्तर्वार्ता र अन्य खेलाडीहरूसँगको अन्य एपिसोडहरूले कहिलेकाहीं खेलाडीलाई हल्लाउन, आंशिक प्रभाव पार्न सक्छ तर टोलीलाई हल्लाउँदैन ।” आइतवारदेखि फिफा विश्वकप शुरू भएको छ । यस विश्वकपका प्रमुख चर्चित खेलाडीमध्येका रोनाल्डो एक हुन् । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here